पाकिस्तानी खेलाडीले टी२० विश्वकपका बेला 'रिक्रिएशनल ड्रग' सेवन गरेको आरोप

    • Author, असद सुहैब
    • Role, बीबीसी उर्दू, इस्लामाबाद
  • पढ्ने समय: ३ मिनेट

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले लागुपदार्थ प्रयोग गरेको आरोप लागेका एक खेलाडीलाई कारबाही गर्न निर्धारित प्रक्रिया सुरु गरिएको जनाएको छ।

पीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को प्रतिवेदनका आधारमा आफ्नो राष्ट्रिय टोलीका खेलाडी मोहम्मद नवाजलाई कारबाही गर्न लागेको हो। उक्त प्रतिवेदन टी२० विश्वकपका बेला 'रिक्रिएशनल ड्रग' अर्थात् रमाइलोका लागि सेवन गरिने लागुपदार्थको प्रयोगसँग सम्बन्धित छ।

पीसीबीका प्रवक्ता आमिर मीरले बीबीसी उर्दूलाई बताएअनुसार बोर्डले नवाजलाई उक्त विषयमा बिहीवारभित्र स्पष्टीकरण दिन भनेको छ। आमिर मीरका अनुसार आईसीसीले पठाएको प्रतिवेदनमा नवाजले लागुपदार्थ प्रयोग गरे नगरेको छुट्ट्याउन गरिएको जाँच 'पोजिटिभ' आएकाले थप कारबाही गर्न लागिएको हो।

मीरका अनुसार यस्तो मामिलामा पहिला आईसीसीले जाँच गरेर आफ्नो निष्कर्ष दिन्छ अनि त्यसपछि आरोप लागेका खेलाडीलाई जबाफ दिने अवसर दिइन्छ। लागुपदार्थ प्रयोगका सन्दर्भमा आरोपित खेलाडीहरूलाई गरिने सबै कारबाही आईसीसीको क्षेत्राधिकारभित्र पर्ने उनले बताए।

यसअघि क्रिकेट वेबसाइट 'क्रिकइन्फो'ले मोहम्मद नवाजले गत फेब्रुअरी र मार्चमा भारत तथा श्रीलङ्कामा आयोजित टी२० विश्वकप क्रिकेटका बेला 'रिक्रिएशनल ड्रग' प्रयोग गरेको आशङ्कामा गरिएको परीक्षण 'पोजिटिभ' आएको विवरण सार्वजनिक गरेको थियो।

'रिक्रिएशनल ड्रग' के हो?

टी२० विश्वकपका लागि पाकिस्तानी टोलीमा परेका मोहम्मद नवाज कुल सात खेलमा सहभागी भए। पाकिस्तान सेमिफाइनलमा पनि नपुगी प्रतियोगिताबाट बाहिरिएको थियो भने नवाजको खेल पनि खासै प्रभावशाली देखिएको थिएन।

नवाज अहिले पाकिस्तान सूपर लीग (पीएसएल) मा मुल्तान सुल्तान्सबाट खेल्छन्। उनीमाथि कस्तो कारबाही हुन्छ र उनले खेल्न पाउँछन् कि पाउँदैनन् भन्ने स्पष्ट हुन बाँकी नै छ।

बीबीसीले यस विषयमा बुझ्न आईसीसीलाई सम्पर्क गरेको छ तर प्रतिक्रिया प्राप्त भइसकेको छैन।

विशेषज्ञहरूका अनुसार खेलाडीले आफ्नो खेल क्षमता बढाउनका लागि नभई रमाइलोका लागि 'रिक्रिएशनल ड्रग' प्रयोग गर्छन्।

रावलपिन्डीमा फार्मेसी विषय प्राध्यापन गर्ने डा सलीमका अनुसार रिक्रिएशनल ड्रगले सेवनकर्तालाई शान्त र रमाइलो महसुस गराइदिने हुनाले त्यसलाई सरल भाषामा 'नसालु पदार्थ' भन्न सकिन्छ।

"यी दुई प्रकारका हुन्छन्। एउटाले सेवनकर्तालाई अत्यधिक खुसी वा उत्साह प्रदान गर्ने हुन्छ भने अर्कोले निद्रा लगाउँछ वा आनन्द गराउँछ। यी पदार्थलाई 'पार्टी ड्रग्स' र 'रिक्रिएशनल ड्रग्स' पनि भनिन्छ।"

डा सलीमका अनुसार यस्ता नसालु पदार्थहरूले खेलाडीको प्रदर्शनलाई सुधार्नेभन्दा पनि झन् बिगारिदिने जोखिम हुन्छ।

आईसीसीको नियममा के छ

आईसीसी 'वाडा' अर्थात् वर्ल्ड एन्टिडोपिङ एजेन्सीको सदस्य हो। वाडाको उद्देश्य खेलको गरिमा कायम राख्नु, खेलाडीहरूको स्वास्थ्यको विषयमा ध्यान दिनु र खेललाई डोपिङबाट मुक्त राख्नु हो।

आईसीसीका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुने खेलाडीहरूलाई प्रतिबन्धित पदार्थहरूबारे जानकारी दिइएको हुन्छ।

अन्तर्राष्ट्रिय खेलहरूमा सहभागी हुने क्रिकेट खेलाडीहरूको डोपिङ टेस्ट गर्ने अधिकार आईसीसीसँग हुन्छ।

एन्टिडोपिङ कानुनको धारा २.१.१ का अनुसार खेलाडीको शरीरबाट दुइटा नमुना लिइन्छ। तिनलाई छुट्टाछुट्टै राखिन्छ र पहिलो नमुनाको विश्लेषण गरिन्छ। यदि उक्त नमुनाको जाँच गर्दा प्रतिबन्धित पदार्थ प्रयोग गरेको सङ्केत फेला पर्‍यो भने आईसीसीले प्रतिवेदन निकाल्छ।

यद्यपि सम्बन्धित खेलाडीले चाहे भने दोस्रो नमुनाको पनि परीक्षण गराउन सकिने प्रावधान छ।

सम्बन्धित खेलाडी, निजको प्रतिनिधि वा उनको देशको क्रिकेट बोर्डले दोस्रो नमुना जाँचको निगरानी गर्न पाउँछन्।

आईसीसीका अनुसार यदि दोस्रो नमुनामा प्रतिबन्धित पदार्थको सङ्केत देखिएन भने सन्दिग्ध खेलाडीलाई गर्न लागिएको कारबाही रोकिन्छ र निजले सफाइ पाउँछन्।

तर दोस्रो नमुनामा पनि पोजिटिभ आयो भने खेलाडीले चार वर्षसम्मको प्रतिबन्ध खेप्नुपर्ने हुन सक्छ। यद्यपि जानीजानी सेवन गरेको नभई झुक्किएर प्रतिबन्धित पदार्थ शरीरमा प्रवेश गरेको भन्ने ठहरिए सजाय कम हुन सक्छ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार मोहम्मद नवाजले दोस्रो नमुनाको जाँच गराउन माग गर्ने सम्भावना छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।