केही बाँकी छ कि भन्ने आशामा बाढीले पुरेको घर खोतल्दै सर्वसाधारण

- Author, शक्तिमाया तामाङ
- Role, नुवाकोट
- Published
- पढ्ने समय: ४ मिनेट
भोटेकोशी त्रिशूली बाढीले क्षति पुर्याएका र पूर्ण रूपमा पुरेका घरभित्र छिरेर सर्वसाधारणले आफ्ना सरसामान खोज्न थालेका छन्।
त्रिशूली, देवीघाट, ढुङ्गे लगायतका स्थानका पीडितहरूले घरभित्रको लेदो हटाएर सामानहरू निकाल्न थालेका हुन्।
सुरुमा प्रहरीको रोहबरमा मात्र सामान निकाल्न भनिए पनि बचेका सामान चोरी हुन सक्ने डरले स्वयंसेवकहरूको सहयोगमा सामान निकाल्ने प्रयत्न गरिरहेको पीडितहरूले बताए।
समाचार सङ्कलनको क्रममा हामी ढुङ्गे पुग्दा बाढी प्रभावितहरू आफ्नो घर भित्रको लेदो फाल्दै काम लाग्ला जस्तो लागेका सामान जम्मा गर्दै थिए।

विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा भेटरीनरी पसल चलाउँदै आएका दीपक प्याकुरेल र उनकी श्रीमती बाढीले क्षतविक्षत बनाएको पसलका सामानहरू छान्दै थिए।
प्याकुरेलले हिलाम्मे बोरा देखाउँदै भने "बिउका केही प्याक बाँकी रहेछन्। कुखुराको दाना पनि केही भेटियो सुकाउँदा काम लाग्छ कि। मेरो तुप्चेमा रहेको बङ्गुर र कुखुरा फार्म बगायो। विदुरपट्टिको घरमा कागजपत्र र घरायसी सामानहरू भने सुरक्षित छन्।"
अर्का बासिन्दा गणेश शाहीले पनि साथीहरूको सहयोगमा केही सामानहरू निकाल्न सफल भएको बताए। तर छोराको महत्त्वपूर्ण कागजात भने भेट्न सकेनन्।

उनले भने "आमाले वर्षौँदेखि जोगाइराखेको माथिल्लो तलामा रहेको तामा पित्तलका भाँडाहरू, केही गहनाहरू र लत्ता कपडा पाइयो। नागरिकता र पुर्जाहरू गाडीमै रहेकाले सुरक्षित छ। छोराको एसएलसीदेखि ब्याचलरसम्मको मार्कशीट र पासपोर्ट भने भेटिएन। अहिले डोजरले जमेको लेदोहरू पन्छाउँदै आइरहेको छ, केही सामानहरू भेटिन्छ कि भन्ने आशा अझै छ।"
बाढी प्रभावित ढुङ्गेकी सुष्मा तामाङ बाढी आएको दिन घरको छतबाट माथि पाखामा हाम फालेर ज्यान जोगाउन सफल भएको बताउँछिन्।
बाढीले क्षति पुर्याएको घर हेर्नै नसकेको उनले बताइन्।
अरूहरूले सामान निकाल्न थालेको सुनेर परिवारलाई हेर्न पठाउँदा कुनै पनि कागजात, गरगहना र नगद केही नभेटेको उनले बताइन्।
आँसु झार्दै उनले भनिन्, "घर भएको ठाउँमा हेर्नै सक्दिनँ। ज्यानको एक सरो कपडाबाहेक, बाबुको बिमा तिर्न तयार गरेको पैसा, मेरो सिक्री औँठीहरू दराजमा थियो केही छैन। अस्ति बुबा हेर्न जानु भएको थियो। तर केही पाइएन।"

बाटो खुलेपछि रेस्टुरेन्ट हेर्न आउँदा दुई तला पूर्ण रूपमा पुरेको देखेर मन भक्कानिएको ढुङ्गेका होटेल व्यवसायी सुशील श्रेष्ठले बताए।
उनले भने "रेस्टुरेन्ट र भान्छामा भएको केही बाँकी छैन। सामानहरू पूरै बगाएको छ। माथि होटेलको बास बस्ने कोठाहरूको सिरक डस्नाहरू भने जस्ताको तस्तै छ। महत्त्वपूर्ण कागजहरू, नागरिकता, भ्याट बिल, व्यवसायी कारोबार गरेको लेनदेनको हिसाब लेखेर राखेको खाता सबै केही छैन।"
अर्का होटेल व्यवसायी लीला श्रेष्ठको पनि उस्तै व्यथा छ।
उनी भन्छिन्, "हाम्रो धन सम्पत्ति मात्र क्षति भएको हो। अरूको पिडा देखेर मनलाई सम्हाल्ने कोसिस गर्दै छु । धन्न महत्त्वपूर्ण कागजात सुरक्षित नै भेटियो। होटेलका सामानहरू बगाए पनि परिवार सुरक्षित भएकोमा सन्तोक मानेका छौँ।"
विभिन्न स्थानमा चोरीका घटनाहरू बढ्न थालेकाले जोखिमरहित ठाउँहरूमा नेपाली सेना, प्रहरी, विभिन्न सङ्घ संस्थाबाट आएका स्वयंसेवकहरू परिचालन गरी व्यक्तिगत सामानहरू निकाल्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।
उनले जोखिम मोलेर सामान निकाल्न भने जोड नगर्न पीडितहरूलाई सुझाव दिए।
बाढी पहिरोको जोखिम अझै कायम रहेकाले नदी तथा तटीय क्षेत्रमा नबस्न पनि अनुरोध गरिएको छ ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















