तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'विज्ञहरूको रायविपरीत बोल्ड निर्णय': कृष्णभीरमा भित्तो काटेर बाटो खोलिँदै
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गसँग जोडिएको भित्तो काटेर बाटो खोल्ने काम सुरु गरिएको सडक विभागका अधिकारीहरूले बताएका छन्।
गत भदौ १४ गते करिब १०० मिटर सडक पूर्ण रूपमा भासिएपछि राजधानी काठमाण्डू प्रवेश गर्ने सबैभन्दा व्यस्त उक्त मार्ग अवरुद्ध भएको छ। त्यसो हुँदा काठमाण्डू र धादिङबाट चितवन, तनहुँ, कास्कीसहित पश्चिम नेपालका विभिन्न जिल्लातर्फ जाने यातायात ठप्प छ।
काठमाण्डू उपत्यकाको 'लाइफलाइन' नै अवरुद्ध हुने अवस्था आएपछि भित्तो काटेरै बाटो खोल्ने 'बोल्ड' निर्णय गरिएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनिअर शुभराज न्यौपानेले बीबीसीलाई बताए।
"हुन त कृष्णभीर पुरानो पहिरोको संवेदनशील क्षेत्र हो। त्यसैले त्यहाँ भित्तो खन्न हुँदैन भन्ने केही विज्ञहरूको राय थियो," उनले भने, "बरु पहिरो आयो भने सफा गर्दै जाने वा पछि 'टेक्निकल स्टेबलाइजेशन'का उपायहरू अपनाउने भन्ने विषयमा विभागीय र मन्त्रालय स्तरबाट निर्णय गरेर काम थालेका हौँ।"
उनका अनुसार विभागले "हप्ता दिनभित्रै खोल्ने लक्ष्य" लिएको छ तर कति दिन लाग्छ त्यो बिस्तारै स्पष्ट हुँदै जाने छ।
यस्तो छ विभागको योजना
कृष्णभीरको पहिरोलाई अधिकारीहरूले 'रसुवा बाढी'का कारण नेपालको सडक संरचनामा पुर्याएको सबैभन्दा ठूलो क्षतिमध्ये एक मानेका छन्।
कृष्णभीरनजिकैको परेवाभीर र शीतलबजारमा पनि पहिरोले सडकमा क्षति पुर्याएको छ। त्यहाँको प्रकृति पनि कृष्णभीरको पहिरोसँग मिल्दोजुल्दो रहेको अधिकारीहरू बताउँछन्।
अहिले कृष्णभीरमा 'ग्याभिन'को तह रहेको स्थानभन्दा माथिबाट प्रारम्भतिक चरणमा ५.५ पाँच मिटर चौडाइको ट्र्याक खोल्ने काम थालिएको प्रवक्ता न्यौपानेले बताए।
"पछि सक्ने अवस्था भएछ भने नौ मिटरको ट्र्याक खोल्ने भन्ने भएको छ।"
"हिजो झाडीहरू सफा गर्यौँ। चिराहरू छन् कि भनेर जाँच्यौँ," उनले भने, "त्यस्तो नपाइएपछि काम थाल्यौँ।"
"तर परेवाभीर क्षेत्रमा चाहिँ भित्ता काटेर सजिलैसँग ल्याउन सक्ने अवस्था छ," प्रवक्ता न्यौपानेले भने।
राजधानीलाई तराईसँग जोड्ने वैकल्पिक मार्गका रूपमा यतिखेर कान्ति राजमार्ग र त्रिभुवन राजपथ प्रयोग हुँदै आएका छन्।
त्यसबाहेक बीपी राजमार्ग र हेटौँडा–कुलेखानी–फर्पिङ सडकलाई समेत वैकल्पिक बाटोका रूपमा तोकिएको छ।
सडक विभागले वैकल्पिक सडकमा परेको सवारीको भार व्यवस्थापन गर्नका लागि मालवाहक गाडी त्रिभुवन राजपथबाट प्रवेश गर्ने र खाली गाडी कान्ति राजपथबाट निस्किने व्यवस्था गरेको अधिकारीहरूले बताएका छन्।
प्रहरीले काठमाण्डूबाट हेटौँडा र हेटौँडाबाट काठमाण्डू आउजाउ गर्न साना र ठूला सवारीसाधनका लागि छुट्टाछुट्टै वैकल्पिक मार्ग तोकेको छ।
बाढीले पुर्याएको क्षति
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीले ५५ किलोमिटर सडकमा पूर्ण क्षति पुर्याएको छ।
रसुवादेखि धादिङसम्म बाढीका कारण कुल ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ।
तीमध्ये ३७ वटा मोटरेबल पुलमा पूर्ण रूपमा क्षति पुगेको प्राधिकरणको सूचनामा उल्लेख छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।