तुर्कमेनिस्तान 'नरकको द्वार' मा दन्किरहेको आगो निभाउन चाहन्छ

नरकको द्वार
Published

तुर्कमेनिस्तानका राष्ट्रपतिले काराकुम मरुभूमिस्थित 'नरकको द्वार' मा दशकौँदेखि बलिरहेको आगो निभाउने आदेश दिएका छन्।

एउटा विशाल खाडलमा लामो समयदेखि प्राकृतिक ग्यास बल्दा आगो दन्किरहेको देखिन्छ। उक्त खाल्डोलाई स्थानीय भाषामा 'दरबाजा' भनिने गरेको छ।

राष्ट्रपति गुर्बाङ्गुली बर्दिमुखामेडोभले पर्यावरणीय र स्वास्थ्यसम्बन्धी कारणले गर्दा उक्त आगो निभाउन खोजेका हुन्।

उनी देशबाट ग्यास निर्यात बढाउने प्रयासमा छन्।

कहाँ छ नरकको द्वार?

तुर्कमेनिस्तानको ७० प्रतिशत भूभागमा काराकुम मरुभूमि फैलिएको छ। उक्त मरुभूमिको क्षेत्रफल साढे तीन लाख वर्ग किलोमिटर छ।

मरुभूमिको उत्तरमा एउटा विशाल खाडल छ। उक्त खाडल कसरी बन्यो भन्ने स्पष्ट छैन।

तात्कालिक सोभियत सरकारले सन् १९७१ मा काराकुम मरुभूमिमा तेलखानी खोज्ने क्रममा गरेको ड्रिल बिग्रिएर बनेको भन्ने धेरैको धारणा छ।

तर झन्डै ६९ मिटर चौडाइ र ३० मिटर गहिराइको उक्त खाडलमा विगत केही दशकदेखि प्राकृतिक रूपमा बनेको मिथेन ग्यास बलिरहेको छ।

George Kourounis descending into the crater

क्यानडाका अन्वेषक जोर्ज कूरोनिसले सन् २०१३ मा उक्त खाडलभित्र छिरेर त्यसको परीक्षण गरेका थिए।

उक्त खाडल कसरी बन्यो भन्ने कसैलाई थाहा नभएको उनको भनाइ छ।

तुर्कमेनिस्तानका भूगर्भशास्त्रीहरूका अनुसार उक्त विशाल खाडल सन् १९६० को दशकमा उत्पन्न भएको भए पनि १९८० को दशकदेखि मात्र त्यहाँ आगो बल्न थालेको हो।

उक्त स्थान तुर्कमेनिस्तानको एउटा प्रमुख पर्यटकीय गन्तव्य हो।

प्रत्येक वर्ष त्यहाँ ६,००० पर्यटकहरू जान्छन्।

काराकुम मरुभूमिमा उक्त खाडलमा बलेको आगो परबाट पनि देखिन्छ।

नरकको द्वारः दरबाजा खाडलको उत्पत्तिको रहस्य अझै कायम छ
तस्बिरको क्याप्शन, नरकको द्वारः दरबाजा खाडलको उत्पत्तिको रहस्य अझै कायम छ

"राम्रो लाभ लिन सकिने र जनताको हितका लागि प्रयोग गर्न सकिने मूल्यवान् प्राकृतिक स्रोत हामी गुमाइरहेका छौँ," राष्ट्रपतिले भनेका छन्।

उक्त आगो निभाउने उपाय पत्ता लगाउन उनले अधिकारीहरूलाई निर्देशन दिएका छन्।

नरकको द्वार
तस्बिरको क्याप्शन, उक्त स्थान हेर्न पर्यटकहरू जान्छन्

दरबाजा खाडलको आगो निभाउने प्रयास यसअघि पनि नगरिएको हैन।

सन् २०१० मा राष्ट्रपति गुर्बाङ्गुली बर्दिमुखामेडोभले नै विज्ञहरूलाई उक्त आगो निभाउने तरिका खोज्न निर्देशन दिएका थिए।

सन् २०१८ मा राष्ट्रपतिले उक्त खाडललाई औपचारिक रूपमा 'काराकुमको ज्योति' नामकरण गरेका छन्।

नरकको द्वार