सुरुङमा अझै जीवित छन् भन्ने आशामा परिवार, उद्धारबारे सरकारको भनाइ के छ

तस्बिर स्रोत, PMO
चाबहिलकी प्रिया खरेललाई भाइ मिलन खरेल सुरुङमा फसिरहेकै अवस्थामा छन् कि भन्ने आशा छ।
बुधवार हिमपहिरोका कारण आएको बाढीपश्चात् हराइरहेका मिलनको खोजी गर्दा कतै नभेटिएपछि सुरुङमै फसिरहेका छन् कि भन्ने आशा प्रियालगायत परिवारले राखेको छ।
मिलन माथिल्लो त्रिशुली-१ जलविद्युत् आयोजनामा कार्यरत इन्जिनिअर हुन्।
"त्यहाँबाट फर्किएर आएकाहरूले सुरुङमा मान्छे छन् भनेका छन्। त्यसैले सेनाले छिट्टै खोजिदियो भने बचाउन सकिन्थ्यो कि भन्ने आशा लागेको छ," उनले भनिन्।
भाइको अवस्था बुझ्न नुवाकोटको बट्टार पुगेको र त्यहाँलगायत भाइको अवस्थाबारे कतैबाट पनि सूचना नपाएपछि सुरुङभित्रै फसिरहेको र जीवित छ कि भन्ने आशा लागेको उनले बताइन्।
"हामीले हराइरहेकामा, उद्धार गरिएकामा अनि अरू केही नभएर मृतकको सूचीमा गएर पनि हेर्ने प्रयास गर्यौँ कतै पनि छैन नाम," उनले भनिन्।
मिलनको परिवारजस्तै जलविद्युत् आयोजनामा काम गर्ने अरू थुप्रै परिवार पनि आफ्नो परिवारको सदस्य जलविद्युत् आयोजनाको सुरुङमा बाँचेको अवस्थामा रहेको र छिटो उद्धार गरिए बाँच्न सक्ने आशामा छन्।
त्यस्तै बाढी गएकै दिनदेखि बेपत्ता रहेका त्रिशुली ३ (ए) मा कार्यरत औरस भण्डारीको आजसम्म कुनै जानकारी नआएको उनका आफन्त वासुदेव खतिवडाले जानकारी दिए।
उनीहरूमध्ये कतिले सामाजिक सञ्जालमा सरकारलाई छिटो उद्धार गरिदिन अनुरोध गरिरहेका छन्।
हाइड्रोपावरको सुरुङमा फसेका मात्रै होइन हाइड्रोपावरमा कार्यरत तर बाढीले घर बगाएपछि बेपत्ता भएका परिवारले पनि सरकारलाई उद्धारको अपिल गरिरहेका छन्।
सरकारको भनाइ के छ?
भोटेकोशी बाढीको कारण क्षतिग्रस्ता आयोजनाहरूमा माथिल्लो त्रिशूली-१, रसुवागढी जलविद्युत् आयोजना, रुसुवा-भोटेकोशी, माथिल्लो मेलुङ-ए, लाङटाङ खोला, चिलिमे, मेलुङ खोला रहेका छन्।
त्यस्तै नुवाकोटका बाढी प्रभावित प्रमुख जलविद्युत् आयोजनामा त्रिशूली जलविद्युत् आयोजना, देवीघाट जलविद्युत्, माथिल्लो त्रिशूली-३ए, माथिल्लो त्रिशूली-३बी, मिडल त्रिशूली गङ्गा, नुवाकोट सौर्य विद्युत् आयोजना रहेका बताइएको छ। रसुवास्थित त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उपलब्ध तथ्याङ्क अनुसार यी १३ जलविद्युत् आयोजनामा कुल ९३३ जना बेपत्ता छन्।
यीमध्ये शुक्रवार १९१ र शनिवार ८८ जनालाई विभिन्न सुरुङबाट उद्धार गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताएकी छन्।
यी आयोजनाहरूमध्ये नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्याएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवालयले जानकारी दिएको छ।
"ती उपकरणहरूलाई त्यहाँ खण्ड-खण्ड (डिसम्यान्टल) पारेर हेलिकप्टरमार्फत् आयोजनास्थलतर्फ लगिएको छ," ह्वाट्सएपमा सचिवालयले लेखेको छ।
"सेनाका अनुसार अबको छिटै सुरङको प्रवेशद्वार (टनेल इन्ट्री) खोल्ने (ब्रेक थ्रु) काम सम्पन्न हुने छ। त्यसपछि मात्रै फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य सुरु हुने छ।"
शनिवार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको थियो।
"सुरुङभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो," कार्यालयले भनेको छ।
सुरुङको मुख खोल्न र खोजी कार्यलाई द्रुत गति दिन शनिवार रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको उसले जनाएको हो।
सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्।
खासगरी विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा तीनवटै सुरक्षा निकायका बाहेक र भारत र चीनका टोली पनि खटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा प्राधिकरणले जनाएको हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















