तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गाजामा ट्रम्पको १५ बुँदे योजना इजरेलले अस्वीकार गरेको नेतन्याहूको भनाइ
- Author, जोन डोनिसन र जर्ज राइट
- Published
- पढ्ने समय: ४ मिनेट
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हमास "साँच्चिकै" निःशस्त्र नभएसम्म गाजाबाट आफ्नो सेना फिर्ता नआउने भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे योजना अस्वीकार गरेका छन्।
ट्रम्पको बोर्ड अफ पीसले गाजामा सञ्चालित हमास र अन्य सशस्त्र समूहहरूको "पूर्ण निःशस्त्रीकरण" सम्बन्धी सहमति भएको गत महिना जनाएको थियो।
तर इजरेलले "सबै प्रकारका आक्रमण" अन्त्य गरी गाजाबाट उसका सेना फिर्ता गरेपछि मात्र आफ्ना ठूला हतियार हस्तान्तरण गरिने हमासले बताएको थियो।
गत अक्टोबरमा प्रारम्भिक युद्धविरामका लागि सहमति जनाएपछि पनि इजरेलले गाजामा आक्रमण जारी राखेको छ।
"इजरेल त्यो १५ बुँदे दस्तावेज अस्वीकार गर्छ," नेतन्याहूले आइतवारको मन्त्रिपरिषद् बैठकमा भने।
उनले हमासलाई वास्तविक रूपमा निःशस्त्र नबनाएसम्म इजरेली सेना फिर्ता नहुने र आफ्ना नागरिकहरूमाथि हुने खतराहरूलाई रोक्न निरन्तर काम गर्ने बताएका छन्।
हमासका एक अधिकारीले आइतवार बीबीसीसँग कुरा गर्दै आफूहरू सम्झौताप्रति "पूर्ण प्रतिबद्ध रहेको" बताएका छन्। उनले १५ बुँदे योजना कार्यान्वयन गर्न आफूहरू "गम्भीर र जिम्मेवार भएर काम गर्न" तयार रहेको दोहोर्याए।
सबै पक्षबाट आफ्ना प्रतिबद्धता पालना भएको निश्चित गर्न उनले मध्यस्थकर्ताहरूलाई आग्रह गरेका छन्।
ट्रम्पको योजनामा धक्का
इजरेलले अस्वीकार गरेसँगै ट्रम्पले गत वर्षको सेप्टेम्बरमा अघि सारेको गाजा शान्ति योजनामा अर्को धक्का पुग्ने सङ्केत देखिएको छ।
उक्त योजनामा हमाससँगको सम्झौता कार्यान्वयन भए नभएको अनुगमनका लागि बोर्ड अफ पीस गठन गर्ने, हमासलाई निःशस्त्र बनाउने, गाजाबाट इजरेली सेना फिर्ता गर्ने र गाजाको पुनर्निर्माण गर्ने सहितका विषय समावेश थिए।
नेतन्याहूको पछिल्लो भनाइ अप्रत्याशित रूपमा आएको चाहिँ होइन।
तर उनले यस्तो प्रतिक्रिया दिन समय लगाउनु पछाडि चाहिँ केही कारण हुन सक्छ। सम्भवतः यसले उनले सामना गरिरहेको जटिल राजनीतिक अवस्था झल्काउँछ।
उनी ट्रम्पको योजनाप्रति सन्तुष्ट नरहेको यसअघिबाटै प्रस्ट देखिन्छ। तर उनी आफ्नो सबैभन्दा निकट सहयोगी अमेरिकालाई पनि असन्तुष्ट बनाउन चाहँदैनन्।
इजरेलले गाजाबाट सेना फिर्ता गर्ने सर्तमा हमासले पहिलो पटक निःशस्त्र हुन स्वीकार गरेको भन्दै ट्रम्पले एक साताअघि यसलाई "दिगो शान्ति र सुरक्षातर्फको ऐतिहासिक कदम"को रूपमा अर्थ्याएका थिए।
आइतवार नेतन्याहूले स्पष्ट रूपमा आफ्नो नेतृत्वमा त्यो काम हुन नसक्ने बताए। त्यसका लागि पहिले हमास अस्त्रविहीन हुनुपर्ने र त्यो "काल्पनिक" नभई वास्तविक हुनुपर्ने उनको भनाइ छ।
व्यवहारमा हमासलाई निःशस्त्र बनाउने काम र इजरेली सेनाको फिर्ती प्रक्रिया दुवै काम चरणबद्ध हुने सम्भावना छ।
अब के गर्ने भन्नेबारे आफूले अमेरिकी अधिकारीहरूसँग छलफल गरिरहेको नेतन्याहूले बताएका छन्।
"उनीहरूसँग केही उपायहरू छन्। तीमध्ये केही हामीलाई मान्य छन् र केही छैनन्। यस्ता कुरामा हामीले कसरी अडान लिने कुरा हामीलाई थाहा छ," उनले भने।
इजरेलमा आन्तरिक दबाव
इजरेलमा केही महिनापछि चुनाव हुन लागेको छ। देशको दक्षिणपन्थी गठबन्धनका नेताहरूबाट गाजाबारे कडा नीति लिनुपर्ने दबाव बढिरहेको अवस्थामा नेतन्याहू लचक हुन इच्छुक देखिँदैनन्।
राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन गभीरसहित चरम दक्षिणपन्थी गठबन्धनका केही नेताहरूले फेरि मन्त्रिपरिषद् बैठक बोलाएर गाजा योजना अन्त्य गर्न दबाव दिइरहेका छन्। गभीरले गाजा योजनाको मस्यौदालाई "अस्वीकार्य" भनेका थिए।
ट्रम्पको शान्ति योजना कार्यान्वयन गर्ने जिम्मेवारी पाएका एक जना वरिष्ठ कूटनीतिज्ञ निकोलाई म्लादेनोभले आइतवार "सकारात्मक परिणाम"को अपेक्षासहित छलफलहरू भइरहेको बताएका छन्।
बोर्डका वरिष्ठ प्रतिनिधिले इजरेली सञ्चार माध्यमसँग कुरा गर्दै "प्रक्रियालाई अवसर दिन" इजरेललाई अनुरोध गरिएको बताएका छन्। सन् २०२३को अक्टोबर ७ मा हमासबाट भएको आक्रमणजस्ता घटना दोहोरिन नदिन ट्रम्पको योजना "एक मात्र उपाय" भएको उनको भनाइ छ।
म्लादेनोभले उक्त योजना अगाडिका चुनौतीहरूलाई स्पष्ट रूपमा बुझेर तयार गरिएको दाबी गरे।
हमासले निःशस्त्रीकरणको कदम चालेको प्रमाणित नभएसम्म इजरेलले सेना फिर्ता गर्नुपर्ने बाध्यता नरहेको उनको भनाइ छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार युद्ध सुरु भएयता गाजामा कुल जनसङ्ख्याको ९० प्रतिशत अर्थात् करिब १९ लाख मानिसहरू विस्थापित भएका छन्।
हमासको नेतृत्वमा दक्षिणी इजरेलमा सन् २०२३को अक्टोबर ७ मा गरिएको आक्रमणमा करिब १,२०० जनाको ज्यान जानुका साथै २५१ जनालाई बन्धक बनाइएपछि गाजा युद्ध सुरु भएको थियो।
प्रतिक्रियामा इजरेलले गाजामा चलाएको सैन्य अभियानमा ७३,००० जना भन्दा धेरै मानिस मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
ज्याक बर्जिसबाट थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।