तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकामा कार्गो विमान दुर्घटना पाँच जनाको मृत्यु
अमेरिकाको मायामी अन्तर्राष्ट्रिय विमानस्थलमा एमजन एअरको एउटा कार्गो विमान धावनमार्ग क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ।
दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ र अन्य पाँच जना घाइते भएका छन्।
स्थानीय समयअनुसार आइतवार दिउँसो करिब २ बजे अवतरण गर्ने क्रममा विमान धावनमार्ग कटेर अगाडि पुगेको थियो।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।
बोइङ ७६७-३०० विमानले धावनमार्ग बाहिर रहेका कैयौँ सवारीसाधनलाई ठक्कर दिएको थियो। त्यसपछि विमानमा आगो देखिएको थियो।
दुर्घटनाको प्रारम्भिक सूचना प्राप्त भएपछि करिब २०० जना अग्निनियन्त्रक तत्काल घटनास्थलमा पुगेका थिए।
अधिकारीहरूका अनुसार घाइतेहरूमध्ये तीन जनालाई गम्भीर चोटपटक लागेको छ। घाइतेमध्ये कैयौँ मानिसहरू विमानले ठक्कर दिएका सवारी साधनमा थिए।
एमजनले पनि "स्थानीय प्रशासन र अधिकारीहरूसँग खास के भएको थियो" भन्ने पत्ता लगाउन नजिक रहेर काम गरिरहेको जनाएको छ।
उसले दुर्घटनामा मानिसहरूको ज्यान गुमेको घटनाले स्तब्ध भएको जनाएको छ।
घटना लगत्तै उक्त विमानस्थलबाट सबै उडानहरू रोकिएका थिए।
अमेरिकामा श्रमिक दिवसको छुट्टीको अवसरमा धेरै मानिसहरूले यात्रा गर्ने भएका कारण विमानस्थलहरू व्यस्त रहने गरेका छन्।
अमेरिकाको न्याश्नल ट्रान्स्पोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान गरेपछि मात्रै यसको कारण पत्ता लाग्ने अधिकारीहरूको भनाइ छ।
अग्निनियन्त्रकहरूले आगो निभाइसकेका छन् तर विमानबाट इन्धन चुहावट भइरहेको उनीहरूले बताएका छन्।
फ्लाइट डेटा निगरानी गर्ने वेबसाइट फ्लाइटराडार२४ ले विमान धावनमार्गबाट बाहिर जाँदा २०७ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको देखाएको छ।
उक्त वेबसाइटमा पोस्ट गरिएको ब्लगमा दुर्घटनाको समयमा मायामीमा सामान्य मेघ गर्जन र हुरी बतास चलेको उल्लेख छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।