तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
देशको इतिहासकै घातकमध्येको एउटा डढेलो नियन्त्रण गर्न स्पेन सङ्घर्षरत
- Author, निक बीक र क्रिस ग्राहक
- Published
- पढ्ने समय: ३ मिनेट
मुलुकको इतिहासकै भीषणमध्येको एउटा डढेलोको सामना गरिरहेका स्पेनका आपत्कालीन सेवाका टोलीहरू दक्षिण-पश्चिमी क्षेत्रमा बाँकी आगो नियन्त्रणमा लिने प्रयासमा छन्।
स्पेनी अधिकारीहरूका अनुसार बेडार गाउँ आसपासका क्षेत्रमा सयौँका सङ्ख्यामा अग्निनियन्त्रक तथा अन्य विशेषज्ञहरू परिचालन गरिएका छन्, जहाँ हालसम्म १२ जनाको ज्यान गइसकेको छ।
ज्यान गुमाउनेमध्ये चारजना ब्रिटिश नागरिक रहेका बताइएको छ। अरू २३ जना अझै बेपत्ता छन्।
मृतकको सङ्ख्या अझै बढ्न सक्ने अल्मेरियाको लोस गायार्डोस क्षेत्रका स्थानीय अधिकारीहरूले चेतावनी दिएका छन्। ज्यान गुमाउनेमध्ये थप ब्रिटिश नागरिक हुन सक्ने आशङ्का गरिएको छ।
यस गर्मीयाममा दक्षिणी युरोपभरि करिब ४० डिग्री सेल्सियस तापक्रमसहितको उष्णलहर चलेको छ, जसका कारण खासगरी फ्रान्स, पोर्चुगल र स्पेनमा डढेलो फैलिएको छ।
आगलागीको कारण
अत्यधिक तापक्रम, अत्यन्त सुक्खा जमिन र शक्तिशाली हावाका कारण लोस गायार्डोस क्षेत्रमा बिहीवार दिउँसो तीव्र रूपमा आगो फैलिएको थियो।
आगो लाग्नुको कारण बिजुलीको तार खसेको बताइएको छ। तर स्थानीय विद्युत् कम्पनीहरूले त्यसलाई अस्वीकार गरेका छन्।
जलेर नष्ट भएको एउटा कारभित्र मृत अवस्थामा फेला परेका चारजना व्यक्तिबारे थप विवरण सार्वजनिक गरिएको छैन।
एन्डालुसिआका स्वास्थ्य तथा आपत्कालीन मामिलामन्त्री एन्टोनियो सान्सले पीडितहरू "ब्रिटिश मूलका" भएका विश्वास गरिएको र उक्त कारको स्टेयरिङ दायाँपट्टि रहेको बताएका थिए।
बिहीवार परिवारसहित बिदा मनाउन स्पेन पुगेकी लुसिन्डा कुर्टोइसले बेडारबाट उनीहरू कसरी जोगिन सफल भए भन्नेबारे अनुभव सुनाइन्।
"धुवाँको ठूलो मुस्लो बादलजस्तो देखिन्थ्यो, मानौँ बम विस्फोट भएको हो," उनले भनिन्।
बीबीसीसँग कुरा गर्दै कुर्टोइसले कम्तीमा दुईजना अरू ब्रिटिश नागरिकको पनि मृत्यु भएको हुन सक्ने आशङ्का व्यक्त गरिन्।
"उनीहरू घरबाट पैदलै निस्किएका थिए, किन निस्किए मलाई थाहा छैन," उनले भनिन्।
"शायद उनीहरूको सडक अवरुद्ध भएको हुन सक्छ। किनकि उनीहरू ग्रामीण क्षेत्रमा बस्दै आएका थिए।"
घातकमध्ये एक
बेडारका अधिकारीहरूले मृत्यु हुनेमध्ये कतिपयले सुझाइएको सुरक्षित उद्धार मार्ग प्रयोग नगरेको बताएका छन्। तर त्यो सूचना कति प्रभावकारी रूपमा उनीहरूसम्म पुगेको थियो भन्ने स्पष्ट छैन।
स्पेनी अधिकारीहरू वा लन्डनस्थित ब्रिटिश विदेश मन्त्रालयले मृतकहरूको पहिचान सार्वजनिक गरेका छैनन्।
सान्सले तीव्र गतिमा फैलिएको आगो नियन्त्रण गर्न निकै जटिल भएको र अधिकांश वा सम्भवतः सबै पीडित विदेशी नागरिक हुन सक्ने बताए।
बेल्जमका विदेशमन्त्री म्याक्सिम प्रेभोटले स्पेनमा धेरै आफ्नो देशका नागरिकका दोस्रो घरहरू रहेको जनाउँदै कूटनीतिक अधिकारीहरूले सम्पर्कविहीन भएका ती नागरिकहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास गरिरहेको बताए।
राष्ट्रिय मौसम सम्बन्धी निकाय एईएमईटी एन्डालुसिआ शाखाले शनिवार मौसम अवस्था "केही हदसम्म अनुकूल" हुने, मध्यम गति हावा चल्ने र तापक्रम घट्ने जनाएको छ।
हालसम्म कम्तीमा १२ जनाको मृत्यु निम्त्याएको यो डढेलो स्पेनको इतिहासकै सबैभन्दा घातक डढेलोमध्ये एक बनेको छ।
सन् १९८४ मा क्यानरी टापुको ला गोमेरामा लागेको डढेलोमा २० जनाको ज्यान गएको थियो।
सन् १९७९ मा पूर्वोत्तर स्पेनको ल्योरेट डे मार नजिकैको डढेलोमा नौ बालबालिकासहित २१ जनाको ज्यान गएको थियो।
कोपर्निकस जलवायु सेवाका अनुसार जलवायु परिवर्तनका कारण विश्वभरि तापक्रम बढिरहेको छ र युरोप सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश हो। युरोपको तापक्रम विश्व औसतको तुलनामा दोब्बर गतिले बढिरहेको छ।
त्यसले गर्मीयाममा उष्णलहर, युरोपको पानी आपूर्तिमा ठूलो दबाव र अझ भीषण डढेलोहरू निम्त्याइरहेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।