तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कङ्गोबाट फर्किने शान्ति सैनिकलाई २१ दिन क्वारन्टीन, इबोलाको जोखिम रोक्न सरकार थप के गर्दै छ
- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले इबोला प्रकोपप्रति विश्वव्यापी चासो बढेको उल्लेख गर्दै हालै "विश्व स्वास्थ्य सङ्कट" घोषणा गरेसँगै कङ्गोबाट फर्कने नेपाली शान्ति सैनिकहरूका सन्दर्भमा विशेष सतर्कता अपनाइएको नेपाली सेनाका प्रवक्ताले बताएका छन्।
पछिल्ला दिनमा डीआर कङ्गो र युगान्डामा इबोलाका सङ्क्रमणका धेरै घटना देखिएका छन्। ती देशहरूमा नेपालीहरूको आवतजावत धेरै नभए पनि कङ्गोमा शान्ति सेनामा ठूलो सङ्ख्यामा नेपालीहरू खटिएका छन्।
सेनाका प्रवक्ता राजाराम बस्नेतले बीबीसी न्यूज नेपालीलाई बताएअनुसार कङ्गोमा खटिएका सबै नेपाली सैनिकहरू अहिलेसम्म सङ्क्रमणबाट सुरक्षित छन्।
"कङ्गोका तीनवटा स्थानमा हाम्रा सैनिकहरू तैनाथ छन्। इतुरी प्रान्तको पेनी, बुनिया र माबिबीमध्ये बुनियामा अलिक धेरै सङ्क्रमित [मानिसहरू] छन्," उनले भने, "त्यहाँ रहेका हाम्रा सैनिकहरूलाई सुरक्षा प्रोटोकल पालना गर्न भनेका छौँ।"
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पनि शान्ति मिशनमा जाने सुरक्षा निकायका अधिकारीहरूसँग सुरक्षा सतर्कताबारे मसिनोसँग समन्वय भइरहेको बताएका छन्।
"शान्ति सेनामा जाने भनेका नेपाली सेना र सशस्त्र प्रहरीबाट हो। उहाँहरू जाँदाआउँदा सघन निगरानी गर्ने प्रणाली भएकाले त्यसमा धेरै केन्द्रित हुनुपर्ने र आत्तिनुपर्ने देखेका छैनौँ," मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीले भने।
"शान्ति सेनामा गएकाहरू सोझै सर्वसाधारण आउने हवाईजहाजमा आउने प्रोटोकल हुँदैन, चार्टर्ड जहाजमा आउने प्रावधान हुन्छ। सँगसँगै उताबाट हिँड्नुअघि र नेपाल आएपछि पनि निश्चित समय क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था सम्बन्धित निकायद्वारा गरिएको छ।"
कतिपय सङ्क्रामक रोग विशेषज्ञले सङ्क्रमण फैलिएका देशहरूबाट आउने सबै व्यक्तिहरूलाई निश्चित अवधिसम्म अनुशासनपूर्वक अलग राख्न क्वारन्टीन सेन्टरको व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिएका छन्।
"कोभिडका बेला हामीले सङक्रमितहरूलाई घरमै बस्न आग्रह गरेका थियौँ तर कतिपय मानिसले त्यसको पूर्ण पालना गरेका थिएनन्," टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर शेरबहादुर पुनले भने, "इबोलाको उच्च मृत्युदरलाई ध्यानमा राख्दै भिन्दै क्वारन्टीन सेन्टर स्थापना गर्न सकियो भने त्यो अझ प्रभावकारी हुने मेरो विश्वास छ।"
यद्यपि आफूले तत्काल सङ्क्रमण फैलिने उच्च जोखिम भने त्यति नदेखेको उनले बताए।
"हाल सङ्क्रमण देखिएका देशहरूबाट आवतजावत तुलनात्मक रूपमा कम भएकाले जोखिमको हिसाबले अहिले पनि न्यून नै देख्छु तर त्यसको अर्थ जोखिम शून्य भन्नेचाहिँ होइन," डाक्टर पुनले भने।
कङ्गोमा कति छन् नेपाली सैनिक?
सैन्य प्रवक्ता बस्नेतका अनुसार कङ्गोमा ९७० भन्दा धेरै नेपाली शान्ति सैनिक तैनाथ छन्।
त्यसरी खटिएका सैनिकहरू तत्काल फर्कने तालिका नरहेको र विशेष अवस्थामा फर्कनुपर्ने भएमा सोहीअनुसार सावधानीका उपायका व्यवस्था गरिएको प्रवक्ता बस्नेतले भने।
"सामान्य अवस्थामा अहिले त्यहाँबाट कुनै पनि (नेपाल) आइजाइ छैन। कुनै पनि विशेष अवस्थामा नेपाल आउनुपर्ने भयो भने (पहिले) मिशन इलाकामै छुट्टै (आइसोलेशनमा) राखेर सुरक्षा प्रोटोकल पालना गर्छौँ।"
त्यसपछि नेपाल आउनासाथ २१ दिनसम्म छुट्टै ट्रान्जिट क्याम्पमा राखिने प्रवक्ता बस्नेतले बताए।
"उक्त अवधिभर सैनिक अस्पतालले उनीहरूको निरन्तर स्वास्थ्य परीक्षण र निगरानी गर्ने छन् अनि २१ दिनपछि कुनै पनि स्वास्थ्य समस्या नदेखिएमा मात्र घर जान अनुमति दिइने व्यवस्था हुन्छ," उनले भने।
सरकारको तयारी
सङ्क्रमण फैलिएका देशबाट नेपाल आउजाउ गर्ने यात्रुको सङ्ख्या धेरै नभए पनि छिमेकी देश हुँदै सङ्क्रमण भित्रन सक्नेबारे समेत सावधानी अपनाइएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
"सङ्क्रमण जहाँबाट पनि आउन सक्छ, आइहाल्यो भने उपचार प्रबन्धहरू के गर्ने र अरू केकस्ता कदमहरू अपनाउने भन्नेबारे मन्त्रालयले विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूको समन्वयमा आवश्यक कार्यहरू गरिराखेको छ," स्वास्थ्य मन्त्रालयका प्रवक्ता अधिकारीले भने।
उनका अनुसार खास गरी काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच कार्यलाई सघन तुल्याइएको छ।
तर भिन्नै क्वारन्टीन सेन्टरहरूको तत्काल खाँचो भने भने नदेखेको प्रवक्ता अधिकारीले बताए।
"हाल छुट्टै होल्डिङ सेन्टर वा क्वारन्टीन निर्माण गर्नुपर्ने अवस्था देखिएको छैन र त्यसको तयारी पनि गरिएको छैन," उनले भने, "किनकि सर्वसाधारण सङ्क्रमित भएर आए पनि अस्पतालमा रहेका आइसोलेशन सुविधाले नै व्यवस्थापन गर्न सकिने देखिन्छ।"
सङ्क्रामक रोग विशेषज्ञ पुन इबोला सङ्क्रमणसम्बन्धी जोखिमको तयारीलाई थप सघन बनाउन 'डेडिकेटेड सेन्टर'हरूको व्यवस्था गर्न सके उपयुक्त हुने धारणा राख्छन्।
"त्यसो भएमा सङक्रमितहरूलाई भिन्नै राखेर उपचार गर्न सकिन्छ र अन्यलाई सङ्क्रमित हुनबाट जोगाउन सकिन्छ।"
प्रवक्ता अधिकारीका अनुसार कोभिड महामारीको अनुभवले इबोलालगायतका सङ्क्रमणको सामना गर्न सहज तुल्याएको छ।
"कोभिडका बेलाको सिकाइ र अनुभव तथा त्यतिबेला निर्माण गरिएका पूर्वाधार र प्रणालीहरू अहिले पनि हामीसँग उपलब्ध भएकाले आवश्यक परे तुरुन्तै उपयोग गर्न सकिन्छ, त्यसैले त्यति धेरै कठिनाइ हुने देखिँदैन।"
इबोला कस्तो भाइरस हो?
स्वास्थ्य निकायहरूका अनुसार इबोलाको अहिलेको स्ट्रेन बुन्डिबुजो भाइरसका कारणले भएको हो र त्यसका लागि कुनै स्वीकृत औषधि वा खोपहरू उपलब्ध छैनन्।
इबोला सङ्क्रमणको प्रारम्भिक लक्षणहरूमा ज्वरो, मांसपेशी दुख्ने, थकान हुने, टाउको दुख्ने र घाँटी दुख्ने पर्छन् र त्यसपछि बान्ता हुने र पखाला लाग्नेसहितका लक्षण देखिने डब्ल्यूएचओको बेवसाइटमा उल्लेख छ।
इबोला पहिलो पटक सन् १९७६ मा अहिलेको प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पत्ता लागेको थियो र यो चमेरोबाट फैलिएको मानिन्छ। कङ्गोमा यो घातक रोगको १७ औँ प्रकोप हो।
डब्ल्यूएचओका अनुसार अहिले देखिएको प्रकृतिको इबोलाको कुनै प्रमाणित उपचार छैन भने औसत मृत्यु दर लगभग ५० प्रतिशत रहेको छ।
विगत ५० वर्षमा अफ्रिकी देशहरूमा यो भाइरसबाट लगभग १५,००० मानिसहरूको मृत्यु भइसकेको छ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोको सबैभन्दा घातक प्रकोप सन् २०१८ र सन् २०२० को बीचमा भएको थियो जुन अवधिमा लगभग २,३०० जनाको मृत्यु भएको थियो।
गत वर्ष कङ्गोको दुर्गम क्षेत्रमा फैलिएको प्रकोपबाट ४५ जनाको मृत्यु भएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।