होर्मुजमा अलपत्र परेका नाविकहरूको उद्धार गर्ने संयुक्त राष्ट्रसङ्घको तयारी

होर्मुज जलमार्ग

तस्बिर स्रोत, Reuters

Published
पढ्ने समय: ३ मिनेट

अमेरिका र इजरेलले इरानविरुद्ध सुरु गरेको युद्धका कारण खाडी क्षेत्रमा अलपत्र परेका ११,००० भन्दा बढी नाविकहरूको संयुक्त राष्ट्रसङ्घीय निकायले उद्धार गर्ने तयारी गरेको छ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आईएमओ)का महासचिवले इरान, ओमान, अमेरिका सहितका अन्य तटीय राष्ट्र र समुद्री उद्योगहरूसँगको सहकार्यमा ठूलो स्तरको उद्धार कार्य सञ्चालन गरिने बताएका छन्।

उनले त्यसका लागि आवश्यक सुरक्षा सुनिश्चितता कायम गरिएको बताए।

गत साता अमेरिका र इरानबीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै मध्यपूर्वको युद्ध रोकिएको छ। तर अन्तरिम सम्झौताका विवरणबारे दुई पक्षबीच अझै मतभेद जारी छ।

इरानको परमाणु अस्त्र कार्यक्रम अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को निगरानीमा राखिने सुनिश्चितता समझदारीपत्रमा समावेश भएको अमेरिकी दाबी छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार सामाजिक सञ्जालमा पोस्ट गर्दै "इरानले पूर्ण स्तरमा र दीर्घकालीन रूपमा उच्चस्तरीय आणविक निरीक्षण स्वीकार गरेको" उल्लेख गरेका छन्। त्यसले आणविक पारदर्शिता सुनिश्चित गर्ने ट्रम्पको दाबी छ।

तर ट्रम्पले उक्त पोस्ट गर्नुभन्दा केही समयअघि मात्रै इरानले राष्ट्रसङ्घीय निकायले गत वर्ष अमेरिका र इजरेलले बमबारी गरेका परमाणु स्थलहरूको निरीक्षण गर्न नसक्ने जनाएको थियो।

यसको जबाफमा एक जना अमेरिकी अधिकारीले इरानले आईएईएको निगरानी स्वीकार गरेको र इरानी अधिकारीहरूको भनाइ आन्तरिक खपतका लागि मात्रै भएको हुन सक्ने बताएका छन्।

मार्को रुबिओ

तस्बिर स्रोत, Reuters

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले मङ्गलवार पाकिस्तान भ्रमणका क्रममा इरानले "आफ्नो प्रतीरक्षा क्षमताबारे कुनै पनि परिस्थितिमा र कसैसँग पनि वार्ता नगर्ने" बताएका थिए।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पेजेस्कियानसँग संयुक्त पत्रकार सम्मेलन गरेका थिए। त्यहाँ शरीफले बलिस्टिक क्षेप्यास्त्रको विषयमा अमेरिका र इरानबीच छलफल नभएको र त्यो विषय "एजेन्डामै नभएको" बताए। वार्ताको मध्यस्थता गरेका शरीफका अनुसार समझदारीपत्रमा पनि यसबारे केही उल्लेख छैन।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले संयुक्त अरब एमिरेट्सबाट खाडी क्षेत्रको भ्रमण सुरु गरेका छन्। मङ्गलवारबाट भ्रमण सुरु गरेका उनले कुवेत र बाहरेन पनि भ्रमण गर्ने योजना छ। यी देशहरूमा अमेरिकी सैन्य अखडाहरू छन्। उनले यो भ्रमणका क्रममा तेहरानसँगको सम्झौताबारे छलफल गर्ने ठानिएको छ।

इरानले होर्मुज जलमार्गमा जहाजहरूबाट शुल्क उठाउने प्रयास गरिरहेको विवरणमाझ रुबिओले कुनै देशले उक्त जल क्षेत्रमा शुल्क लगाउन नपाउने चेतावनी दिएका छन्।

"यो अन्तर्राष्ट्रिय जलमार्ग हो। यहाँ कुनै देशले शुल्क लगाउन पाउँदैन। यो अन्तर्राष्ट्रिय कानुन हो," यूएई पुगेपछि उनले भने।

"यस विषयमा हामीले कसैलाई फकाउनु पर्छ जस्तो मलाई लाग्दैन। यो क्षेत्रका सबै राष्ट्रहरू हाम्रो कुरामा सहमत हुन्छन् भन्ने मलाई लाग्छ।"

अलपत्र परेका नाविकहरूको उद्धार कार्य समेत होर्मुज जलमार्ग खुल्ने विषयमा निर्भर छ।

आईएमओका महासचिवले यो अभियानलाई "समुद्री सुरक्षा पुन: कायम गर्ने र गैर सैनिक जहाजमाथि भइरहेका स्वीकार्न नसकिने आक्रमण अन्त्य गर्ने दिशामा महत्वपूर्ण कदम" बताएका छन्।

आईएमओको उद्धार योजनाअनुसार होर्मुज जलमार्गका दुई वटा अस्थायी मार्ग प्रयोग गर्न सकिने अवस्थामा छन्। जहाजहरूलाई थप निर्देशन आवश्यक परे हरेकलाई खबर गरिने उद्धार योजनामा उल्लेख छ।

फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु भएपछि इरानले होर्मुज जलमार्ग बन्द गरेसँगै कैयौँ नाविकहरू अलपत्र परेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।