इरानमाथि अमेरिकी हमलामा युद्ध अपराध भएको विश्वास गर्ने आधार रहेको राष्ट्रसङ्घका विज्ञहरूको दाबी

तस्बिर स्रोत, WANA via Reuters
- Author, डेभिड ग्रिटन
- Published
- पढ्ने समय: ३ मिनेट
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूले इरानमा भएका दुईवटा अमेरिकी हवाई हमलामा कम्तीमा १७७ जना सर्वसाधारणको ज्यान गएको र ती घटनामा अमेरिकाले युद्ध अपराध गरेको विश्वास गर्ने पर्याप्त आधार रहेको बताएका छन्।
इरानसम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य पत्ता लगाउने इन्डिपेन्डेन्ट इन्टरन्याश्नल फ्याक्ट-फाइन्डिङ मिसन (आईआईएफएफएम) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार फेब्रुअरीमा मिनाबस्थित एउटा प्राथमिक विद्यालय र लमेर्दस्थित एउटा खेलकुद परिसरमा भएका क्षेप्यास्त्र हमलाहरू सर्वसाधारणलाई लक्षित नगरे पनि अन्धाधुन्ध हमला भएको थियो तथा त्यसबाट सर्वसाधारणको मृत्यु र नागरिक पूर्वाधारमा क्षति पुगेको थियो।
अमेरिकाले यसअघि लमेर्दमा आफूले हमला गरेको अस्वीकार गर्दै मिनाबमा भएको घटनाबारे अनुसन्धान भइरहेको बताएको थियो।
अमेरिकी विदेशमन्त्रालयका एक अधिकारीले उक्त प्रतिवेदनका निष्कर्षलाई अमेरिकाले विश्वसनीय नमान्ने बताएका छन्।
विज्ञहरूले ज्यानुअरीमा भएका व्यापक सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा इरानी अधिकारीहरूले पनि मानवताविरुद्धका अपराध गरेको निष्कर्ष निकालेका छन्।
उनीहरूका अनुसार देशका सबै ३१ प्रान्तमा सुरक्षा फौजद्वारा गरिएको हत्या "स्तब्ध पार्ने र यसअघि कहिल्यै नदेखिएको स्तरमा" भएको थियो।
इरानले यी निष्कर्षबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। तर उसले यसअघि मानवअधिकारको प्रणालीगत उल्लङ्घन भएको आरोप अस्वीकार गर्दै आएको छ।
संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्का लागि तयार पारिएको आफ्नो पछिल्लो प्रतिवेदनमा उक्त मिसनका तीन स्वतन्त्र विज्ञहरूले द्वन्द्वका क्रममा सर्वसाधारणमाथि भएका सबैभन्दा घातकमध्ये दुईवटा हमलाको अनुसन्धान गरेका छन्।
फेब्रुअरी २८ मा अमेरिका र इजरेलले इरानविरुद्ध युद्ध सुरु गरेको दिन दक्षिणी सहर मिनाबस्थित शाजारे ताएबे प्राथमिक विद्यालयका टोमाहक क्षेप्यास्त्र प्रहार भएको थियो।
स्थानीय अधिकारीहरूका अनुसार उक्त हमलामा कम्तीमा १५६ जनाको मृत्यु भएको थियो जसमा १२० जना बालबालिका थिए।
तथ्य खोजी गर्ने मिसन (आईआईएफएफएम)का विज्ञहरूले उक्त विद्यालयमा त्यही दिन हमला गरिएको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को नौसैनिक परिसरको छेउमा रहेको बताएका छन्। तर विद्यालय स्पष्ट रूपमा पहिचान गर्न सकिने अवस्थामा रहेको र त्यसलाई सैन्य प्रयोजनका लागि प्रयोग गरिएको कुनै जानकारी नरहेको उनीहरूले बताएका छन्।
अमेरिकी सेनाको प्रारम्भिक अनुसन्धानले अमेरिकी सेनालाई जिम्मेवार देखाएको सङ्केत र टोमाहोक क्षेप्यास्त्र अमेरिकासँग मात्र रहेको तथ्यसमेत समावेश भएको सञ्चारमाध्यमका रिपोर्टसहित सङ्कलित प्रमाणका आधारमा विद्यालयमाथिको हमला अमेरिकाले गरेको विश्वास गर्ने पर्याप्त आधार रहेको मिसनका विज्ञहरूले बताएका छन्।
मिनाब हमलाबारे अमेरिकी सेनाले गरेको अनुसन्धानको निष्कर्ष अझै सार्वजनिक गरेको छैन। तर अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले अमेरिकी सेनाले "कहिल्यै पनि सर्वसाधारणका संरचनालाई निशाना नबनाउने" बताएका छन्।
फेब्रुअरी २८ मा नै लमेर्द सहरस्थित एउटा खेलकुद परिसर र आवासीय क्षेत्रमा प्रिसिजन स्ट्राइक मिसाइल मार्फत टंग्स्टनका छर्राहरू फालिएको थियो। स्थानीय अधिकारीहरूका अनुसार उक्त हमलामा कम्तीमा २१ जना सर्वसाधारणको मृत्यु भएको थियो जसमा सात जना बालबालिका रहेका थिए।
विज्ञहरूले यो घटनामा पनि खेलकुद परिसर स्पष्ट रूपमा पहिचान गर्नसकिने अवस्थामा रहेको र त्यसलाई सैन्य प्रयोजनका लागि प्रयोग गरिएको कुनै जानकारी नरहेको बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















