त्रिशूली ३एको सुरुङमा खोजकार्य 'टुङ्ग्याइँदै', उपकरणहरू त्रिशूली ३बी पठाइयो

तस्बिर स्रोत, RSS
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङमा खोजकार्य सम्भवतः शनिवार नै टुङ्ग्याइने संलग्न अधिकारीहरूले बीबीसीलाई बताएका छन्।
त्यहाँ बाढी गएको नौ दिनपछि शुक्रवार दुई जनालाई जीवितै उद्धार गरिएको थियो भने एउटा एउटा शव फेला परेको थियो। नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउतले सुरुङभित्र अरू कोही बाँकी नरहेको देखिएको बताए।
माथिल्लो त्रिशूली ३बी र चिलिमे जलविद्युत् आयोजनामा खोजकार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन्।
शुक्रवार बिहान उद्धार गरिएका सप्तरीका सञ्जय साह र कीर्तिपुरका कबीर महर्जनलाई काठमाण्डूको छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ।
अधिकारीहरूका अनुसार उद्धार गरिएकामध्ये साहको अवस्था सामान्य छ भने महर्जनलाई केही चोटपटक लागेको छ। महर्जनलाई सघन उपचारकक्षमा राखिएको छ।
किन टुङ्ग्याउन लागियो

नेपाल प्रहरी, नेपाली सेना, विज्ञलगायत सम्मिलित खोज तथा उद्धार टोलीमा शनिवार बिहान अहिले भएका कामबारे एउटा समीक्षात्मक छलफल भएको थियो।
"हिजोको उद्धारपछि हामीले अझै छुटेका कोही छन् कि भनेर १२-१३ जनाको टोली फेरि सुरुङभित्र पठायौँ। साढे दुई घण्टाजति खोज गरेर शुक्रवार साँझ त्यो टोली बाहिर निस्कयो," प्राधिकरणका सहप्रबन्धक राउतले भने।
"जहाँजहाँ खोज्नुपर्ने हो ती सबै ठाउँमा हामीले खोजबिन गरिसक्यौँ। तर एक्कासि खोजकार्य बन्द नगरौँ र विद्युत्का कर्मचारी र अरू पीडित परिवारका सदस्यहरूको पनि चित्त बुझोस् भनेर अब अन्तिम एक पटक सुरुङभित्र गएर अहिले खोज्न लागेका हौँ," उनले अगाडि थपे।
अधिकारीहरूका अनुसार १२-१३ जनाको टोलीले तीन घण्टाजति लगाएर अझै कोही जीवित अथवा शव भए नभएको सुनिश्चित गर्ने छ।
"करिब तीन घण्टा लाग्छ। दिउँसो १ बजेसम्म यसलाई हामी टुङ्गो लगाउँछौँ," राउतले अगाडि थपे।
अरू सुरुङमा खोजी जारी

तस्बिर स्रोत, RSS
त्रिशूली ३एको सुरुङभित्र ४०-४२ जना नै हुन सक्ने अनुमानबीच सुरुमा खोज अभियान थालिए पनि पछि पाँच जान मात्रै हुन सक्ने बुझिएको अधिकारीहरूले बताएका थिए।
तीमध्ये दुई जना जीवितै र एक जना मृत अवस्थामा फेला परे। बाँकी दुई जना पनि फेला पर्न सक्छन् कि भनेर शुक्रवार दिउँसोदेखि साँझसम्म फेरि खोजी गरिएको थियो।
"बाढी ठूलो हुने बुझिएपछि सुरुङभित्र रहेका सबै जना निस्कनुभयो। पछाडि परेका ४-५ जना निस्किन सक्नुभएन भन्ने लाग्छ," राउतले भने।
जीवितै उद्धार गरिएका सञ्जय साहले पनि अरू साथीहरूलाई बाहिर निस्किन लगाउँदा आफू निस्किन नपाएको बताएका थिए।
राउतका अनुसार त्रिशूली ३ए को सुरुङभित्र अब मान्छे हुन सक्ने सम्भावना नदेखिएपछि खोजकार्यमा प्रयोग भइरहेका धेरै उपकरणहरू शुक्रवार नै त्रिशूली ३बी आयोजनालाई पठाइसकिएको छ। त्यहाँ अझै खोजकार्य जारी छ।
"उता आवश्यक पर्यो भने जनशक्ति यहीँबाट पठाउने गरी काम भइरहेको छ," उनले भने।
यसैबीच, अस्ट्रेलियाका विख्यात अन्तर्राष्ट्रिय सुरुङविद् आर्नोल्ड डिक्सले यसअघि टाढाबाटै खोजकार्यमा सघाउँदै आएकोमा अब खोजस्थलमै जान लागेको सामाजिक सञ्जालमार्फत् जनाएका छन्।
नेपाली सेना के भन्छ

तस्बिर स्रोत, Reuters
नेपाली सेनाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विवरणअनुसार त्रिशूली ३बीमा सेनाका ८९ जना, गैरसैनिक तीन जना र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एक्स्कभेटरबाट बाटो बनाउन 'बबक्याट'को प्रयोग गरी खन्ने तथा माटो पन्छाउने काम भइरहेको छ।
लाङ्टाङ हाइड्रोमा पनि थप खोज तथा उद्धार जारी छ भने चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले जेनरेटर र 'मड पम्प'को सहायताले लेदो फाल्ने काम गरिरहेको सेनाले जनाएको छ।
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडका सूचना अधिकारी श्रीराज बज्राचार्यले पनि त्यहाँ खोज तथा उद्धारकार्य जारी रहेको बीबीसीलाई बताए।
"आज ड्रोन लिएर त्यहाँ हेलिकप्टर जाँदै छ," उनले भने।
नेपाली सेनाका अनुसार माथिल्लो त्रिशूली १को हाकुस्थित सुरुङमा रहेको पानी फाल्ने काम जारी रहेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















