लाइभ, रसुवा भीषण बाढीबारे पछिल्लो जानकारी

रसुवामा बिहान स्थानीय भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएपछि ठूलो क्षति पुगेको अधिकारीहरूले बताएका छन्। क्षतिको विवरण आउन बाँकी नै छ।

सारांश

  • रसुवामा बुधवार बिहान आएको बाढीका कारण धनजनको ठूलो क्षति पुगेको आशङ्का अधिकारीहरूले गरेका छन्
  • सरकारी निकायहरूले चितवनसम्म नै त्रिशूली नदीको तटीय क्षेत्रमा खतरा हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेका छन्
  • सरकारले बाढीबाट पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन आग्रह गरेको छ
  • रसुवाका प्रमुख जिल्ला अधिकारीका अनुसार नदीमा बाढी आएको धुन्चेबाट नै देखिएको छ
  • सेनाले रसुवाका प्रभावित स्थानमा उद्धारकर्ता र हेलिकप्टर पठाइएको जनाएको छ
  • क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ

लाइभ कभरेज

  1. चीनसँगका दुवै ठूला नाका बन्द

    भोटेकोशीको बाढी

    तस्बिर स्रोत, RSS

    तिब्बतबाट आएको बाढीले रसुवा र नुवाकोट क्षेत्रमा सडक र अन्य पूर्वाधार बगाएसँगै चीनसँगको प्रमुख नाका फेरि बन्द भएको छ।

    गत वर्षको बाढीका कारण लामो समयपछि खुलेको रसुवागढी नाकसम्म पुग्ने सडक र कैयौँ पुलहरू बगाएको विवरण आएका छन्।

    बाढी र पहिरोले सडक भत्काउँदा डेढ महिनाभन्दा लामो समयदेखि अर्को प्रमुख नाका तातोपानी पनि बन्द रहँदै आएको छ।

    काठमाण्डू नजिकका दुवै नाका बन्द हुँदा यसको ठूलो असर चीनसँगको व्यापारमा पर्ने नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले बताए।

  2. उद्धारमा जुट्न चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको निर्देशन

    तिब्बतमा भएको प्राकृतिक विपद्‍मा ‘उल्लेख्य’ क्षति पुगेको भन्दै ‘पूर्ण आकारको उद्धार कार्य’मा जुट्न प्रधानमन्त्री ली चियाङले निर्देशन दिएको चिनियाँ सरकारी सञ्चार माध्यम सीसीटीभीले जनाएको छ।

    राष्ट्रपति सी जिन्पिङले पनि बाढी नियन्त्रणको वर्तमान अवस्था ‘निकै संवेदनशील चरण’मा रहेको बताएका छन्।

    राष्ट्रपति सीले सबै क्षेत्र र सम्बन्धित निकायहरूले उच्च सतर्कता अपनाउँदै जोखिम तथा खतराहरूको पहिचान र निराकरणलाई तीव्रता दिनुपर्ने बताएको सीसीटीभीले जनाएको छ।

  3. २०० वटाभन्दा धेरै ट्रक बगाएको आशङ्का, कैयौँ मानिस सम्पर्कविहीन, अशोक दाहाल, बीबीसी न्यूज नेपाली

    बाढीमा बगेका ट्रकहरू

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, नुवाकोटमा बाढीमा बगेका ट्रकहरू देखिएका छन्

    नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले रसुवागढी नाकामा सामान ढुवानीका पुगेका २०० वटाभन्दा धेरै ट्रकहरू बगाएको अनुमान गरिएको बताएका छन्।

    उनले कैयौँ कामदारहरू पनि सम्पर्कविहीन रहेको जानकारी दिए।

    “२०० वटा भन्दा बढी मालवाहक गाडी बगायो भन्ने छ। यार्डमा भएको गाडी एउटा पनि छैन,” कार्की भन्छन्।

    “हाम्रा धेरै मान्छेहरू सम्पर्कविहीन छन्। अहिले करिब २०-३० जना सम्पर्कमा भएको अवस्था छ।”

  4. वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या तयार

    स्वास्थ्य मन्त्रालयले बाढी प्रभावितका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या छुट्याइएको जनाएको छ ।

    हालसम्म तीन जना घाइतेहरुलाई उद्धार गरेर काठमाडौँ ल्याइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले नेपालका बाढी पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

    स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कुराकानीपछि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण डब्लूएचओले पठाउन लागेको प्रधानमन्त्रीको सचिवालयका सुरेन्द्र बजगाईँले जानकारी दिएका छन्।

  5. , चारको मृत्यू, ३० को उद्धार

    नेपाल प्रहरीले हालसम्म बाढीका कारण नुवाकोटमा ४ जनाको ज्यान गएको जानकारी दिएको छ। प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले अहिलेसम्म ३० जनाको उद्धार गरिएको र त्यसमध्ये ३ जनालाई उपचारका लागि काठमाण्डू ल्याइएको बताए। नेपाल प्रहरीका ३२ जना सम्पर्कविहीन रहेको उनको भनाइ छ।

  6. प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले विपद्पछिको खोज तथा उद्धारमा सम्पूर्ण स्रोतसाधन परिचालन गर्न निर्देशन दिएका छन्।

    गृह मन्त्रालयका अनुसार समन्वयात्मक ढङ्गले खोज तथा उद्धारको काम अघि बढाउने निष्कर्ष उक्त बैठकले निकालेको छ।

    अधिकारीहरूले क्षतिको विवरण दिइसकेका छैनन् तर विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीले "टिमुरे र स्याफ्रुबेँसीमा’मा ठूलो क्षति पुगेको बताए।

    उनले बिहान बाढी आएको केही मिनेटभित्रै आफूहरू सक्रिय भएर तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन एसएमएस सन्देश पठाएको जानकारी दिए।

  7. त्रिशूलीले बगायो झोलुङ्गे पुल

    भिडिओ क्याप्शन सुरु हुँदैछ, त्रिशूली नदीमा आएको बाढीले धादिङमा एउटा झोलुङ्गे पुल बगाएको छ
  8. राष्ट्रपतिद्वारा दुःख व्यक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन्।

    पौडेलले उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, सुरक्षा निकाय र सर्वसाधारण नागरिकहरूलाई आह्वान गरेका छन्।

    राष्ट्रपतिले तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन तथा समन्वय र सहयोगमा जुट्न अनुरोध गरेका छन्।

  9. तस्बिरमा भोटेकोशी र त्रिशूलीको बाढी

    रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेको त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र । तस्बिर सौजन्य : उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याल

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेको त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र । तस्बिर सौजन्य : उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याल
    बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र
    बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको विदुरमा पनि ठूलो क्षति पुर्‍याएको छ
    बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र

    तस्बिर स्रोत, RSS

  10. सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन

    सशस्त्र प्रहरी बलले आफ्ना १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएको भन्दै खोज तथा उद्धारका लागि तयार अवस्थामा १०५ जना सुरक्षाकर्मीलाई काठमाण्डूस्थित त्रिभुवन विमानस्थलमा तैनाथ गरेको जनाएको छ।

    सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रसुवाको मैलुङबाट चार जना र टिमुरेबाट नौ जना सम्पर्कविहीन रहेको बताए।

    उनले सडकमार्गबाट राजधानीको सिनामङ्गलस्थित विपद् हेर्ने गणबाट ४५ जनाको टोली नुवाकोटतर्फ प्रस्थान जानकारी दिए। उनले बीबीसीसँग भने, “बलम्बुमा १०० शय्याको अस्पताल हामीले स्ट्यान्डबाई राखेको छ।”

  11. उद्धारकार्यमा १२ वटा हेलिकप्टर

    प्रभावित स्थानतिर जाँदै एउटा हेलिकप्टर

    तस्बिर स्रोत, BBC/Shaktimaya Tamang

    नेपाली सेनाले हालसम्म निजी क्षेत्रका आठ वटा र सेनाका चार गरी कुल १२ वटा हेलिकप्टर बाढी प्रभावित स्थानमा उद्धारकार्यका लागि परिचालन गरिएको जनाएको छ।

    सेनाको हेलिकोप्टरमार्फत् स्याफ्रुबेँसीबाट-६, मैलुङबाट दुई जना र धुन्चेबाट चार जनाको उद्धार गरिएको नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

  12. मन्त्रिपरिषद्‌को आकस्मिक बैठक

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शाह

    तस्बिर स्रोत, PMO

    तस्बिरको क्याप्शन, यसअघि प्रधानमन्त्रीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक गरेका थिए

    रसुवामा आज बिहान भीषण बाढी आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

    उनको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने छ।

    यसअघि उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक गरेका थिए।

  13. पोहोर पनि भएको थियो ठूलो विपत्ति

    नेपाल-तिब्बत सीमाको नक्सा

    गत वर्ष नेपाल-चीन सीमा नाका हुँदै बग्ने भोटेकोशी नदीमा भीषण बाढी आउँदा रसुवागाढी नाका अवरुद्ध भएको थियो भने १८ जना बेपत्ता भएका थिए।

    नेपाल-चीन सीमाबाट ३६ किलोमिटर टाढा अवस्थित ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा रहेको हिमनदीबाट अचानक पानीको निकास भएको र त्यसका कारण हिमनदीको बाँध फुटेकाले उक्त विपद् निम्त्याएको अधिकारीहरूले बताएका थिए।

    गत वर्ष असार २४ गतेको उक्त विपद्का कारण ३ प्रहरी, ६ कामदार, ३ जना कन्टेनरचालक र ६ चिनियाँ नागरिकको मृत्यु भएको थियो।

    जिल्ला विपद् व्यवस्थापन समिति रसुवाको एउटा प्रतिवेदनका अनुसार त्यस बेला नवनिर्मित भन्सार, जलविद्युत् आयोजना, ईभी चार्जिङ स्टेशनसहितका संरचनासहितमा गरेर झन्डै ६ अर्ब ६२ करोड रुपैयाँको क्षति पुगेको थियो।

  14. ‘बाढीले मेरो घरखेत, भैँसीपाडा सबै बगायो'

    भिडिओ क्याप्शन सुरु हुँदैछ, त्रिशूलीको बाढीले नुवाकोटमा कैयौँ मानिसहरू प्रभावित भएका छन्
  15. चितवनमा पनि सतर्कता

    सरकारी निकायहरूले रसुवादेखि नुवाकोट, धादिङ र चितवनको मुग्लिङसम्म त्रिशूली नदीको किनारमा पर्ने स्थानमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्।

    त्रिशूली नदीमा पानीको मात्रा बढेको र विपद्को जोखिम हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले त्रिशूली र कालीगण्डकी नदी मिसिएपछि बन्ने नारायणी नदीको तटबाट मानिसहरूलाई सुरक्षित स्थानमा सर्न भनेको छ।

    एउटा सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले नदी आसपास नजान र गएको भए तत्काल सुरक्षित स्थानमा पुग्न अनुरोध गरेको छ।

    प्रशासनले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने र निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा रहेका कार्यालयहरूलाई समेत आवश्यक पूर्वतयारी र सावधानी अपनाउन भनेको छ।

    “स्थानीय तहहरूले नदी किनारमा बसोबास गर्ने स्थानीय व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्नुहोला,” प्रशासनको सूचनामा भनिएको छ।

  16. कसरी आयो बाढी?, फणीन्द्र दाहाल, बीबीसी न्यूज नेपाली

    विपद् प्राधिकरणकी प्रवक्ता शान्ति महतले जनाए अनुसार प्रारम्भिक रूपमा हेर्दा तिब्बतमा पहिला हिउँपहिरोले नदी थुनिएको र अहिले "हिउँ पग्लिएका कारण" रसुवामा बाढी आएको अनुमान गरिएको छ।

    गत वर्ष पनि यस्तै प्रकृतिको घटना भएको स्मरण गर्दै उनले भनिन्, "हामीले यसबारे तिब्बत चीनसँग 'ट्रान्स बाउन्ड्री' छलफल गर्नुपर्ने भएको छ। ...उतापट्टिको भएकाले हामीलाई बाढी आइसकेपछि मात्रै (थाहा) भएको छ। यस्ता समस्याहरू बढेको भएर हामीले चीन सरकार र नेपाल सरकारबीच एमओयू गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ।”

    उनले रसुवागढीमा भन्सार कार्यालय र आसपासका प्रहरी चौकी र हेल्थ पोस्टहरूमा क्षति पुगेको बताइन्। उनका अनुसार तिब्बतबाट बिहान ८:४० बजे बाढी प्रवेश गरेको थियो भने सरकारी निकायले ९ बजेतिर सूचना पाएको थियो।

    उनले विपद्सँग सम्बद्ध सबै निकायहरूलाई परिचालन गर्ने र निजी क्षेत्रका ३४ वटा हेलिकप्टरहरूलाई अन्यत्र कतै परिचालन नगर्न निर्देशन दिइएको बताइन्।

  17. अहिलेसम्म हामीलाई के थाहा छ

    त्रिशूलीमा आएको बाढी

    तस्बिर स्रोत, BBC/Shaktimaya Tamang

    • बुधवार बिहान ९ बजेतिर आएको बाढीका कारण धनजनको ठूलो क्षति पुगेको आशङ्का अधिकारीहरूले गरेका छन्
    • सरकारी निकायहरूले चितवनसम्म नै त्रिशूली नदीको तटीय क्षेत्रमा खतरा हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेका छन्
    • सरकारले बाढीबाट पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन आग्रह गरेको छ
    • रसुवाका प्रमुख जिल्ला अधिकारीका अनुसार नदीमा बाढी आएको धुन्चेबाट नै देखिएको थियो
    • सेनाले रसुवाका प्रभावित स्थानमा उद्धारकर्ता र हेलिकप्टर पठाइएको जनाएको छ
  18. नमस्कार

    नमस्कार। तपाईँलाई बीबीसी न्यूज नेपालीको यो लाइभ पेजमा स्वागत छ। रसुवामा आज बिहान स्थानीय भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएपछि ठूलो क्षति पुगेको हुन सक्ने अधिकारीहरूले बताएका छन्। उक्त नदी धुन्चे कटेपछि त्रिशूली बन्छ। यो पेजमा हामी बाढीसँग सम्बन्धित ताजा विवरण प्रस्तुत गर्ने छौँ।