तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीनमा लाखौँ डलर घुस लिने फुटबल सङ्घका पूर्वप्रमुखलाई आजीवन जेल
- Author, मारिको ओई
- Role, व्यापार संवाददाता
- Published
चीनको फुटबल सङ्घ सीएफएका पूर्वप्रमुख चेन शुयुआनलाई घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
उनले आठ करोड युआन (झन्डै डेढ अर्ब नेपाली रुपैयाँ) घुस लिएको गत ज्यानुअरीमा स्वीकार गरेका थिए।
चिनियाँ राष्ट्रपति सी जिन्पिङको भ्रष्टाचारविरुद्धको अभियानले खेलकुद, ब्याङ्किङ र सैन्य क्षेत्रमा भएका भ्रष्टाचारमा कारबाही अघि बढाएको छ।
फुटबल क्षेत्रमा मात्रै एक दर्जनजना भन्दा बढी प्रशिक्षक र खेलाडी अनुसन्धानको घेरामा परेका छन्।
मध्यचीनको ह्वाङ्शी प्रान्तस्थित एउटा अदालतमा चलेको मुद्दाका क्रममा चेनले सन् २०१० देखि २०२३ को अवधिमा भ्रष्टाचार गरेको खुलासा भएको थियो।
त्यसअघि शाङ्घाई इन्टरन्याश्नल पोर्ट ग्रूपको अध्यक्ष हुँदा पनि उनी अवैध गतिविधिमा संलग्न भएको प्रमाणित भएको थियो।
आरोप के थियो
अभियोजनकर्ताहरूले विभिन्न परियोजनाको सम्झौता दिलाउन र खेलकुदका कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा दिएबापत चेनले रकम र बहुमूल्य सामग्री लिएको बताएका छन्।
अदालतले उनले चीनको फुटबललाई “ठूलो क्षति” पुर्याएको ठहर गरेको चिनियाँ सरकारी समाचारसंस्था शिन्ह्वाले जनाएको छ।
सरकारी सञ्चारमाध्यमका अनुसार अन्य तीन वरिष्ठ अधिकारी पनि भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन्।
अदालतले मङ्गलवार फैसला सुनाउँदै आठदेखि १४ वर्षको सजाय दिएको छ।
यो वर्षको आरम्भमा चीनको राष्ट्रिय पुरुष फुटबल टोलीका भूतपूर्व मुख्य प्रशिक्षक तथा एभर्टनबाट मध्यपङ्क्तिबाट खेलेका लि ट्येले पनि आफू म्याच-फिक्सिङमा संलग्न भएको र चीनको मुख्य प्रशिक्षक बन्न चेनसहितका पदाधिकारीलाई आफूले घुस दिएको स्वीकार गरेका थिए।
चीनको विदेश मन्त्रालयले शान्दोङ ताइशान क्लबबाट फुटबल खेलेका दक्षिण कोरियाली खेलाडी सन जुन-होलाई पनि घुसकाण्डमा हिरासतमा लिइएको पुष्टि गरेको थियो।
दक्षिण कोरियाको विदेश मन्त्रालयले यसैसाता उनी हिरासतमुक्त भएको बताएको छ।
राष्ट्रपतिको योजनामा धक्का
यसअघि चिनियाँ राष्ट्रपति सीले चीनलाई विश्वका प्रमुख फुटबल खेल्ने राष्ट्रहरूको सूचीमा पुर्याउने महत्त्वाकाङ्क्षी योजना अघि सारेका थिए।
सन् २०११ मा उनले चीन विश्वकपमा फेरि छनोट हुने, आफैँले विश्वकप आयोजना गर्ने अनि एक दिन विजेता बन्ने तीनवटा इच्छा व्यक्त गरेका थिए।
विगतका दशकहरूमा चीनको सुपर लीगका क्लबहरूले विश्वका चर्चित खेलाडीहरूलाई भित्र्याउन ठूलो धनराशि खर्च गरेका छन्।
चिनियाँ लीग खेल्न ब्रजिलका मध्यपङ्क्तिका खेलाडी ओस्कार, आर्जेन्टिनाका अग्रपङ्कतिका पूर्वखेलाडी कार्लोस टेभेज र बेल्जियमका अन्तर्राष्ट्रिय खेलाडी एक्सेल विट्सल पुगिसकेका छन्।
यद्यपि अन्तर्राष्ट्रिय चर्चित खेलाडी भित्र्याएका क्लबहरू ऋणमा डुबे र चीनको फुटबल सङ्घले सन् २०२० मा खेलाडीहरूलाई दिइने अधिकतम पारिश्रमिक सीमा तोकिदियो।
सङ्घले चर्चित विदेशी खेलाडीहरू भित्र्याउनुको सट्टा आफ्नै देशमा प्रतिभाशाली खेलाडी तयार पार्न त्यस्तो निर्णय गरिएको जनाएको थियो।
अहिले चिनियाँ लीगमा निकै कम सङ्ख्यामा अन्तर्राष्ट्रिय खेलाडी छन्।
प्रमुख व्यक्तिहरूको पक्राउ परेकाले फुटबलको विषयमा चीनको महत्त्वाकाङ्क्षामा ठेस लागेको छ।
यस्ता समस्या देखा परे पनि चीनमा फुटबल निकै लोकप्रिय छ। चेन भ्रष्टाचारमा संलग्न भएको काण्ड बाहिरिएपछि चिनियाँ फुटबल समर्थकहरू स्तब्ध भएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।