जीवहरूको अस्तित्वसँग जोडिएको रासायनिक रहस्य पत्ता लगाउने दुई वैज्ञानिकलाई नोबेल पुरस्कार

सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा
Published
पढ्ने समय: ३ मिनेट

फ्रान्सेली वैज्ञानिक अन्री कगान र जापानका केन्सो सोआईले यो वर्ष रसायनशास्त्रतर्फ नोबेल पुरस्कार पाउने भएका छन्।

नोबेल समितिका अनुसार उनीहरूलाई रासायनिक प्रतिक्रियामा एउटै प्रकारका 'अर्ग्यानिक मलिक्यूल'का दुई फरक स्वरूपमध्ये एउटा स्वरूपको मात्रा कसरी बढ्न सक्छ भन्ने पत्ता लगाउन महत्त्वपूर्ण योगदान गरेबापत पुरस्कार प्रदान गर्न लागिएको हो।

प्रोटीन निर्माणमा प्रयोग हुने अधिकांश अमीनो एसिडहरू 'काइरल' हुन्छन्। "यसको अर्थ तिनका दुईवटा स्वरूप हुन्छन्, जुन एकअर्काका ऐनामा देखिने प्रतिबिम्बजस्तै हुन्छन्," नोबेल समितिले भनेको छ।

मानिसका दायाँ र बायाँ हातजस्तै ती स्वरूपलाई एकअर्कामाथि पूर्ण रूपमा खप्ट्याउन सकिँदैन। जीवहरूले प्रोटीन निर्माण गर्दा मुख्यतः ती दुईमध्ये एउटा निश्चित स्वरूपका अमीनो एसिड प्रयोग गर्छन्।

कगान अहिले ९५ वर्षका भए। उनी नोबेल पुरस्कारको इतिहासमा रसायनशास्त्रतर्फ सम्मानित हुने दोस्रा वृद्धतम वैज्ञानिक हुन्। सन् २०१९ मा पुरस्कृत हुँदा जोन गूडइनफ ९७ वर्षका थिए।

उनीहरूको खोजको महत्त्व बुझाउँदै रसायनशास्त्री प्रा निरञ्जन पराजुली भन्छन्, "पुरस्कार जित्ने वैज्ञानिकहरूमध्ये कगानले रासायनिक प्रतिक्रियामा प्रयोग हुने उत्प्रेरकमा एउटा स्वरूपको 'काइरल मलिक्यूल'को थोरै बाहुल्य भए पनि त्यसको प्रभाव अपेक्षाभन्दा धेरै हुन सक्ने पत्ता लगाएका थिए।"

"उनले दुई फरक स्वरूपका 'काइरल मलिक्यूल'हरू उत्प्रेरकमा मिसिँदा रासायनिक प्रतिक्रियामा फरक प्रभाव पार्ने देखाएका थिए। अर्थात् यसमा एउटा स्वरूपको 'काइरल मलिक्यूल'को मात्रा बढ्न सक्छ।"

यो वर्षका अरू विजेता

नोबेल पुरस्कारको पदक

सोमवार नोबेल पुरस्कारअन्तर्गत फिजिओलजी/चिकित्साशास्त्र विधातर्फ तीन विजेता र मङ्गलवार भौतिकशास्त्र विधातर्फ एक विजेताको नाम घोषणा भएको थियो।

यो वर्ष अमेरिकी मनोविद् तथा स्नायुविद् कार्ल डाइसरोथ अनि उनका जर्मन सहकर्मीहरू पिटर हेगेमान अनि गेयोर्ग नागेललाई अप्टोजेनेटिक्सको क्षेत्रमा महत्त्वपूर्ण गरेको कामका लागि अनि फ्रान्सिस हाल्सनलाई 'आइसक्यूब न्यूट्रिनो अब्जर्भेटरी' स्थापनाका लागि निर्णायक योगदान पुर्‍याएर अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रिनोहरू पत्ता लगाएकाले पुरस्कार दिन लागिएको घोषणा भएको छ।

नोबेल पुरस्कार समितिका अनुसार अब बिहीवार साहित्य, शुक्रवार शान्ति अनि आगामी सोमवार अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुने छ।

यसअघि कसले पाएका थिए पुरस्कार

गत वर्षा रसायनशास्त्र नोबेल नोबेल पुरस्कार विजेताको नाम घोषणा गरेपछि पुरस्कृत खोजका बारे जानकारी दिँदै नोबेल समितिका पदाधिकारी र विज्ञहरू
तस्बिरको क्याप्शन, गत वर्ष जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रिचर्ड रब्सन र अमेरिकाका ओमर यागी पुरस्कृत भएका थिए
  • सन् २०२५ : 'मेटल-अर्ग्यानिक फ्रेमवर्क' (एमओएफ) विकास गरेकाले जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रिचर्ड रब्सन र अमेरिकाका ओमर यागीलाई संयुक्त रूपमा
  • सन् २०२४ः डेभिड बेकरलाई 'कम्प्युटेशनल प्रोटीन डिजाइन'का लागि अनि 'गुगल डीपमाइन्ड'का डेमिस हसाबिस र जोन एम जम्परलाई प्रोटीनको 'स्ट्रक्चर प्रेडिक्शनन'का लागि
  • २०२३ः मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभलाई 'क्वान्टम डट' विकास गरेकाले
  • २०२२ः क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्प्लेसलाई 'क्लिक केमिस्ट्री' पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि। उनीहरूको खोज क्यान्सरविरुद्ध उपचारविधि निर्माण गर्न उपयोगी बनेको थियो। त्यसले सोझै ट्यूमर गराउने कोषहरूलाई लक्ष्य बनाउन सघाएको थियो।
  • २०२१: बेन्जामिन लिस्ट र डेभिड म्याक्मिलनलाई एक अर्काको प्रतिबिम्ब हुने अणुहरू निर्माणका लागि
  • २०२०: एमानुएल शार्पन्टिएर र जेनिफर डाउड्नालाई डीएनए सम्पादन गर्ने प्रविधिका लागि
  • २०१९: जोन बी गुडइनफ, एम स्टान्ली ह्विटिङहम र अकिरा योशिनोलाई लिथिअम-आयन ब्याटरीको विकासका लागि
  • २०१८: अमेरिकी वैज्ञानिकहरू फ्रान्सेस आर्नोल्ड र जोर्ज पी स्मिथ र ब्रिटेनका वैज्ञानिक ग्रेगरी विन्टरलाई एन्जाइमबारे गरिएका अनुसन्धानका लागि।
  • २०१७: ज्याक डुबोचे, युआकिन फ्रान्क र रिचर्ड हेन्डर्सनलाई जैविक अणुहरूको तस्बिरलाई परिस्कृत बनाएकाले
  • २०१६: जीन-पिएर सोभाज, फ्रेजर स्टोडार्ट र बर्नार्ड फेरिङ्गालाई अणुहरूको आकारमा सूक्ष्म यन्त्र बनाएकाले
  • २०१५: थोमस लिन्डाल, पोल मोर्ड्रिच र अजिज सान्चरलाई डीएनए मर्मतको अन्वेषणका लागि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।