शान्ति प्रक्रिया ठप्प हुँदा इरानको निम्ति समय घर्किँदै गएको ट्रम्पको चेतावनी

ट्रम्प

तस्बिर स्रोत, Reuters

    • Author, एला किपलिङ
  • Published
  • पढ्ने समय: २ मिनेट

युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समय घर्किँदै गएको भन्दै इरानलाई चेतावनी दिएका छन्।

"तिनीहरू छिटो अघि बढ्नु राम्रो हुन्छ, नत्र उनीहरूको निम्ति केही पनि बाँकी रहने छैन," उनले आफ्नो ट्रुथ सोसलमा लेखेका छन्, "कुनै पनि कुराको समय हुन्छ!"

राष्ट्रपति ट्रम्पले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुसँग कुराकानी गर्दै छन्।

इरानका सञ्चारमाध्यमले युद्ध अन्त्यका लागि तेहरानले पठाएको पछिल्लो प्रस्तावबारे कुनै मूर्त धारणा दिन अमेरिकाले विफल भएको जनाएका छन्।

वाशिङ्टनबाट सम्झौतामा लचिलोपना नदेखाइएमा त्यसले 'वार्तालाई गतिरोध'तर्फ डोर्‍याउने अर्धसरकारी समाचार एजेन्सी मेहर न्यूज एजेन्सी मेहरले उल्लेख गरेको छ।

'स्ट्रेट अफ होर्मुजमा इरानी सार्वभौमिकता'

पानी जहाज

तस्बिर स्रोत, Amirhossein KHORGOOEI / ISNA / AFP via Getty Images

ट्रम्पको पछिल्लो सन्देशले एप्रिलको सुरुमा युद्ध विराम घोषणा हुनुभन्दा केही समयअघि इरान युद्ध अन्त्यको निम्ति सम्झौता गर्न तयार नभएमा "सम्पूर्ण सभ्यता" नै समाप्त हुने भनी दिएको उनको धम्कीलाई प्रति ध्वनित गरेको ठानिएको छ।

गत हप्ताको सुरुमा तेहरानको माग "पूर्ण रूपमा अमान्य" भन्दै अस्वीकार गरेका राष्ट्रपति ट्रम्पले युद्धविराम "व्यापक लाइफ सपोर्ट"मा पुगेको चेतावनी दिएका थिए।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्मेल बागेईले आफूहरू "जिम्मेवार र उदार" रहेको बताएका छन्।

इरानको अर्ध-आधिकारिक समाचार एजेन्सी तस्निमका अनुसार, तेहरानले सबै मोर्चाहरूमा जारी युद्धको तत्काल अन्त्य हुनुपर्ने प्रस्ताव पठाएको छ।

जसमा लेबनानमा इरान-समर्थित हिज्बुल्लाहबिरूद्ध इजरेली आक्रमण र इरानी बन्दरगाहहरूमा अमेरिकी जल सेनाको नाकाबन्दी अन्त्य तथा इरानमा थप आक्रमण नहुने सुनिश्चितता हुनुपर्ने विषय समावेश छन्।

उनीहरूले युद्धमा भएको नोक्सानीको क्षतिपूर्ति माग र स्ट्रेट अफ होर्मुजमा इरानी सार्वभौमिकतामा पनि जोड दिएका छन्।

अमेरिकाको पाँच सर्त?

ट्रम्प

तस्बिर स्रोत, Reuters

इरानको अर्धसरकारी समाचार एजेन्सी फार्सले "तेहरानको प्रस्तावको जवाफमा वाशिङ्टनले पाँच वटा सर्त राखेको" आइतवार जनाएको छ।

त्यसमा इरानले एउटा मात्र परमाणु केन्द्र सञ्चालनमा राख्ने र अत्यधिक समृद्ध युरेनियमको भण्डार अमेरिकालाई हस्तान्तरण गर्ने कुरा समावेश गरिएका छन्।

ट्रम्पले शुक्रवार दुई देशबीच निकै तीव्र विवादको विषय बनेको इरानको परमाणु कार्यक्रमबारे केही परिवर्तित धारणा व्यक्त गरेका थिए।

इरानद्वारा २० वर्षका लागि आफ्नो परमाणु कार्यक्रम निलम्बन आफूलाई स्वीकार्य हुने उनको भनाइले यसअघि त्यो पूर्ण रूपमा समाप्त हुनुपर्ने उनको अडानमा परिवर्तनको सङ्केत गरेको छ।

इजरेली र अमेरिकी सेनाले फेब्रुअरी २८ तारिकमा इरानमाथि ठूलो हवाई आक्रमण सुरु गरेका थिए।

यदाकदा भएका आक्रमण-प्रत्याक्रमण छाडेर वार्तालाई सहज बनाउन गरिएको युद्धविराम धेरै हदसम्म लागु भएको देखिएको छ।

इरानले स्ट्रेट अफ हर्मुजमाथिको आफ्नो नियन्त्रण जारी राखेको छ, जसले विश्वको २० प्रतिशत इन्धन र तरलीकृत प्राकृतिक ग्याँस आपूर्ति हुने महत्त्वपूर्ण जलमार्ग व्यापक रूपमा बन्द गरेको छ।

इरानले अमेरिका र इजरेली आक्रमणको बदलामा उक्त कदम चालिएको बताएको छ जसले गर्दा विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेको छ।

अमेरिकाले आफ्ना सर्तहरूमा सहमति जनाउनका निम्ति तेहरानमाथि दबाव दिन इरानका बन्दरगाहहरूमा नाकाबन्दी लगाउँदै आएको छ।

पाकिस्तानले अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ तर दुवै पक्ष अझै पनि निकै टाढा देखिन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।