माथिल्लो त्रिशूली १ को सुरुङमा फसेका चिनियाँ कामदार र बेत्रावतीको घरबाट एक महिलाको जीवितै उद्धार

तस्बिर स्रोत, PMO Nepal
भदौ १० गतेको बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली १को अडिट ४ टनलबाट एक चिनियाँ कामदारको शनिवार जीवितै उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
बाढीका कारण सुरुङभित्र फसेको एघारौँ दिन उनको उद्धार भएको हो। "उनलाई हेलिकप्टरबाट लगेर काठमाण्डूमा उपचार गरिने छ," सेनाका प्रवक्ता राजाराम बस्नेतले बीबीसीसँग भने।
नेपाली सेनाले उनलाई २२५ मिटर सुरुङमा फेला पारिएको र त्यहाँ थप खोजीकार्य जारी रहेको जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपाली सेना र दक्षिण कोरियाको डिजास्टरविज्ञ टोलीले केहीबेर अघि मात्रै उक्त सुरुङबाट उद्धार गरेको हो।
तिब्बत हुँदै भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आएको दशौँ दिन त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङमा यसअघि दुई जनालाई शुक्रवार जीवितै फेला पारिएको थियो।

नेपाल विद्युत् प्राधिकरणका अधिकारीका अनुसार त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङमा अरू कोही बाँकी नरहेको देखिएकाले खोजकार्य शनिवार नै टुङ्ग्याउने सम्भावना छ।
त्यहाँ प्रयोग गरिएका उपकरणहरू त्रिशूली ३बी मा जारी खोजकार्यमा प्रयोग गर्न पठाइएको छ।
बाढी आएपछि विभिन्न आयोजनामा कार्यरत सयौँ मानिसहरू अझै सम्पर्कविहीन छन्।
बेत्रावतीमा एक महिला जीवितै फेला परिन्

तस्बिर स्रोत, APF Nepal
शनिवार नै नुवाकोटको बेत्रावती बजारस्थित एउटा घरमा एक महिला जीवितै फेला परेकी र उनलाई उद्धार गरिएको जिल्ला प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार चण्डिका श्रेष्ठलाई उनकै चारतल्ले घरबाट उद्धार गरेर हेलिकप्टरमार्फत काठमाण्डू लैजाने तयारी गरिएको छ।
यसरी बाहिर आए चिनियाँ कामदार

तस्बिर स्रोत, PMO Nepal

तस्बिर स्रोत, PMO Nepal

तस्बिर स्रोत, PMO Nepal
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।






















