तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बीपी राजमार्गमा बर्खाका बेला गाडी चलाउन सरकारले बनाएको योजना
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ३ मिनेट
करिब डेढ वर्षअघि असोजमा आएको अविरल वर्षाका कारण प्रभावित बनेको बीपी राजमार्गको खास गरी रोशीखोलाआसपासको भागमा बर्खाका बेला गाडी गुडाउन मिल्ने गरी योजना बनाएको सडक विभागका महानिर्देशकले बीबीसीलाई बताएका छन्।
सोमवार उक्त खोलामा बाढी आएकै बेला माइक्रोबस गुडाउँदा फसेका ८९ जना यात्रुहरूलाई विभिन्न सुरक्षा निकायहरूको संयुक्त प्रयासमा राति १ बजेसम्म खटिएर उद्धार गर्नुपर्ने अवस्था आएको पृष्ठभूमिममा सरकारले त्यस्तो योजना सुनाएको हो।
"अहिले हामी एक महिनाजति मात्र खोलाको डाइभर्शनबाट चलाउँछौँ। त्यसपछि पुरानै अलाइन्मन्ट भएको ठाउँमा गाडी चलाउन मिल्ने गरी काम गरिरहेका छौँ," महानिर्देशक विजय जैसीले भने। "मुख्य वर्षायाममा यात्रा अवरोध नहुने गरी मुख्य सडकमै गाडी गुडाउन सकिने गरी काम भइरहेकाले खोलाको डाइभर्शनबाट यतिखेर गाडी कुदाइने गरिएको हो।"
महानिर्देशक जैसीले त्यस बेलासम्म सडक पक्की हुने काम सकिहाल्ने नभए तापनि त्यसमा गाडी कुदाउन भने सकिने बताउँछन्।
"हुन त खोलाको डाइभर्शन हुँदा हामीले मौसम विज्ञान विभागसँग समन्वय गरेर आवश्यक समयमा रोक्ने गर्थ्यौँ। तर सोमवार अटेर गर्दा त्यस्तो अवस्था आएको थियो।"
सुरक्षाको चिन्ता
मङ्गलवार जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले एक सूचना जारी गरी साँझ ५ देखि बिहान ५ बजेबीचको अवधिमा उक्त राजमार्गको खुर्कोट-भकुन्डेबेसी खण्डमा सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाइएको जनाएको छ ।
"खास गरी काभ्रेको कटुन्जेबेसी र सिन्धुलीको नेपालथोकबीचमा पुर्ननिर्माणका काम भइरहेका छन्। त्यहाँ हामीले सर्वसाधरणको सुरक्षाका लागि यस सूचना जारी गरेका हौँ," काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने।
"त्यो करिब २८ किलोमिटर लामो खण्डमा कुनै बेला खोला, कुनै बेला बाटो गर्दै ओहोरदोहोर गर्नुपर्ने बाध्यता हुन्छ। त्यस्तोमा कुनै बेला गाडी बिग्रिएमा त्यो बनाएर पास हुनुअगावै बाढी आइहाल्ने जोखिम रहन्छ।"
अब थप एक महिना समय पाएमा अहिले खोलाछेउका आधाजसो बिग्रेको सडक मर्मत गर्ने काम सकिने आशा रहेको विभागका महानिर्देशक जैसी बताउँछन्।
नेपालमा सामान्यत: मध्यजेठबाट सुरु हुने मनसुन मध्यअसोजसम्म रहने गरेको पाइन्छ।
प्रजिअ अधिकारी थप्छन् : "हामीलाई सडक विभागबाट आउँदो वर्षामा पुरानै मूलबाटोबाट गाडी गुडाउन सकिने जानकारी दिइएको हो। त्यसको अपडेट त्यतिबेलै थाहा होला। तर हाम्रो नयाँ सूचना अर्को सूचना जारी नहुँदासम्मका लागि हो।"
डेढ वर्षमा काम सकिने आशा
परम्परागत रूपमा भित्तो काटेर नभई पर्खाल उठाएर बनाइएको सडक मार्ग जापान सरकारको सहयोगमा झन्डै दुई दशक लगाएर निर्माण गरिएको हो।
डेढ वर्षअघिको बाढी र पहिरोका कारण १५८ किलोमिटर लामो उक्त राजमार्गको झन्डै नौ किलोमिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको र अन्य खण्डहरू समेत गरेर करिब २५ किलोमिटर लम्बाइमा काम भइरहेको सडक विभागले जनाएको छ।
"त्यसमा करिब तीन किलोमिटर खण्ड जाइका [जापान अन्तर्राष्ट्रिय सहयोग नियोग]ले काम गर्ने सम्झौता भएबमोजिम वहाँहरूले ठेक्का लगाएर त्यसका ठेकेदारहरू नेपाल आइसकेको अवस्था छ। नेपाली ठेकेदारले जिम्मा लिएका बाँकी भागमा छसात महिनायता काम भइरहेको अवस्था छ," जैसी भन्छन्।
"कुल काममध्ये अहिलेसम्म पाँच भागको एक भागजति प्रगति हुनुलाई सन्तोषजनक मान्न सकिन्छ। अहिले हामी सबैभन्दा बढ्ता बाटो बिग्रेको खण्डमा काम गरिरहेका छौँ। अहिलेसम्म हामीले तलको सतह सुरक्षित गरेर त्यसलाई एउटा तहसम्म उठाइसकेका छौँ।"
अधिकारीहरूले सुरुवाती योजनाबमोजिम अबको डेढ वर्षमा पुनर्निर्माणको काम पूरा गर्ने अपेक्षा गरिएको बताएका छन्।
जापान सरकारको सहयोगमा यस सडक पूर्ण रूपमा सञ्चालनमा आएको एक दशकमै यति ठूलो आकारको क्षति बेहोरेको हो।
सञ्चालनमा आएको केही महिनामै यसअघि २०७२ सालको भूकम्पको मारसमेत यस बाटोले खेपेको थियो।
धेरैतिर नदी र पहाडछेउमा थोरै मात्र काटेर पर्खाल उठाउने ढाँचामा बनाइएको यस बाटो प्रतिकिलोमिटर निर्माणको लागत निकै उच्च रहेकोमध्येमा पर्छ।
जैसीको थप भनाइ छ : "प्रिमनसुनमै धेरै पानी पर्न थालेपछि यतिखेर समस्या भएको हो। तर भित्तोतिर उठाइँदै गरेका सडकमा गाडी चलाउन दिन थालेपछि समस्या हुँदैन।"
रणनीतिक सडक
काठमाण्डूलाई पूर्वी क्षेत्रसँग जोड्ने छोटोमध्येको यो सडक खण्डमा २०८० साल असोज अन्तिमको बाढीले क्षति पुर्याउँदा यात्रा अवधि बढ्नुका साथै त्यो अनिश्चित र सकसयुक्त हुनेगरेको यात्रुहरूको गुनासो रहने गरेको छ।
अधिकारी तथा विज्ञहरू जटिल भूभागमा बनाइएको सडकको उल्लेख्य लम्बाइ अन्तर्राष्ट्रिय मापदण्डको दुई लेनभन्दा पनि कम भएकाले त्यसलाई मुख्य राजमार्गभन्दा पनि कृषि सडकका रूपमा व्याख्या गर्ने गर्छन्।
सोही जटिलताकै कारण पनि पुर्निर्माणमै बीपी राजमार्गलाई साढे आठ अर्ब रुपैयाँ बजेट आवश्यक देखिएपछि सरकारले त्यसलाई अनुमति दिएको हो।
"मध्यपूर्वमा देखा परेको सङ्कटले लागत बढिरहेको र सामग्रीको अभाव हुन थालेको ठेकेदारहरूको गुनासो आउन थालेको छ। त्यसको मूल्याङ्कन समयक्रममा होला। अहिलेलाई भने समयमै यस सडकको काम सक्ने हाम्रो जोड छ," सडक विभागका महानिर्देशक विजय जैसीले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।