रसुवामा भीषण बाढी, चितवनसम्म सतर्कता

नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरेको २५ मेगावाट क्षमताको सोलर प्लान्टमा रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याइको क्षति

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरेको २५ मेगावाट क्षमताको सोलर प्लान्टमा पनि बाढीले क्षति पुर्‍याएको छ
Published
पढ्ने समय: ५ मिनेट

रसुवा जिल्लामा बुधवार बिहान अचानक आएको भीषण बाढीले ठूलो क्षति निम्त्याएको र बाढीको तह "गत सालको भन्दा पाँच गुना" ठूलो रहेको अधिकारीहरूले बताएका छन्।

क्षतिबारे विस्तृत विवरण आउन बाँकी नै छ तर ठूलो जनधनको क्षति भएको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार अतिप्रभावित रसुवा र नुवाकोटमा दर्जनौँ सुरक्षाकर्मीसहित सयौँ मानिस सम्पर्कविहीन भएका छन्।

नेपाल प्रहरीका अनुसार रसुवामा बिहान आएको बाढीका कारण विभिन्न जिल्लामा ज्यान गएका कम्तीमा १७ जनाको शव फेला परेको पुष्टि गरेको छ।

नेपाल पर्यटन बोर्डले २९१ विदेशीसहित ३८४ पर्यटक सम्पर्कविहीन रहेको जनाएको छ।

यसअघि सरकारले जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र)का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो। "बाढीबाट थप प्रभावित हुन सक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा सर्न पनि निरन्तर सूचना प्रवाह समेत [सरकारले] गरिरहेको छ," सचिवालयले एउटा विज्ञप्तिमा उल्लेख छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा 'कमान्ड सेन्टर' स्थापना गरिएको छ र प्रधानमन्त्री कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणसहितका निकायको बैठक बसेका छन्।

"ठूलो क्षति भएको भनिएको छ। मुग्लिङसम्म उद्धार गर्नुपर्ने अवस्था छ भनिएको छ। हामी त्यसका लागि काम गर्दै छौँ। अहिले नै क्षतिको तहको आकलन गर्न सकिएको अवस्था छैन," यसअघि गृह मन्त्रालयका प्रवक्ता काफ्लेले बीबीसीसँग भनेका थिए।

उनका अनुसार सडक, पुल, सञ्चारसहितका पूर्वाधारमा क्षति भएको र नुवाकोटस्थित केन्द्रीय कारागार पनि डुबानमा परेको थियो। त्यहाँ पानी पसेपछि भाग्न खोजेका तीन कैदीहरूलाई नियन्त्रणमा लिइएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक

मन्त्रिपरिषद्को आकस्मिक बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरू

तस्बिर स्रोत, PM Secretariat

दिउँसो मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्यो।

बैठकपछि सरकारका प्रवक्ता सम्मित पोखरेलले रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारले दुःख व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको बताए।

उनले घर बगाएकाहरूलाई खानेबस्ने व्यवस्था मिलाउन, सडक पुन: सञ्चालनमा ल्याउन र खानेपानीको व्यवस्था मिलाउन तथा विद्युत् आपूर्ति र दूरसञ्चारको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको बताए।

सरकारले मृतकका परिवारलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउने र विपद्‌बाट प्रभावित क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय समेत गरेको छ।

उनका अनुसार प्रभावित स्थानमा उद्धार र राहतका लागि चीन र भारतका सरकारसँग संवाद भएको छ।

"चीन सरकारसँग र भारत सरकारसँग पनि संवाद भइरहेको छ । परराष्ट्र मन्त्रालयमार्फत् समन्वय भइरहेको छ। चीन सरकारले आवश्यक सहयोग गर्ने पनि जानकारी गराएको छ, भारत सरकारले पनि गराएको छ," उनले भने।

तिब्बतमा नदी थुनिएको अनुमान

त्रिशूली नदीमा आएको बाढीले तटीय क्षेत्रमा रहेका भवनहरू पनि डुबानमा परेका छन्
तस्बिरको क्याप्शन, त्रिशूली नदीमा आएको बाढीले नुवाकोटमा तटीय क्षेत्रमा रहेका भवनहरू पनि डुबानमा परेका छन्

पोहोरजस्तै यसपालि पनि बाढी नेपाली भूमिबाट नभई तिब्बततिर उत्पन्न भएको अनुमान गरिएको छ। यद्यपि त्यसबारे विस्तृत विवरण आउन बाँकी छ।

राष्ट्रिय विपद् प्राधिकरणकी प्रवक्ता शान्ति महतले जनाएअनुसार प्रारम्भिक रूपमा हेर्दा तिब्बतमा पहिला हिउँपहिरोले नदी थुनिएको र अहिले "हिउँ पग्लिएका कारण" रसुवामा बाढी आएको अनुमान गरिएको छ।

नेपाल प्रहरीले "चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा" भोटेकोशी र त्रिशूलीको क्षेत्रमा "जोखिम कायमै रहेको" र अर्को सूचना जारी नहुँदासम्म नदीबाट टाढा, सुरक्षित स्थानमा बस्न सामाजिक सञ्जालमार्फत् अनुरोध गरेको छ।

त्रिशूलीमा आएको बाढी हेर्दै मानिसहरू
तस्बिरको क्याप्शन, नुवाकोटमा मानिसहरू त्रिशूलीको तटीय क्षेत्रबाट सुरक्षित स्थानतिर जान थालेका छन्

"धुन्चेबाट नै हामी नदी देख्न सक्छौँ। सामान्य अवस्थामा नदी देख्न सकिँदैनथ्यो। भोटेकोशी, ल्हेन्देबाट जोडिएर आएको त्यो नदी धुन्चे कटेपछि त्रिशूली हुन्छ," रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बिहान बीबीसीसँग भनेका थिए।

उनका अनुसार बाढीका कारण नदीको तटमा रहेका क्षेत्रहरू धेरै प्रभावित भएका छन्।

"माथि टिमुरेबाटै प्रारम्भ भएको छ। पारि (तिब्बत)बाट आएको भन्ने छ...।"

अवतरण गर्न सक्ने स्थान नभएकाले नेपाली सेनाको हेलिकप्टरले बिहान प्रभावित क्षेत्रको अवलोकन गरेको थियो।

'टिमुरेमा केही प्रहरीहरू फेरि सम्पर्कमा आए'

नेपाल प्रहरीका प्रवक्ताले "ठूलो क्षति" भएको बुझिएको भन्दै तल्लो तटीय क्षेत्रका मानिसहरूलाई उद्धार गर्न आफूहरू केन्द्रित भएको बताए। उनले दिउँसो ३ बजेसम्म कम्तीमा १७ जनाको शव फेला परेको पुष्टि गरे।

प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले बीबीसीसँग भने, "अहिले पानीको बहाव केही कम भएको भन्ने कुरा चाहिँ आएको छ। नदी छेउका धेरै क्षेत्रहरू प्रभावित भएको कुरा छ।"

उनका अनुसार कैयौँ प्रहरीहरू समेत सम्पर्कविहीन छन्। टिमुरेमा रहेकामध्ये १६ प्रहरीमध्ये पाँच जना सम्पर्कमा आएको तर अरू ३२ प्रहरी सम्पर्कविहीन भएको जानकारी दिए। "फोन नलागेर वा सञ्चार उपकरणले काम नगरेर पनि हुन सक्छ। अहिले नै के भयो भन्न सक्ने अवस्था छैन।"

प्रहरीले काठमाण्डू जोड्ने मूल राजमार्गमा सवारीसाधनको आवागमन बन्द गरिएको भन्दै मुग्लिङबाट नै पोखरातर्फ मोडिएको जानकारी दिएको छ। साथै विभिन्न ठाउँमा मानिसहरूलाई सुरक्षित स्थानतिर माइकिङ गरिएको अधिकारीहरूले बताएका छन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले कुहिरोका कारण बिहान उद्धार प्रभावित भएको भन्दै सेनाको हेलिकप्टरले केही घाइतेलाई उद्धार गरेको बताए। उनले भने, "अलिकति बढी क्षति टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा भएको छ।"

प्रधानमन्त्रीको सचिवालय के भन्छ

नक्सामा त्रिशूली नदी

प्रधानमन्त्री वालेन्द्र शाहले निर्देशन दिएलगत्तै सरोकारवाला निकायहरूले आफ्ना संयन्त्रहरू परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज र राहतलाई तीव्रता दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

"जिल्लास्थित विपद् प्राधिकरणले सक्रियता बढाइसकेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासनलगायतले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका छन् । साथै नेपाली सेनाले पनि आफ्नोतर्फबाट उद्धार तथा खोजलाई अगाडि बढाएको छ," विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले सिंहदरबारमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ।

चितवनसम्म सतर्कता अपनाउन सुझाव

सरकारी निकायहरूले रसुवादेखि नुवाकोट, धादिङ, गोरखा र चितवनको मुग्लिङसम्म त्रिशूली नदीको किनारमा पर्ने स्थानमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्।

जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाले त्यसका लागि छुट्टाछुट्टै सूचना प्रकाशित गरेका छन्।

"यो अवस्था अझै विकसित हुन सक्ने भएकाले अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गरौँ, एकअर्कालाई सचेत गरौँ र आवश्यक परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराऔँ," सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले बिहान सामाजिक सञ्जालमा लेखेका थिए।

तिमिल्सिना नुवाकोटबाट निर्वाचित जनप्रतिनिधि पनि हुन्।

नेपाली सेना के भन्छ

नेपाली सेनाका अनुसार बिहान ९ बजेतिर आएको बाढीले टिमुरे, स्याफ्रुबेँसीसहितका क्षेत्रदेखि नदीको तटीय क्षेत्रमा क्षति पुर्‍याएको जानकारी प्राप्त भएको थियो।

"खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको दुईवटा हेलिकप्टर त्रिशूली पुगेको छ भने त्रिशूलीस्थित जिल्ला अस्पताललाई सहयोग पुर्‍याउन नेपाली सेनाको आपत्कालीन मेडिकल उद्धार टोली एमआई-१७ हेलिकप्टरसहित परिचालन भइसकेको छ," सेनाले भनेको छ।

सेनाका अनुसार धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित इलाकामा खटिएको छ भने गजुरीस्थित नं.६ बाहिनी अड्डाबाट विपत् व्यवस्थापनको दक्ष जनशक्ति समेत खटिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।