के भारतको आन्दोलन सीजेपी र वाङ्चुकभन्दा माथि उठिसकेको हो?

तस्बिर स्रोत, Getty Images
- Author, कीर्ति दुबे
- Role, बीबीसी संवाददाता
- Published
- पढ्ने समय: ८ मिनेट
भारतको दिल्लीस्थित जन्तरमन्तरमा राखिएका अवरोधहरूभन्दा ठिकअगाडि एउटा परिवारले चिसो लस्सी र महीका प्याकेटहरू बाँडिरहेको छ।
मिनु फोगाट विगत केही दिनदेखि आफ्ना श्रीमान् र १८ वर्षीया छोरीसँगै यहाँ आइरहेकी छिन्। कुनै पनि विरोध प्रदर्शनमा उनी सहभागी भएको यो पहिलो पटक भएको उनले बताइन्।
"हाम्रो छोरा आईआईटीमा पढ्छ, तर हामी यी सबै विद्यार्थीहरूको सङ्घर्षमा साथ दिन यहाँ आएका हौँ। फोनमा रील शेअर गरेर मात्र पुग्दैन। हामी घरबाट बाहिर निस्कनैपर्छ," उनले भनिन्।
मिनु फोगाटका श्रीमान् उत्तर दिल्लीमा मिठाई पसल चलाउँछन्।
पछिल्ला केही दिनयता पसलको जिम्मा कामदारलाई सुम्पेर उनको पूरै परिवार जन्तरमन्तर आइरहेको छ।
मलाई २०० ग्रामको लस्सीको प्याकेट दिँदै उनले भनेः "तपाईँ पनि अलिकति लिनूस्, धेरै गर्मी छ।"
म जुलाई २१ तारिखका दिन जन्तरमन्तर पुग्दा सबैभन्दा पहिले मेरो सामना यही दृश्यसँग भयो र धेरै हिसाबले यसले सिङ्गो आन्दोलनको एउटा बृहत् तस्वीर प्रस्तुत गर्छ।

कहाँ खाडल देखिन्छ?
समाचार च्यानल र पत्रपत्रिकाहरूमा मात्र विरोध प्रदर्शनबारे देखेका वा सुनेका र कहिल्यै नजिकबाट यस्ता दृश्य नदेखेका सर्वसाधारणहरू अहिले यो आन्दोलनमा एकजुट भएर एकअर्काको सहारा बनिरहेका छन्।
संसद् भवनबाट केही मिटरको दूरीमा रहेको जन्तरमन्तर अहिले नरेन्द्र मोदी सरकारको तेस्रो कार्यकालमा उसले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौतीको केन्द्रबिन्दु बनेको छ।
यी सबै घटनाक्रमको केन्द्रमा कक्रोच जनता पार्टी र अभियानकर्मी सोनम वाङ्चुक छन्, जो २६ दिनसम्म आमरण अनशन बसेका थिए।
कक्रोच जनता पार्टी कसरी अस्तित्वमा आयो भन्नेबारे तपाईँहरूले धेरै पटक सुन्नुभएको र पढ्नुभएको छ।
अहिले यहाँ हजारौँ मानिसहरू भेला भएका छन्। उनीहरूको माग प्लेकार्डहरूमा प्रस्ट रूपमा देखिन्छ र नाराहरूमा गुञ्जिरहेको छः "धमेन्द्र प्रधान, राजीनामा देऊ।"
प्रधानले शनिवार दिउसो सामाजिक सञ्जालमार्फत् राजीनामा दिए।

तस्बिर स्रोत, Getty Images
तर यो साता जे भयो। त्यसबाट यो प्रदर्शनको मुख्य माग, त्यसलाई लिएर अनशन र जुन मोडमा अनि जसरी अनशन तोडियो, यी सबै एकअर्कासँग पृथक देखिँदै छन्।
के भनियो, कसरी यो आन्दोलनले गति लियो र अहिले के भइरहेको छ? यी सबैबीच एउटा खाडल देखिन्छ र यति बेला यो प्रदर्शनले अलगअलग स्वरूपमाझ बाटो खोजिरहेको जस्तो देखिन्छ।
सोनम वाङ्चुकले बिहीवार मध्यराति स्वास्थ्यमन्त्री जेपी नड्डा र केन्द्रीय राज्यमन्त्री जितेन्द्र सिंहको उपस्थितिमा आफ्नो २६ दिने अनशन तोडे।
सरकारले केही आश्वासनहरू दिएपछि वाङ्चुकले आफ्नो लामो अनशन अन्त्य गरेका हुन्।
त्यसअनुसार शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्ने मानिसहरूविरुद्ध सरकारले एफआईआर दायर गर्ने छैन।
सरकारले नीट परीक्षाको प्रश्नपत्र बाहिरिएको र शिक्षा प्रणालीमा सुधार ल्याउने उपायहरूबारे संसद्मा छलफल गर्नेछ।
त्यसका साथै नीट प्रश्नपत्र चुहावटसँग सम्बन्धित घटनामा आत्महत्या गरेका विद्यार्थीका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गरिनेछ।
आगामी दिशाबारे अन्योल
अब करिब एक महिनाअघि यी विरोध प्रदर्शन र आमरण अनशनको कारण बनेका मागहरूबारे चर्चा गरौँ।
शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्छ। नीट प्रश्नपत्र चुहावटका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारले एक करोड रुपैयाँ क्षतिपूर्ति पाउनुपर्छ।
सीजेपीका तिनै मागहरूको समर्थनमा वाङ्चुकले जुन २८ तारिखमा सीजेपीकै मञ्चबाट अनशन शुरू गरे।
त्यस बेलाको एउटा अन्तर्वार्ताका क्रममा एक जना व्यक्तिको राजीनामाले मात्र के परिवर्तन ल्याउँछ भन्ने प्रश्नको जबाफमा उनले भनेका थिए, "यसले जबाफदेहिता स्थापित गर्नेछ।"
वाङ्चुकले आफ्नो अनशन अन्त्य गरेपछि कुरा गर्दै सीजेपीका प्रवक्ता आशुतोष राङ्काले मसँग भनेका थिए: "हामी उहाँले अनशन अन्त्य गरेको चाहन्थ्यौँ। धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म विरोध प्रदर्शन जारी रहने छ भन्ने कुरा हामीले स्पष्ट रूपमा बताएका छौँ।"
सीजेपी मञ्चको छेउमा उभिएका अमरदीप (परिवर्तन गरिएको नाम) लाई मञ्चअगाडि आउनबाट मानिसहरूलाई रोक्ने जिम्मेवारी दिइएको छ।
उनी सीजेपीको मुख्य स्वयंसेवक टोलीका हिस्सा हुन्, जसले मञ्च वरिपरि व्यवस्था र सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी पाएको छ।
म मञ्चमा पुगेको देखेर उनले मलाई रोक्न हात बढाए, तर केही सेकेन्डमै म अगाडि बढिरहेकी छैन भन्ने आभास गर्दै उनले आफ्नो हात फिर्ता लिए।
अमरदीप यो विरोध प्रदर्शनका लागि मध्य प्रदेशबाट दिल्ली आएका हुन्। उनी सरकारी प्राथमिक विद्यालयका शिक्षक हुन् र आन्दोलनमा सहभागी हुन बिदा लिएर आएका हुन्।
उनले भनेः "आखिर उहाँले कतिन्जेल अनशन जारी राख्न सक्नुहुन्थ्यो र? कुनै न कुनै बेला त यो तोड्नैपर्ने थियो। हो जुन तरिकाले यो तोडियो, त्यो चाहिँ उचित लागेन।"
यद्यपि उनी यो विरोध प्रदर्शनको आगामी दिशाबारे अन्योलमा देखिन्छन्। उनी भन्छन्, "अहिलेको अवस्था बुझ्न गाह्रो छ। राजीनामा नआएसम्म यो जारी रहने भनिएको छ, तर अब के हुन्छ, कसलाई थाहा?"

तस्बिर स्रोत, Getty Images
माथि उठिसकेको हो?
"जब सोनम वाङ्चुकले अनशन शुरू गर्नुभयो, मानिसहरूले उहाँलाई एक सन्तका रूपमा हेरे र उहाँसँग भावनात्मक सम्बन्ध महसुस गरे। उनीहरूले भोकका कारण उहाँले भोगेको पीडा देखे, तर उहाँ आफ्नो प्रतिबद्धतामा अडिग रहन सक्नुभएन," दिल्ली विश्वविद्यालयस्थित प्राध्यापक तथा बुद्धिजीवी अपूर्वानन्द भन्छन्।
"उनीहरूले विगत केही दिनमा आफ्ना शर्तहरू फेरेका छन्। उनीहरूले अब शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छैनन्, जबकि सीजेपीले भने जन्तरमन्तरमा अझै पनि राजीनामाको माग गरिरहेको छ। यसले वाङ्चुकले सीजेपीसँग संवाद गरिरहनुभएको छ वा छैन भन्ने प्रश्न खडा गर्छ। वाङ्चुकले आफैँ आमरण अनशन बस्ने निर्णय गर्नुभएकाले त्यसलाई अन्त्य गर्न उहाँलाई कसैको अनुमति आवश्यक थिएन।"
"एनडीएका मन्त्रीहरूसँग भेट हुनेबित्तिकै उनीहरूको माग बदलियो। त्यसयता शिक्षामन्त्रीको राजीनामाको माग छोडिएको देखिन्छ। उनीहरूले यो आन्दोलन उनीहरूभन्दा धेरै ठूलो छ भनी बुझ्नुपर्छ। यद्यपि यो सत्य हो कि उनीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरे र उनीहरूको आमरण अनशन निर्णायक साबित भयो।"
सीजेपी, आन्दोलन र प्रश्नहरू
गत शनिवार १८ जुनका दिन सोनम वाङ्चुकलाई हिरासतमा लिइएपछि अभिजित दीप्केले आफू आमरण अनशन बस्न लागेको घोषणा गरेका थिए।
जुलाई २० तारिखमा उनले मञ्चबाटै आफ्नो अनशन अन्त्य गर्ने घोषणा गरे।
जुलाई २२ तारिखमा म जन्तरमन्तरमा हुँदा अभिजित दीप्केले यो मुद्दा अब प्रधानको राजीनामाको मागभन्दा माथि उठेर प्रधानमन्त्रीको राजीनामाको मागसम्म पुगिसकेको बताए। तर मञ्चबाट गरिएको यो घोषणामा कुनै गम्भीरता थिएन।
सीजेपीका स्वयंसेवक मोहित भन्छन्, "दीपक सरले आफ्नो अनशन तोड्नुभयो। किनभने उहाँ यसलाई निरन्तरता दिन असमर्थ हुनुहुन्थ्यो र र्यालीमा सहभागी हुन चाहनुहुन्थ्यो।"
बत्तिस वर्षीय मोहितले आन्दोलन शुरू भएदेखि नै जन्तरमन्तर आउजाउ गरिरहेका छन्। उनले विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरू पनि दिएका छन्।
हालै स्वास्थ्यसम्बन्धी कारणले उनी प्रहरी भर्नाको शारीरिक परीक्षणमा सहभागी हुन सकेनन्।

मोहितको बुझाइमा यो आन्दोलन एउटा महत्त्वपूर्ण उद्देश्यका लागि हो, तर उनी यसका लागि अझ राम्रो तयारी गरिएको हुनुपर्ने महसुस गर्छन्।
धेरै आन्दोलनहरूमा सहभागी भइसकेका योगेन्द्र यादवले यो विशेष आन्दोलनलाई "गम्भीर नभएको" भनेका त छैनन्, तर सीजेपीको नेतृत्वमा एकखाले अपरिपक्वता रहेको उनी स्वीकार गर्छन्।
"यी युवा हुन् जसमा अनुभवको कमी छ। अनुभवको कमीका कारण उनीहरू कहिलेकाहीँ गम्भीर नभएको लाग्न सक्छ," यादव भन्छन्।
"यदि उनीहरूमा आन्दोलनसम्बन्धी गम्भीरताको कमी थियो भने जुलाई २० मा भएका सबै कुरापछि जन्तरमन्तर फर्कने थिएनन्। म यी घटनाहरूलाई बुझाइको कमीको प्रतिविम्बको रूपमा म हेर्छु।"
"हेर्नूस् मलाई लाग्छ यो विरोध प्रदर्शन अब वाङ्चुक वा सीजेपीमा मात्र सीमित छैन। देशका युवाहरू अहिले केही भन्न चाहन्छन् र यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।"
परिपक्वताको कमी
यहाँ एउटा महत्त्वपूर्ण पक्ष के छ भने जसले पाउनुपर्ने जति ध्यान पाइरहेको देखिँदैन।
विद्यार्थी सङ्गठनहरू शुरूदेखि नै यो प्रदर्शनमा संलग्न छन्। उनीहरू अनशनको मुख्य मञ्चमा नबसे पनि उनीहरूले यसलाई छेउबाटै अवलोकन गरे।
अखिल भारतीय विद्यार्थी सङ्घका तीन जना विद्यार्थीले २३ दिनसम्म भोक हडताल गरे।
तीमध्ये नेहा एक हुन्। अखिल भारतीय विद्यार्थी सङ्घ सीजेपीको हिस्सा हो वा होइन अनि रणनीति बनाउँदा उनीहरूको विचारलाई ध्यानमा राखिएको छ कि छैन भनेर मैले उनलाई सोधेँ।
जबाफमा नेहाले भनिन्, "हो हामी हाम्रा विचारहरू प्रस्तुत गर्छौँ। हामीलाई बैठकहरूमा निम्त्याइन्छ।"
तर जुलाई २० को प्रदर्शनका क्रममा सीजेपीका प्रवक्ताहरू सौरभ दास र आशुतोष राङ्काले जेपी नड्डालाई भेटेका कुरा के नेहा वा उनको सङ्गठनका कुनै सदस्यलाई जानकारी गराइएको थियो त?
यसको जबाफमा उनले अगाडि भनिन्, "होइन हामीले त्यो भेटबारे सञ्चारमाध्यमबाट थाहा पायौँ।"

तस्बिर स्रोत, Hindustan Times via Getty Images
जतिबेला नेहा जन्तरमन्तरस्थित अखिल भारतीय विद्यार्थी सङ्घको बुथमा बसेर हामीसँग कुरा गर्दै थिइन्, त्यति बेला उनका एक सहकर्मी सीजेपीको बैठकमा सहभागी हुन गएका थिए।
अपूर्वानन्द भन्छन्, "तपाईँले आफ्नो क्षमताभन्दा बढीको जिम्मेवारी लिनुभएको छ। मलाई लाग्छ अभिजित दीप्केमा परिपक्वताको कमी छ। हामीले जुलाई २० मा नेतृत्वको यही अभाव देख्यौँ। प्रदर्शनकारीहरूको नेतृत्व गर्ने कोही थिएन। उनीहरूमध्ये धेरैले त मलाई यो पनि भने कि प्रदर्शनका क्रममा उनीहरूले ती नेतालाई कतै देखेनन्।"
"प्रदर्शनमा सहभागीहरूलाई आफ्नै अवस्थामा छोडिएको थियो। तथापि जनताले उनीहरूलाई माफी दिए। यथार्थ के हो भने जब तपाईँ यस्तो प्रकृतिको प्रदर्शनको आह्वान गर्नुहुन्छ, तब तपाईँले योजना बनाउनुपर्छ। रणनीति बनाउनुपर्छ र जनतालाई यसबारे जानकारी दिनुपर्छ।"
आलोककुमार वर्मा जुलाई २१ मा लखनउबाट जन्तरमन्तर आइपुगे। उनी आफैँ एसएससी परीक्षाको तयारी गर्दैछन्। नीटका परीक्षार्थी आफ्ना भाइका निम्ति यहाँ आएको उनले बताए।

एकअर्काको शक्ति
अहिले उनी यो आन्दोलनलाई कसरी हेर्छन्?
आलोक भन्छन्, "सरकारले कुरा लम्ब्याइरहने छ। अन्ततः हामी थाक्ने छौँ र यहाँ आउन नसक्ने अवस्था आउन सक्छ, जसले गर्दा आन्दोलन आफैँ सेलाएर जाने छ।"
"रेलहरू निर्धारित समयभन्दा घण्टौँ ढिलो चलिरहेका छन्। एउटा रेल त गाजियाबादमै पाँच घण्टासम्म रोकिएको थियो। म यहाँ दुई दिनदेखि छु। फोन चार्ज गर्न र नुहाउनका लागि होटल बुक गर्नुपर्दा मेरो आर्थिक भार बढिरहेको छ। मलाई लाग्छ उनीहरूले यो अवस्थालाई यति लामो समयसम्म लम्ब्याउने छन् कि मानिसहरू आफैँ घर फर्कन थाल्ने छन्।"
आलोक मात्र नभई विरोध प्रदर्शनमा सहभागी हुन मेरठबाट आएकी वन्दनाको भनाइ पनि उस्तै छ।
"हामीले खाना त पाइरहेका छौँ, तर शौचालयको सुविधा अत्यावश्यक छ। मैले सोचेभन्दा धेरै पैसा खर्च गरिसकेकी छु। अब एक-दुई दिनमै फर्किनुपर्ने हुन्छ।"
हरेक क्षण नयाँ घटनाक्रम विकसित भइरहँदा अवस्थामा आगामी दिनहरूमा यो आन्दोलनले कस्तो रूप लिन्छ भनी अनुमान गर्न गाह्रो छ।

तस्बिर स्रोत, Reuters
यस सप्ताहान्तमा सरकार र सीजेपीबीच हुन लागेको वार्ताको दोस्रो चरणको नतिजास्वरूप के परिवर्तन आउला भन्नेबारे न त यहाँ भएका मानिसहरूसँग नै कुनै जबाफ छ, न त यो आन्दोलनलाई नियालिरहेका र बुझ्ने प्रयास गरिरहेकाहरूसँग उत्तर छ।
यो आन्दोलनको कोही सर्वस्वीकार्य नेता छैनन्, तैपनि केन्द्रीय सरकारले एउटा पक्षसँग वार्ता गरिरहेको छ।
सरकारले केही निश्चित प्रतिबद्धताहरू जनाइरहेको छ। प्रधानमन्त्री मोदीले त आफूले पोस्ट गरेको भिडिओमा यसबारे उल्लेख समेत गरेका थिए।
साँझको ६:३० बजिसकेको छ र जन्तरमन्तरमा मानिसहरूको भीड यति बाक्लो छ कि साँघुरो ढोकाबाट बाहिर निस्कन सक्नु नै आफैँमा एउटा विजयजस्तो महसुस हुन्छ।
केरला हाउसतिर लाग्दा मैले एम्सकी डा श्रुतिलाई भेटेँ। उनी प्रदर्शनस्थलमा वाकर प्रयोग गरेर आइपुगेकी थिइन्। मैले उनलाई सोधेँ, "यति कठिनाइहरूको बावजुद तपाईँ किन आउनुभयो?"
श्रुतिले भनिन्, "जुलाई २० मा प्रहरीले मेरो खुट्टामा हान्यो। त्यसैले अब हिँडडुल गर्न मैले वाकर प्रयोग गर्नुपर्छ, तर जीवनमा केही राम्रो गर्न चाहने यी युवाहरूका लागि म यहाँ आउनैपर्यो।"
यो आन्दोलनको सुन्दरता यही होः यहाँका मानिसहरू एकअर्काको शक्ति बनिरहेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















