तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'मलाई बच्चा जन्मँदै जीवित नरहेको सुनाइयो: ४२ वर्षपछि उनले इमेल गरे'
- Author, आउटलुक, बीबीसी विश्व सेवा
- Published
- पढ्ने समय: ६ मिनेट
अस्ट्रेलियामा डिसेम्बर २०१८को रात निकै गर्मी थियो।
ब्रिस्बेनको आफ्नो घरमा ६३ वर्षकी पशु चिकित्सक डिआन शीहान साथीहरूसँग रातको खाना खाइरहेकी थिइन्।
सोफामा बस्ने बित्तिकै उनको नजर आफ्नो मोबाइलमा आएको इमेलमा पर्यो।
उक्त इमेलमा प्रेषकले आफ्नो जन्म मिति र अस्पतालको नामका आधारमा डिआन आफ्नी आमा भएको हुनसक्ने आफूले ठानेको उल्लेख गरेका थिए।
"मेरो त जीउमा काँडा उम्रियो," डिआनले बीबीसीको आउटलुक कार्यक्रमसँग भनिन्।
"मैले केही सोच्नै सकिनँ र श्वास पनि रोकिए जस्तो भयो। एक घण्टासम्म मैले होस पाइनँ।"
उनले सन् १९७६मा त्यही अस्पतालमा बच्चालाई जन्म दिएकी थिइन्। र ती व्यक्तिले इमेलमा पठाएको विवरण त्यो समयसँग दुरुस्तै मिल्थ्यो।
तर त्यतिबेला उनले जन्म दिएका छोरा जीवित नरहेको अस्पतालका कर्मचारीले उनलाई सुनाएका थिए।
अनपेक्षित गर्भ
सन् १९५०को दशकमा न्यूजिल्यान्डको वेलिङ्टनस्थित एउटा क्याथोलिक परिवारमा जन्मिएकी डिआन इसाई धर्मिक नियम पालना गरेका महिला अर्थात् 'नन'हरूले सञ्चालन गरेको विद्यालयमा अध्ययन गरिन्।
"त्यहाँ कुनै पनि यौन शिक्षा पढाइएन... हामीलाई बसमा पनि केटाहरूसँग नबस्न सजग गराइन्थ्यो," डिआन सम्झन्छिन्।
"उनीहरूसँग एउटै सीटमा बस्यौँ भने हामी गर्भवती हुन्छौँ भन्ने कुरा उनीहरूले हामीलाई सिकाएका थिए।"
यौनबारे वास्तविक जानकारी नहुँदा उनलाई गर्भनिरोधक साधनहरूको प्रयोग गर्नुपर्छ भन्ने सही जानकारी थिएन। पछि क्यानडामा एउटा परिवारको रेखदेख गर्ने काममा जाँदा घोडाको हेरचाह गर्ने रिक नामका व्यक्तिसँग डिआन प्रेममा परिन्।
उनीहरूले म्याक्डोनाल्डमा पहिलो पटक भेट गरेका थिए। उनी त्यसबेलासम्म त्यस्तो ठाउँमा गएकी थिइनन्।
डिआनका अनुसार उनी एकदमै मायालु स्वभावका थिए र घोडामा दुवै जनाको रुचि पनि समान थियो। त्यही कुराले उनलाई रिक मन पर्न थाले।
पछि रिक क्यालिफोर्निआ गए। डिआन उनलाई भेट्न त्यहीँ पुगिन्। तर फर्कने बेलामा उनको विमान छुट्यो। पछि फर्किएर क्यानडा आउँदा उनलाई जागिरबाट निकालिएको थाहा पाइन्।
त्यसको अर्थ उनीसँग अब क्यानडा बस्न पाउने कानुनी अधिकार पनि थिएन। अनि उनी अस्ट्रेलिया नै फर्किइन्।
त्यसबेलासम्म उनी गर्भवती भइसकेकी थिइन्। तर यो कुरा उनलाई थाहै थिएन।
बहिस्कृत हुने चिन्ता
अहिलेजस्तो मोबाइल फोन र सामाजिक सञ्जाल नभएको समयमा यी युवा जोडीको सम्पर्क टुट्यो।
डिआनले सिड्नीमा एक जना डाक्टरको घोडा फार्ममा जागिर पाइन्। यो परिवारले पनि उनको परिवारजस्तै क्याथोलिक परम्परा र मान्यता पालना गर्थ्यो।
जब डिआनले आफू गर्भवती भएको थाहा पाइन् उनी निकै डराइन्।
"म आफैले त्यो कुरा स्वीकार्न सकिनँ। अनि कसैलाई सुनाउन पनि सकिनँ," उनी भन्छिन्।
आफ्नो गर्भमा शिशु हुर्किरहेको कुरा स्वीकार गर्न उनलाई छ महिना लाग्यो। अनि उनले खुकुलो लुगा लगाएर गर्भवती शरीर ढाक्ने प्रयास पनि गरिन्।
"म निकै सानो जीउडालकी मान्छे थिएँ। म फार्ममै काम गर्ने भएकाले बाहिरबाट ढाक्ने खुकुलो लुगा लगाउँथे। त्यसकारण कसैले थाहा पाएनन्," डिआन सुनाउँछिन्।
उनलाई अविवाहित रहँदै आफू गर्भवती भएको अरूले थाहा पाए समाजबाट बहिस्कृत हुने चिन्ता थियो।
सुरुमा त उनले प्रसववेदना पनि लुकाउने कोसिस गरिन्। तर बान्ता हुन थालेपछि उनलाई अस्पताल लगियो।
दशकौँसम्म बेखबर
उनी अस्पतालको बसाइ निकै पीडादायक भएको सुनाउँछिन्।
"मसँग त्यसबेला कोही नबोलेको सम्झना छ। उनीहरूले मबाट बच्चा लिएर गएको याद छ। उनीहरूले त्यसबेला मलाई टेबलमा नाङ्गै छाडेर गएका थिए। त्यसबेला निकै चिसो थियो त्यो पनि याद छ।"
डिआनले आफ्नो बच्चा समाउनसम्म पाइनन्। त्यो छोरा थियो वा छोरी थियो भन्नेसम्म उनलाई सुनाइएन।
उनलाई यति मात्रै भनियो, बच्चा जीवित थिएन।
त्यसपछि दशकौँ बिते। आफ्नो यो कथा उनले आफ्ना आमाबुवालाई पनि सुनाइनन्, रिकलाई पनि खबर पुर्याइनन्। वर्षौँपछि उनले विवाह गरिन् तर श्रीमान्लाई पनि विगतको यो कहानी सुनाइनन्। विवाहपछि उनका दुई जना बच्चा जन्मिए उनीहरूलाई पनि यो कुरा भनिनन्।
"मेरो विचारमा म व्यवहारिक हुन खोजिरहेकी हुनुपर्छ। त्यो भनेर पनि के अर्थ?"
डिआनले पढाइमा आफ्नो ध्यान लगाइन्। पशु चिकित्सक बनिन्।
"म दुई वा तीन ठाउँमा काम गर्थेँ। बेलुका थाकेर सुतिहाल्थेँ। मलाई सोचेर बस्ने समय नै थिएन। मैले आफूलाई सकेसम्म व्यस्त राखेँ।"
अनि खुलासा भयो
तर ४२ वर्षपछि छोराको इमेल पढ्दै जाँदा उनी आफ्नो विगतको सामना गर्न बाध्य भइन्। आफूबारे धेरै नखुलाए पनि उनका छोराले आफू जीवित रहेको र अर्को एक परिवारले आफूलाई सन्तानको रूपमा हुर्काएको इमेलमा बताएका थिए।
सन् १९५० को दशकदेखि १९७०को दशकसम्म कायम रहेको अस्ट्रेलियाको धर्मसन्तान सम्बन्धी नीतिका कारण आफूजस्तै दशौँ हजार महिलाले आफ्नो बच्चा प्राप्त गर्न नसकेको कुरा डिआनलाई पछि थाहा भयो।
त्यसबेला क्याथोलिक चर्च र अन्य संस्थाहरूले एकल महिलाबाट जन्मिएका बच्चालाई धर्मसन्तानका रूपमा हुर्काउन अरू मानिसहरूलाई दिन मिलेमतो जस्तो नै गरेका थिए। त्यसका लागि एकल आमाहरूलाई मनोवैज्ञानिक दबाव दिने, जबरजस्ती आमा र बच्चा छुटाउने हुन्थ्यो र कतिपय अवस्थामा धर्मसन्तान अपनाउने प्रक्रियामा जालझेलसमेत हुने गरेको थियो।
सन् २०१३ मा अस्ट्रेलिया सरकारले औपचारिक रूपमै हजारौँ परिवारप्रति अन्याय गरिएको कुरा स्वीकार गर्दै माफी माग्यो।
उक्त इमेलमा डिआनका छोराले आफूलाई उनीसँग भेट्ने र सम्भव भए आमा र छोराको नाता कायम गर्नसक्ने सम्भावनाको खोजी गर्ने बाहेक कुनै अपेक्षा नरहेको बताएका थिए।
उनले आफूले खुसी जीवन बिताइरहेको र आफूलाई धर्मसन्तान बनाएका अभिभावकले आफूलाई चाहेको सबै कुरा दिएको बताएका थिए।
"अनि उनको सन्देश थियो , 'तपाईँ त हजुरआमा पनि बनिसक्नुभयो नि।'"
त्यसमा एक जना सानी बालिकाको तस्बिर पनि पठाइएको थियो।
डिआनले तस्बिर समेत देखेपछि उक्त इमेल आफ्ना छोराकै भएको निश्चय गरिन्।
"त्यो तस्बिर मेरी नातिनी हुने उमेरकै बच्चीको थियो। त्यस्तै अढाई तीन वर्षकी होलिन्। उनको तस्बिर मेरै जुम्ल्याहा जस्तो देखिन्थ्यो... मेरो टाउको घुम्न थालेजस्तो भयो।"
अनि भयो पुनर्मिलन
डिआनलाई सुरुमा आफ्नो विगतको गोप्य कुरा खुलाउँदा के हुने हो भन्ने डर लागे पनि उनका श्रीमान् र सन्तानले पहिलो छोरासँग भेट गराउन सहयोग गर्छन्।
उनी सिड्नीका लागि उडिन् र त्यहाँ उनीहरूबीच भेट भयो।
"उनी त्यहाँ फूल लिएर बसिरहेका थिए," डिआन सुनाउँछिन्।
उनी आफ्ना छोराको घर गइन् र बुहारी अनि नातिनीहरूसँग पनि भेट गरिन्।
उनलाई उनको छोरालाई धर्मपुत्र बनाएका अभिभावकहरूलाई पनि झुक्क्याइएको पछि थाहा भयो।
आफ्नी आमाले उनलाई हेर्न नपाएको र एउटा धार्मिक परिवारले उनलाई धर्मपुत्रका रूपमा स्वीकार गरेर हुर्काइदियोस् भनेर उनीहरूलाई सुनाइएको उनले बताइन्।
उनको ठेगाना चाहिँ उनका छोरालाई धर्मपुत्र बनाएको परिवारलाई दिइएको थियो।
छोराकी धर्मआमाले वर्षौँसम्म उनलाई चिठी लेखेको कुरा पनि उनले त्यसपछि मात्रै थाहा पाइन्।
एक दिन दुवै आमाहरू डिआनका नातिको विद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी भए।
त्यो क्षणले आफूलाई निकै भावुक बनाएको उनले सुनाइन्।
"उनी मेरो प्रेमिल सम्बन्धमा जन्मिएका थिए। उनलाई कसैले हुर्कायो। त्यो हुर्काउने परिवार र उनको सम्बन्ध पनि मायाले भरिएको रहेछ। उनीहरू साँच्चीकै मायालु मानिसहरू रहेछन्।"
अहिले पनि डिआनको आफ्ना छोरा र उनलाई धर्मपुत्र बनाएका परिवारसँग राम्रो सम्बन्ध छ।
"जे भयो म त्यो परिवर्तन गर्न सक्दिनँ। म ४० वर्षदेखि हराएका आफ्ना छोरासँग चाहिँ सम्बन्ध कायम राख्न आफ्नो ऊर्जा लगाइरहेकी छु।"
यो सामग्री बीबीसी आउटलुक कार्यक्रमको एक शृङ्खलाबाट तयार गरिएको हो
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।