तिब्बतमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु, कैयौँ घाइते

Published
पढ्ने समय: २ मिनेट

तिब्बतको हिमाली क्षेत्रमा ७ म्याग्निट्यूडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन्।

प्रारम्भिक रूपमा ६५ जना घाइते भेटिएका उक्त क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरिएको छ।अधिकारीहरूले सङ्कटकाल घोषणा गरेका छन्।

सन् १९५० को दशकमा चीनले तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँको सूचना प्रवाहमा कडा नियन्त्रण छ। त्यसैकारण सरकारी सञ्चारमाध्यमहरू नै प्रायः सूचनाको एक मात्र स्रोत हुने गरेका छन्।

स्थानीय आपत्कालीन व्यवस्थापन ब्यूरोलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार बिहीवार राति नाग्चु क्षेत्रको बाकेन काउन्टी भूकम्पको केन्द्रविन्दु बनेको थियो।

उद्धार तथा अन्य कार्यका लागि सि जिनपिङको निर्देशन

राष्ट्रपति सि जिनपिङले तिब्बतमा आएको भूकम्पपछि व्यापक उद्धार अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्।

सरकारी सञ्चारमाध्यममार्फत जारी वक्तव्यमा राष्ट्रपति सिलाई उद्धृत गर्दै भनिएको छ: "भूकम्पमा पुरिएका तथा फसेका व्यक्तिहरूको खोजी र उद्धारका लागि पूर्ण क्षमताका साथ प्रयास गर्नुपर्छ, घाइतेहरूको उपचार सुनिश्चित गर्नुपर्छ र मानवीय क्षतिलाई न्यूनतम बनाउनुपर्छ।"

सि जिनपिङले आपत्कालीन उद्धार सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाउन, विस्थापित बासिन्दाहरूको सुरक्षित स्थानान्तरण तथा पुनर्स्थापना गर्न, क्षतिग्रस्त पूर्वाधारको मर्मत गर्न र जनधनको सुरक्षाका लागि प्रभावकारी उपाय अपनाउन पनि निर्देशन दिएका छन्।

यो काउन्टी तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर पूर्वोत्तरमा पर्छ।

भूकम्पका कारण ३०० भन्दा बढी घरहरू भत्किएका छन्।

अधिकांश क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको बताइएको छ।

उद्धार टोलीले भग्नावशेष खोतल्दै

चीनको सरकारी टेलिभिजन सीसीटीभी ले सार्वजनिक गरेका भिडियोहरूमा उद्धारकर्मीहरू रातभरि भग्नावशेष भित्र जीवित व्यक्तिहरूको खोजी गरिरहेको देखिएको छ।

प्रभावित क्षेत्रहरू उच्च पहाडी तथा दुर्गममा रहेका कारण केही स्थानमा पुग्न मुश्किल भइरहेको बताइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।