इजरेलमाथि हमासका नेताको छोरा र परिवारको हत्या गर्ने प्रयास गरेको आरोप

Published
पढ्ने समय: ३ मिनेट

हमासले आफ्ना राजनीतिक नेता खलील अल-हय्याका छोरा इज्ज अल-दिन शुक्रवारको इजरेली हमलामा बाँच्न सफल भएको दाबी गरेको छ।

बीबीसी अरबीका अनुसार हमासले उक्त घटना उनलाई मार्न गरिएको बताएको छ।

हमासका नेता बसिम नाइमले समाचार एजेन्सी रोयटर्सलाई इज्ज अल-दिन र उनको परिवार शुक्रवार बिहान भएको हवाई हमलाबाट बच्न सफल भएको बताएका हुन्।

हमास स्रोतहरूका अनुसार हमलामा धेरै मानिसहरू घाइते भएका छन्।

त्यसमध्ये इज्ज अल-दिनकी पत्नी पनि परेकी छन् तर कसैको मृत्यु नभएको बताइएको छ।

इजरेली सेनाले अहिलेसम्म यो घटनबारे कुनै टिप्पणी गरेको छैन र यो विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

बसिम नाइमले इज्ज अल-दिन सन् १९९७ मा जन्मिएको खुलासा गरेका छन्।

उनी खलील अल-हय्याका एक मात्रै जीवित छोरा हुन्। इजरेली सेनाले उनका अन्य चार छोराहरूलाई मारिसकेको छ।

नाइमले शुक्रवारको हमलामा खलील अल-हय्याका विगतमा मारिएका एक छोराका परिवार पनि बाँच्न सफल भएको बताएका छन्।

हमासले आफ्नो वक्तव्यमा इजरेली सेनाले एउटा आवासीय भवनमा हमला गरेको बताएको छ।

इजरेलका रक्षामन्त्री इजरेल काट्सले खालिल अल-हय्यालाई दिएको धम्कीसँग जोडेर हमासले यसलाई हेरेको छ।

इजरेलले भने हमासको यो भनाइबारे केही टिप्पणी गरेको छैन।

गत महिना गाजामा लगभग दिनहुँ भएका हवाई हमलामा दर्जनौँ प्यालेस्टिनीहरू मारिएका विवरण आएका छन्।

यसअघि बिहीवार गाजा स्ट्रीपमा तीन इजरेली हवाई हमलामा मारिएका आठ जना प्यालेस्टिनीहरूमध्ये हमासका राजनीतिक अधिकारी र उनकी पत्नी रहेको भन्ने विवरण आएको थियो।

स्थानीय स्रोतहरूले बीबीसीलाई त्यतिबेला बनाए अनुसार एउटा आवासीय भवनमा इजरेलले बिहानै गरेको हमलामा सहशिक्षामन्त्री खालेद अबु नादा र उनकी पत्नी अबीर मोहम्मद इस्माइल अबु नादा मारिएका थिए।

इजरेलका प्रधानमन्त्री र रक्षामन्त्रीले संयुक्त वक्तव्यमा हमासका अधिकारीहरूविरुद्ध "लक्षित हत्याहरूको शृङ्खलाको हिस्सा" भनेका थिए।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले खालेद अबु नादाको मृत्युको पुष्टि गर्दै गत महिनामा करिब ८० जना हमासका अधिकारीहरू मारिएको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।