तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इरानसँग शान्ति सम्झौता हुनेमा ट्रम्प फेरि 'आशावादी', रोके आक्रमणको योजना
- Author, यारोसलाव लुकिव, ड्यानिअल बुश
- Role, वाशिङ्गटन संवाददाता
- Author, फ्र्याङ्क गार्डनर
- Role, सुरक्षा मामिला संवाददाता
- Published
- पढ्ने समय: ३ मिनेट
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता हुनसक्ने आशा व्यक्त गरेका छन्।
उनले त्यसो भन्नु केही अघि मात्रै "इरानमाथि आफूले गर्न लागेको आक्रमण अहिलेलाई रोकेको" घोषणा गरेका छन्।
कतार, साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सको आग्रहमा उक्त निर्णयमा पुगेको ट्रम्पले ट्रुथ सोसलमा एउटा पोस्ट गर्दै जनाएका छन्।
उनको भनाइमा "अहिले गम्भीर वार्ता हुन लागेका बेला" इरानमाथि मङ्गलवार गर्ने भनेर निर्धारित सैन्य आक्रमण तत्कालका निम्ति रोकिएको हो।
शान्ति सम्झौताको सम्भावना औँल्याउने क्रममा ट्रम्पले तेहरान परमाणु हतियार विकासका सबै प्रयासहरू त्याग्न तयार हुनुपर्ने बताएका छन्।
अमेरिकाका लागि "धेरै स्वीकार्य" सम्झौता हुने जानकारी आफूलाई दिइएको ट्रम्पको भनाइ छ।
तथापि हप्तौँको अप्रत्यक्ष वार्तामा खासै प्रगति भएको देखिएको छैन।
पछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यसलाई "धेरै सकारात्मक विकास" भएको बताए, "तर केही हुन्छ वा हुँदैन हामी हेर्ने छौँ," भने।
ट्रम्पले भनेका छन्, "हामी यस्तो चरणमा पनि थियौँ कि सहमतिको नजिक छौँ जस्तो हामीलाई लागेको थियो, तर त्यो काम लागेन, तर अहिले केही फरक छ।"
इरानसँग सम्झौता हुने "निकै राम्रो सम्भावना" रहेको उनको बुझाइ छ।
"यदि हामीले इरानमाथि बमबारी नगरी त्यसो गर्न सक्यौँ भने म धेरै खुसी हुने छु," उनले भनेका छन्।
तर राष्ट्रपति ट्रम्पले यदि कुनै स्वीकार्य सम्झौता भएन भने अमेरिका "क्षणभरको सूचनामा इरानमाथि पूर्ण र ठूलो स्तरको आक्रमण गर्न तयार रहेको" चेतावनी दिए।
यस्तो धम्की उनले गत महिना युद्धविराम सहमति भएयता कैयौँ पटक दिएका छन्।
इरानको चेतावनी?
इरानका एक वरिष्ठ सैन्य कमान्डरले अमेरिकालाई "फेरि रणनीतिक भूल र गलत अनुमान" नगर्न आग्रह गरेका छन्।
इरानको तस्निम समाचार संस्थाले सोमवार अबेर सर्वोच्च नेता मोज्तबा खामेनेईको प्रतिक्रिया प्रकाशित गरेको छ जसमा "शत्रुलाई कम अनुभव भएको र उ अत्यधिक कमजोर साबित हुने" नयाँ मोर्चाहरू खोल्ने चेतावनी दिइएको छ।
तस्निमले मार्च १२ को खामेनेईको धारणा पुनः पोस्ट गरेको जस्तो देखिन्छ।
केही इरानी समाचार माध्यमहरूले उनका अघिल्ला लिखित सन्देशहरू पुनः प्रकाशित गर्न थालेका छन्।
यसअघि सोमवार इरानले अमेरिकाको पछिल्लो प्रस्तावको आफूले जबाफ दिएको र पाकिस्तानी मध्यस्थकर्ताहरूमार्फत् वाशिङ्टनसँग कुराकानी जारी रहेको बताएको थियो।
वार्तालाई सहज तुल्याउन एप्रिलमा भएको युद्धविराम छिटपुट घटनाबाहेक धेरै हदसम्म पालना नै भएको छ।
अमेरिकाभित्रै बढ्दो 'प्रतिकूलता'
ट्रम्पले इरानविरुद्ध थालेको युद्ध अमेरिकामा बढ्दो रूपमा अलोकप्रिय बन्दै छ, र यसले अर्थतन्त्रमा पारेको प्रभाव विश्वभरि महसुस भइरहेको छ।
इरानबारे ट्रम्पको पछिल्लो घोषणा उनको कदमको अनुमोदनमा गिरावट आएको र सर्वेक्षणहरूले युद्ध आफ्नै देशमा अलोकप्रिय बन्दै गएको देखाएका बेला आएको छ।
सोमवार प्रकाशित न्यूयोर्क टाइम्स/सिएनाले गरेको सर्वेक्षणअनुसार ६४ प्रतिशत मतदाताहरू इरानसँग युद्ध गर्ने निर्णय गलत भएको विश्वास गर्छन्।
सर्वेक्षणले केवल ३७ प्रतिशत मतदाताहरूले मात्र राष्ट्रपतिको रूपमा ट्रम्पको काम अनुमोदन गरेको देखाएको छ।
युद्धका साथै ट्रम्पले अर्थव्यवस्था र आप्रवासन लगायतका मुद्दाहरूमा लिएको नीतिप्रति सार्वजनिक रूपमा निराशा बढेको देखाउँदै सर्वेक्षणले 'मिडटर्म' चुनावमा रिपब्लिकनहरूले सामना गर्ने चुनौती औँल्याएको छ।
इजरेली र अमेरिकी सेनाले फेब्रुअरी २८ तारिखमा इरानमाथि ठूलो हवाई आक्रमण सुरु गरेका थिए।
बदलामा तेहरानले खाडीका देशहरूमा रहेका इजरेली र अमेरिकी अड्डाहरूलाई ड्रोन र क्षेप्यास्त्र हमलाको निशाना बनाएको थियो।
अमेरिकाले कुनै थप आक्रमण गरेमा इरानले त्यसको प्रतिकार कसरी गर्छ भन्ने विषयमा अरब राष्ट्रहरूमा रहेको डर अहिले एउटा प्रमुख कारक बन्न पुगेको छ।
इरानसँग ठूलो सङ्ख्यामा ड्रोन र क्षेप्यास्त्रहरू छन्। अमेरिकाले आक्रमण गरेमा उसले पनि फेरि छिमेकी देशहरू, तिनका विमानस्थलहरू, इन्धन केन्द्रहरू र खाडीमा तापक्रम बढ्दै जाँदा पिउने पानी उपलब्ध गराउने महत्त्वपूर्ण प्रशोधन केन्द्रहरूमाथि पूर्ण स्तरको आक्रमण गर्न सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।