चिनी निर्यातमा भारतले प्रतिबन्ध लगाउँदा नेपालमा मूल्य बढ्ला कि नबढ्ला?

तस्बिर स्रोत, Reuters
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
भारतले तत्काल लागु हुने गरी चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ।
भारतीय प्रतिबन्धका कारण बजारमा चिनीको अभाव हुन सक्ने चिन्ता सर्वसाधारण उपभोक्तामा देखिन्छ। तर नेपाली चिनी उत्पादकहरू त्यसबाट खासै असर नपर्ने ठान्छन्।
नेपाली चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले कम्तीमा यो आर्थिक वर्षसम्म नेपालभित्र चिनी आपूर्तिमा असर नपर्ने बीबीसीलाई बताए।
आउँदा दिनमा मूल्यमा चिनीको मूल्यमा वृद्धि भयो भने पनि त्यो "उल्लेख्य नहुने" उत्पादकहरूले बताएका छन्।
नेपालमा चिनीको मूल्यवृद्धि अरू खाद्यवस्तुको मूल्यवृद्धिको तुलनामा एकदमै कम हुने गरेको उनीहरूको भनाइ छ। खास गरी दशैँ र तिहारजस्ता चाडपर्वका बेला नेपालमा चिनीको मूल्यवृद्धि र कृत्रिम अभाव देखिने गुनासो उपभोक्ताहरूले वर्षौँदेखि गर्दै आएका छन्।
भारतीय निर्णय

तस्बिर स्रोत, Reuters
भारतको वाणिज्य विभागले बुधवार एउटा सूचना जारी गर्दै चिनी निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको हो।
त्यसअनुसार उसले तत्काल लागु हुने गरी चिनी (प्रशोधन नगरिएको चिनी, सेतो चिनी र प्रशोधन गरिएको) को निर्यातमा प्रतिबन्ध लगाएको छ।
"चिनीको निर्यातमा तत्काल लागु हुने गरी सेप्टेम्बर ३०, २०२६ सम्म अथवा अर्को आदेश नआएसम्म प्रतिबन्ध लगाइएको छ," सूचनामा उल्लेख छ।
यद्यपि यो प्रतिबन्ध युरोपेलयी सङ्घ ईयू र संयुक्त राज्य अमेरिकालाई गरिँदै आएको निर्यातको हकमा लागु नहुने भारतले जनाएको छ।
नेपालमा कति चिनी छ
भारतले निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा कम्तीमा आउने ज्यानुअरीसम्म अभाव नहुने नेपाली उत्पादकहरूले बताएका छन्।
"यसपालि क्रशिङ सीजनमा नेपालमा दुई लाख मेट्रिक टन उत्पादन भएको छ र सरकारी तथ्याङ्कअनुसार नै ७५ हजारदेखि ८० हजार मेट्रिक टन आयात भइसकेको छ," नेपाल चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले बीबीसी न्यूज नेपालीसँग भने।
"गत वर्ष चिनी आयात पनि भयो र तस्करीबाट पनि केही मात्रामा भित्रियो भन्ने छ। गत वर्षको नेपाली उत्पादनको सबै भण्डारण नसकिएर यो वर्ष आएको छ। त्यो भएर यसपालि यथेष्ट मात्रामा चिनी छ।"
मोरङस्थित ईस्टर्न सुगर मिल्सका एक शेअरहोल्डर हितेश गोल्छाका अनुसार नेपालमा वार्षिक लगभग दुई लाख ८० हजार मेट्रिक टनको हाराहारीमा चिनी खपत हुन्छ।
"भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको भए पनि नेपाललाई यसपालि पुग्ने जति चिनी छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
नेपालमा उखुको सीजन सामान्यतया तिहारदेखि सुरु भएर चार महिनासम्म चल्छ। उद्योगीहरूका अनुसार त्यसपछि चिनी कारखानाहरू बन्द हुन्छन्।
प्रतिव्यक्ति चिनी खपतबारे आधिकारिक तथ्याङ्क नेपालमा उपलब्ध नभए पनि तीन जनाको परिवारमा वार्षिक १०-१२ केजी चिनी खपत हुने गरेको अध्ययनबाट देखिएको अग्रवाल बताउँछन्।
"त्यो खपतको ८० प्रतिशत बेकरी, पेयपदार्थलगायत खानेकुराको रूपमा सेवन हुन्छ। बाँकी २० प्रतिशत मात्रै सीधै सेवन हुने हो," उनले भने।
नेपालमा मूल्य बढ्ला?
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली उपभोक्ताहरूमा त्यसबाट पर्न सक्ने प्रभावबारे चासो देखिनु स्वाभाविक हो। तर पनि नेपाली उत्पादकहरू नेपाली बजारमा चिनीको मूल्य खासै नबढ्ने ठान्छन्।
"उपभोग्य वस्तु भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा अलिकति सामान्य घटबढ हुने हो। तर उपभोक्तालाई ठूलो असर पर्ने गरी मूल्य घटबढ हुनेवाला छैन," अध्यक्ष अग्रवालले भने।
त्यसमा गोल्छा पनि सहमत देखिन्छ। "वर्षभरि गोदाममा राखेर अफ-सीजनसम्म बेच्नुपर्ने हुन्छ। ब्याङ्कको ब्याजदर, गोदामको खर्चलगायत कारणले लागत खर्च अलि बढ्ने गर्छ। तर त्यो पैसा पनि फेरि किसानसम्मै पुग्ने हो," उनले भने।
नेपालमा 'रिकभरी' दर भारतको तुलनामा कम भएर पनि लागत बढेको गोल्छाको तर्क छ। त्यो भनेको उखुबाट निस्किने चिनीको अनुपात हो।
"भारतमा साढे ११ प्रतिशतसम्म रिकभरी दर रहेकोमा हामीकहाँ सरदर ९ प्रतिशत मात्रै छ। अर्को कुरा आयात शुल्क पनि अहिले सरकारले घटाएको छ। त्यसैले नेपाली उत्पादन घाटामा बेच्नुपरेको छ," उनले भने।
चिनी उद्योग सङ्घ अध्यक्षले पनि कतिपय उत्पादकहरूले घाटामै बेच्ने गरेको दाबी गरे।
"अहिले हामीले उद्योग मूल्यमा प्रतिकेजी सरदर ८२ रुपैयाँमा चिनी बिक्री गरिरहेका छौँ। कसैलाई एक/दुई रुपैयाँ फाइदा होला। कसैलाई ५/६ रुपैयाँ घाटा होला। कम रिकभरी गर्नेलाई घाटा नै छ," उनले भने।
'आत्मनिर्भर हुन सकिन्छ'

तस्बिर स्रोत, RSS
उत्पादकहरूले सरकारले प्राथमिकतामा राखेर अगाडि बढाएमा नेपाल आगामी पाँच वर्षमै चिनीमा पूर्ण रूपमा आत्मनिर्भर हुन सक्ने बताउने गरेका छन्।
"आयात शुल्क ३० प्रतिशत कायम राख्ने अनि नेपाली माटो सुहाउँदो उन्नत बीउबिजनको विकास गर्ने हो भने नेपाल पाँच वर्षमा चिनीमा आत्मनिर्भर हुन सक्छ," ईस्टर्न सुगर मिल्समा आबद्ध गोल्छाले भने।
त्यसबाहेक समयमा सिँचाइको व्यवस्था, किसानहरूलाई सहुलियत तथा तालिम र बेलामै रासायनिक मल उपलब्धतालाई ध्यानमा राख्नुपर्ने सङ्घका अध्यक्ष अग्रवालको सुझाव छ।
पछिल्ला वर्षहरूमा उखु तथा चिनी उद्योगले राम्रो प्रतिफल दिइरहँदा किसानहरू पनि आकर्षित हुँदै गएको उनको तर्क छ।
अरू बालीको तुलनामा उखुमा फाइदा भएको र हाल चिनी उद्योगहरूले प्रत्यक्ष रूपमा प्रत्यके उद्योगमा ४५० जनाजतिले रोजगारी पाएको अग्रवालले उल्लेख गरे।
सरकारले हाल दिने गरेको सहुलियतलाई निरन्तरता दिँदै प्रोत्साहनका थप कदमहरू चालेमा चिनीमा आत्मनिर्भर हुन समय नलाग्ने गोल्छाको निष्कर्ष छ।
चिनी आयात सम्बन्धमा बीबीसीले पछिल्लो विकासक्रमबारे जान्न सम्पर्क गरेको भए पनि नेपाली अधिकारीहरूको तर्फबाट कुनै प्राप्त भएन।
चिनी के हो
भारतको सर गङ्गाराम अस्पतालस्थित एन्डोक्रिनोलजी तथा मेटाबोलिजम विभागका डा सुरेन्द्र कुमारका अनुसार चिनी विभिन्न किसिमका हुन्छन्।
चिनीका अन्य प्रकारमा ग्लूकोज, ल्याक्टोज, सूक्रोज र फ्रक्टोज पर्छन्।
डा सुरेन्द्र कुमार भन्छन्, "फलफूलमा ग्लूकोज र फ्रक्टोज बढी पाइन्छ। दूध र पनिरजस्ता पदार्थमा ल्याक्टोज पाइन्छ। मह र फलहरूमा ग्लूकोज पाइन्छ र त्यो हानिकारक हुँदैन।"
प्रशोधित चिनी अर्थात् सूक्रोज हालिने खानेकुरा बढी खाँदा शरीरलाई हानि पुग्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















