सुधन गुरुङलाई फेरि गृहमन्त्री बनाउने प्रधानमन्त्री वालेन्द्र शाहको निर्णय

तस्बिर स्रोत, NurPhoto via Getty Images
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
डेढ महिनाअघि गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङलाई फेरि सोही पदमा फर्काउने निर्णय प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले गरेको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।
गुरुङलाई मन्त्री पदको शपथका निम्ति राष्ट्रपतिको कार्यालयलाई व्यवस्था मिलाउन भनिएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले बीबीसी न्यूज नेपालीलाई बताइन्।
"[मन्त्रीमा नियुक्त गर्ने] प्रधानमन्त्रीज्यूको सिफारिस हो," बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।
मङ्गलवार नै गुरुङको शपथ हुने विवरणहरू आएका छन्। तर पुनर्नियुक्तिपछि राष्ट्रपतिले उनलाई कति बेला शपथ गराउँछन् भन्ने स्पष्ट हुन बाँकी छ।
गुरुङको सम्पत्ति छानबिनबारे गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको केही दिनपछि प्रधानमन्त्री शाहले उनलाई फेरि गृहमन्त्रीमै फर्काउने निर्णय गरेका हुन्। प्रधानमन्त्रीको निर्णयभन्दा पहिलादेखि नै गुरुङलाई फेरि गृहमन्त्रीमा फर्काउन लागिएको चर्चा हुँदै आएको थियो।
प्रतिवेदन बुझ्ने मन्त्रिपरिषद्को निर्णय

तस्बिर स्रोत, PM Secretariat
मङ्गलवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले भने गुरुङको नियुक्तिका विषयमा बोलेनन्।
यद्यपि उनले छानबिन समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय भएको बताए।
सरकारले गठन गरेको अच्युतमप्रसाद भण्डारी संयोजकत्वको छानबिन समितिले गत शुक्रवार प्रतिवेदन बुझाएको थियो।
बीबीसीसँग कुरा गर्दै भण्डारीले प्रमाणअनुसार गुरुङको सम्पत्ति सम्बन्धमा आफूहरूले "वस्तुगत निचोड" निकालेको बताएका थिए।
जनताले पनि थाहा पाऊन् भनेर अध्ययन प्रतिवेदन जतिसक्दो छिटो सार्वजनिक गर्न आफूहरूले सरकारलाई आग्रह गरेको उनले बताउँदै आएका छन्।
राजीनामाको नालीबेली

तस्बिर स्रोत, EPA/Shutterstock
आफ्नो सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि "नैतिकताको आधार" मा भन्दै गुरुङले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए। मन्त्री बनेको २७औँ दिनमा उनले राजीनामा दिएका थिए।
गोरखा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित गुरुङले "आफूसँग सम्बन्धित विषयको निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्नका लागि" राजीनामा दिएको सामाजिक सञ्जालमार्फत् बताएका थिए।
प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' को नेतृत्वमा मन्त्रिपरिषद् गठन भएकै दिन गुरुङ गृहमन्त्रीमा नियुक्त भएका थिए।
गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएपछि उनको आय र लगानीको स्रोतबारे विभिन्न प्रश्न उठेको थियो।
सम्पत्ति विवरणमा नखुलाइएको शेअर लगानीको स्रोतसहितका विषयमा प्रश्न उठेपछि गुरुङ, प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको शीर्ष नेतृत्व दबावमा परेका थिए।
वर्तमान मन्त्रिपरिषद्बाट हट्ने गुरुङ दोस्रा व्यक्ति थिए। त्यसअघि आफ्नी पत्नीले लिएको नियुक्तिसँग जोडिएको एउटा विवादका कारण दीपककुमार साह श्रममन्त्री बनेको दुई सातामै पदबाट हट्नुपरेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















