उत्तर कोरियाले उच्च पदस्थ अधिकारी पठाउँदै

उत्तर

तस्बिर स्रोत, AFP

Published

शीतकालीन ओलिम्पिक्सका क्रममा दुई देशबीचको तनाव कम हुँदै गएका बेला उत्तर कोरियाले आफ्ना उच्च तहका अधिकारीलाई दक्षिण कोरिया पठाउने भएको छ।

उत्तर कोरियाका आलङ्कारिक राष्ट्रप्रमुख किम यङ-नामले २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने दक्षिण कोरियाली एकता मन्त्रालयले जनाएको छ।

शुक्रवारदेखि उनीहरूले दक्षिण कोरियाको भ्रमण थाल्नेछन्।

शीतकालीन ओलिम्पिक्सको उद्घाटन समारोहमा दुई कोरियाका खेलाडीहरूले एउटै झण्डामुनि 'मार्च' गर्नेछन्।

कूटनीतिक

खेलकुदमा उत्तर कोरियाली सहभागितालाई धेरैले प्योङयाङ्को कूटनीतिक धुर्त्याइँको रूपमा हेरेका छन्।

पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाले बढ्दो अन्तर्राष्ट्रिय दवाब र प्रतिबन्धको सामना गर्दै आएको छ।

उत्तर

तस्बिर स्रोत, Getty Images

महिलातर्फको संयुक्त कोरियाली आइस हकी टोलीले पहिलो खेल आइतवार खेलेको थियो।

स्वीडेनसँगको मैत्रीपूर्ण खेलमा उक्त टोली १-३ ले पराजित भएको थियो।

इमानदारी

किम यङ-नाम उत्तर कोरियाली संसद्का प्रमुख हुन् र विगत चार वर्षमा दक्षिण कोरियाको भ्रमण गर्ने उनी सबैभन्दा उच्च पदस्थ अधिकारी हुनेछन्।

नाम उल्लेख नगर्ने शर्तमा दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लू हाउसका एक अधिकारीले भ्रमणले अन्तर-कोरियाली तनाव अन्त्य गर्ने उत्तर कोरियाली चाहना र उसको इमानदारीलाई दर्शाएको बीबीसीलाई बताए।

किम यङ-नामले अन्य तीनजना अधिकारी र १८ जना सहयोगी कर्मचारी भएको प्रतिनिधिमण्डलको नेतृत्व गर्ने दक्षिण कोरियाली एकता मन्त्रालयले जनाएको छ।

यद्यपि दक्षिण कोरियाको पूर्वी पहाडी क्षेत्र प्युङचाङ्मा शुक्रवार हुने शीतकालीन ओलिम्पिक्सको उद्घाटन समारोहमा किम यङ-नाम सहभागी हुने वा नहुनेबारे उक्त मन्त्रालयले केही बताएको छैन।