एक अर्काविरुद्ध आक्रमण रोकेका इजरेल र इरानद्वारा युद्धविराम उल्लङ्घन भए प्रत्याक्रमण गर्ने चेतावनी

इरानी बलिस्टिक क्षेप्यास्त्र

तस्बिर स्रोत, Reuters

Published
पढ्ने समय: ४ मिनेट

युद्धविराम चलिरहँदा गोलाबारीमा उत्रिएका इरान र इजरेलले एक अर्काविरुद्धका आक्रमण रोकेको बताएका छन्।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो देशले "अहिलेका लागि" आक्रमण रोकेको सोमवार बताए। तर उनले इरान र हिज्बुल्लाहविरुद्ध सङ्घर्ष "समाप्त नभएको" बताएका छन्।

इजरेली प्रधानमन्त्रीको घोषणाअघि इरानको सशस्त्र बलले इजरेलमाथिको कारबाही रोकिएको बताएको थियो। तर इजरेलले लेबनन सहितका स्थानमा थप आक्रमण गरे "थप कडा" कदम चाल्ने चेतावनी इरानी सेनाले दिएको छ।

इरान–समर्थित हिज्बुल्लाहलाई लक्षित गर्दै तेहरानबाट बेरुतमा आइतवार गरिएको आक्रमणको प्रतिवादमा इरानले इजरेलतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो।

इरानबाट भएको क्षेप्यास्त्र प्रहारको बदलामा इजरेलले सोमवार बिहानै इस्लामिक गणतन्त्रका सैन्य संरचनालाई निशाना बनाएर आक्रमण गर्‍यो।

ट्रम्पको आग्रहअघि नै प्रहार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बीबीसीसँग कुरा गर्दै नेतन्याहूले आफ्नो चाहना विपरीत आक्रमण गरेको दाबी सही नभएको बताए।

आफूले तेहरानको आक्रमणमा कुनै प्रतिक्रिया नजनाउन भन्नुअघि नै इजरेली क्षेप्यास्त्रहरू प्रक्षेपण भइसकेको ट्रम्पले बताए।

"त्यस्तो होइन। ती पहिले नै छुटिसकेका थिए। बाटोमै पुगिसकेका थिए," उनले भने।

सङ्कटको विषयमा ट्रम्पले नेतन्याहूसँग कुरा गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ। एक जना इजरेली अधिकारीका अनुसार ट्रम्पको आग्रहमा इजरेलले आक्रमण रोकेको हो।

इरानमाथि आक्रमण रोक्न नेतन्याहूलाई मनाएकोबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, "मैले यति मात्र भनेँ, 'हामीले विवेक प्रयोग गर्नुपर्छ।' हामी एकदमै शक्तिशाली, एउटा राम्रो सम्झौतामा हस्ताक्षरको नजिक पुगेका छौँ।"

ट्रम्पले आफ्नो आग्रह नेतन्याहूले मान्ने गरेको बताएका छन्।

अमेरिकी मिडिया आउटलेट एक्सिअस सँगको कुराकानीमा ट्रम्पले इरानसँग इजरेलले फेरि युद्ध सुरु गरे त्यस्तो युद्ध उसले एक्लै लड्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।

"मैले भनेको छु, 'बिबी (बेन्जमिन), होस गर नभए तिमी एक्लै पर्ने दिन छिट्टै आउन सक्छ,'" एक्सिअसले ट्रम्पको भनाइ उद्धृत गर्दै लेखेको छ।

नेतन्याहूले सोमवार टेलिभिजनमार्फत् एक वक्तव्य दिँदै आफूले ट्रम्पलाई "इजरेलसँग आत्मरक्षाको पूर्ण अधिकार छ र आवश्यक परेको अवस्थामा आफूले त्यसको प्रयोग गरिरहेको" जबाफ दिएको बताएका छन्।

कहाँकहाँ आक्रमण भए

इजरेलले गरेको भनिएको आक्रमणको हवाई तस्बिर

तस्बिर स्रोत, IDF handout via Reuters

इजरेल र इरानबीच आइतवार सुरु भएको गोलाबारी सोमवार बिहानसम्म चलेको थियो। इरानले जेरुसलेम र इजरेलका केन्द्रीय तथा दक्षिणी क्षेत्रतर्फ क्षेप्यास्त्र प्रहार गरेको इजरेली अधिकारीहरूले बताएका छन्।

इजरेल डिफेन्स फोर्स (आईडीएफ) ले इरानको दक्षिण–पश्चिमी सहर माह्श्‌रको एउटा पेट्रोकेमिकल केन्द्रमा दोस्रो चरणको हवाई आक्रमण गरिएको जनाएको छ। एक जना इजरेली सैन्य अधिकारीका अनुसार यो स्थानमा बलिस्टिक क्षेप्यास्त्रका लागि आवश्यक रसायन उत्पादन गरिन्छ।

इरानको आपत्कालीन निकायका प्रमुखले तस्नीम समाचार संस्थालाई माह्श्‌रमा भएको आक्रमणमा १४ जना र तेहरानको आक्रमणमा थप एक जना घाइते भएको बताएका छन्।

लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार दक्षिणी लेबननको टायरमा इजरेली आक्रमणमा पाँच जनाको मृत्यु भएको छ। घटनामा आठ जना घाइते भएका छन्। रेडक्रसले घाइतेमध्ये चार जना आफ्ना उद्धारकर्मी रहेको जनाएको छ।

हिज्बुल्लाहले पनि सोमवार बिहान दक्षिणी लेबननमा इजरेली सेना र सैन्य सवारी साधनमाथि रकेट प्रहार गरिएको बताएको छ।

गएको फेब्रुअरी २८ मा इजरेल र अमेरिकाले इरानमाथि आक्रमण गरेर सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईसहितका उच्च अधिकारीहरूको हत्या गरेपछि इरान युद्ध सुरु भएको थियो। लगत्तै इरानले इजरेल सहित अमेरिकी सैन्य पूर्वाधारहरू राख्न दिएका खाडी देशहरूमा आक्रमण सुरु गरेपछि यो युद्ध मध्यपूर्वभरि फैलिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।