'बाढीको पूर्वसूचना दिन माइकिङ गरे पनि कतिपयले विश्वास नगर्दा क्षति बढ्यो'

तस्बिर स्रोत, Lenin Ranjit
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: २ मिनेट
रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको ऐतिहासिक त्रिशूली बजार लगभग डुबाएको विदुर नगरपालिका वडा नं १ का वडाध्यक्ष लेनिन रञ्जितले बताएका छन्।
उनका अनुसार त्रिशूलीवासीहरूलाई बाढी आउने सूचना दिँदै तत्काल ठाउँ छोड्न भनिएको थियो र माइकिङ पनि गरिएको थियो।
उनले भने, "म माइकिङ गरेर त्रिशूलीको पुरानो पुल तर्दातर्दै बाढी आयो। नयाँ पुलमा पुग्दा खुट्टाखुट्टासम्म पानी आइसकेको थियो। जसोतसो ढुङ्गेमा पुगेर जोगिएँ।"
क्षतिबारे यकिन हुन बाँकी
रञ्जितले बीबीसीसँग भने, "बजारको आधाभन्दा बढी क्षेत्र पूरै डुबेको छ। त्रिशूली जलविद्युत् गृह, बजारका नयाँ र पुराना दुइटै पक्की पुल, त्रिशूली स्कूल, मन्दिर र घरहरू सबै नै बगाएका छन्। छेउको ढुङ्गेबजार पनि पूरै डुबेको छ।"
उनले भौतिक मात्र नभई मानवीय क्षति पनि भएको तर त्यसको यकिन तथ्य नभएको बताए।
उनले भने, "साथीहरूले आँखैअगाडि मानिसहरू बगाएको देखेका छन्। बजारका कतिपय बासिन्दासँग सम्पर्क हुन सकिरहेको छैन।"
उनले उद्धारका लागि हेलिकप्टर मगाउने प्रक्रिया चलिरहेको पनि बताए।
अहिले बजारका बासिन्दाहरु विदुर र कोलोनी क्षेत्रमा आश्रय लिइरहेका छन्।
वडाध्यक्ष रञ्जितले भने, "खोलाछेउको तल्लो बजारका बासिन्दाहरूले तत्काल ठाउँ छोडे पनि माथिल्लो बजारका स्थानीयवासी भने सर्न बाँकी थियो। पहिला पनि यस्ता हल्लाहरू चल्दा बजार बगाउने गरी भने कहिल्यै बाढी आएको थिएन । यति भयानक बाढी आउने कल्पनै गरिएको थिएन।"
यसअघि विसं २०४२ सालमा रसुवाको धुन्चे क्षेत्रमा पहिरो गई त्रिशूली खोला थुनिँदा बजार बगाउने डरले पूरै बजार खाली गरिएको जानकारहरू बताउँछन्। तर सो बाढी बजारभित्र भने पस्न सकेको थिएन।
'साँघुबजार'को नामले पनि चिनिने नुवाकोटको ऐतिहासिक त्रिशूली बजारमा लगभग ५०० घरपरिवार रहेको र त्यहाँको जनसङ्ख्या २,००० भन्दा बढी रहेको अधिकारीहरूको भनाइ छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















