रवि-बालेन 'दूरी बढेको आशङ्का'बीच दुवै पक्षका नेताहरूको समानखाले 'स्पष्टीकरण'

तस्बिर स्रोत, RSS
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
करिब एक महिनादेखि पार्टी जिम्मेवारीविहीन रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' र उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वबीच सरकार सञ्चालन र पार्टी पदाधिकारीका विषयमा दूरी बढेको आशङ्का व्यक्त भइरहँदा बीबीसीले पार्टीका नेताहरूलाई यसबारे सोधेको छ।
रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीचको सम्बन्धमा आशङ्का गर्नुपर्ने ठाउँ नरहेको दाबी गरे पनि एक राजनीतिक विश्लेषकले दुई नेताहरूको "स्वार्थ नमिलेको स्पष्ट देखिएको" बताएका छन्।
खास गरी सुकुम्बासी व्यवस्थापनमा सरकारको शैलीबारे पछिल्लो समय रास्वपाका कैयौँ सांसदहरूले प्रश्न उठाएका थिए। गत साता सञ्चारमाध्यमको गेटमा सवारी साधन रोक्ने कार्यको पार्टी र केही पार्टी नेताहरूले विरोध जनाए पनि त्यसमा सरकारनिकट रास्वपा समर्थकहरू संलग्न रहेको विवरण बाहिरिएका थिए।
प्रधानमन्त्रीले व्यवसायीहरूसँग गरिरहेका शृङ्खलाबद्ध छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अलग गरिएको विवरण आइरहँदा वाग्लेले पार्टी सभापतिसँग लामो छलफल गरेका विवरण बाहिरिएका छन्।
तर रास्वपाका महामन्त्री विपिन आचार्यले वाग्ले र लामिछानेबीचको भेट प्रधानमन्त्रीसँग बढेको भनिएको दूरीबारे छलफलका लागि नभई "बिदा मनाउन" मात्रै भएको दाबी गरे। आचार्य लामिछानेसँग निकट मानिन्छन्।
पदाधिकारी नियुक्तिमा किन ढिलाइ?

तस्बिर स्रोत, RSS
गत असार १२ गते चितवनमा सम्पन्न रास्वपाको पहिलो महाधिवेशनबाट पदाधिकारीमा निर्वाचित अधिकांश नेताहरू सभापति लामिछानेसँग निकट मानिन्छन्। समायोजनबाट रास्वपामा आएका समूहलाई समेट्ने उद्देश्यले एक जना वरिष्ठ नेता र ११ जना पदाधिकारी सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको पार्टी नेताहरूले बताएका थिए।
तर महाधिवेशन सकिएको तीन साता बितिसक्दा समेत रास्वपाका मनोनयन हुने ५१ जना केन्द्रीय सदस्य र पदाधिकारीको टुङ्गो लागेको छैन। महाधिवेशनअघिसम्म वरिष्ठ नेता बनेका प्रधानमन्त्री बालेन शाह अहिले पार्टीको केन्द्रीय सदस्य र पदाधिकारी छैनन्।
तर महामन्त्री आचार्यले प्रधानमन्त्री शाहलाई नै वरिष्ठ नेतामा मनोनयन गरिनेमा कुनै विमति नरहेको बीबीसी न्यूज नेपालीसँग बताए।
"त्यसमा कुनै अन्योल छैन," बालेनलाई वरिष्ठ नेताको जिम्मेवारी छिट्टै दिइने जानकारी दिँदै आचार्यले भने।
"सभापतिले अलि समय लिएरै गर्दा समायोजनको पनि भावना सम्बोधन हुने भएकाले केन्द्रीय सदस्य मनोनयनमा समय लागेको हो। तर यसलाई ढिलो गर्ने भन्ने उद्देश्य पनि छैन। चाँडै नै बस्ने केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरूको मनोनयन गर्छ।"
गत महिनाको पार्टी अधिवेशनमा प्रधानमन्त्री शाहसहित उनी निकट कैयौँ नेताहरू केन्द्रीय सदस्यका उम्मेदवार बनेनन्।
महाधिवेशनमा उम्मेदवार नबनेका कतिपय नेताहरूलाई मनोनीत गरेर पार्टी केन्द्रीय सदस्य बनाउने सहमति भएको नेताहरूले बताउँदै आएका छन्।
"निर्वाचनको प्रक्रियाले नसमेटेका धेरै अवयवहरूलाई मनोनयनले समेट्नुपर्ने छ। समायोजनमा आएका बालेन्द्र शाहजीको समूह होला, थरुहटको समूह होला, विवेकशील साझा र उज्यालो नेपालबाट आएका साथीहरूलाई समेट्नुपर्ने होला," महामन्त्री आचार्य भन्छन्।
रास्वपाको विधानअनुसार पार्टीको केन्द्रीय सदस्य नभई पदाधिकारी बन्न पाइँदैन। त्यसकारण पनि पहिले केन्द्रीय सदस्यको टुङ्गो लगाइने आचार्यले बताए।
तर केन्द्रीय सदस्यको भागबन्डाबारे दुई शीर्ष नेता लामिछाने र शाहहरूबीच सहमति जुट्न नसकेको विवरण आइरहेका छन्।
रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीच गत साता केही घण्टा लामो छलफल भएको विवरण आएका थिए। उक्त भेटमा पार्टी सञ्चालनबारे पनि छलफल भएको आफूहरूले ठानेको आचार्य बताउँछन्।
"सत्ता सञ्चालनको जिम्मेवारी पाउनुभएका प्रधानमन्त्रीज्यू र पार्टी नेतृत्व गरिरहनुभएका सभापतिबीच सत्तासँग र पार्टीसँग प्रत्यक्ष र परोक्ष सम्बन्ध राख्ने सबै विषयमा छलफल पक्कै पनि भएको छ। केके र कुन गहिराइमा भए भन्ने उहाँहरूले बिस्तारै भन्नुहुन्छ पनि होला," आचार्य भन्छन्।
'एकअर्काको स्वार्थ मिलेको छैन'

तस्बिर स्रोत, RSS
स्तम्भकार तथा राजनीतिक विश्लेषक डम्बर खतिवडा रास्वपाको नेतृत्व गरिरहेका लामिछाने र सरकार चलाइरहेका बालेनले आआफ्नै समूहको कुरा सुनेर निर्णय लिने गरेको बताउँछन्।
"प्रधानमन्त्रीको टोलीमा रहेका आठनौ जनाको एउटा स्वार्थ होला। रविको मान्छेहरूको पनि भिन्नै समूह छ। उनीहरूको पनि आफ्नै स्वार्थ होला," खतिवडा भन्छन्।
"राज्य सञ्चालनमा उनीहरूका स्वार्थ पनि जुधिरहेका कारण यस्तो भएको हो जस्तो लाग्छ मलाई।"
काठमाण्डूको मेअरबाट राजीनामा दिएका बालेन गत फागुनको निर्वाचनअघि मात्रै चार वर्षअघि स्थापना भएको रास्वपामा जोडिएका थिए।
उनीनिकट नेताहरूमा बालेनकै कारण रास्वपाले दुईतिहाइ बहुमतनजिक मत पाएको बुझाइ रहेको हुन सक्ने खतिवडा ठान्छन्।
"रास्वपाको दुर्भाग्य के हो भने बालेनको नाममा भोट आयो तर उनीसँग शासन गर्ने परिपक्वता र ज्ञान छैन। पार्टी सभापति रवि नैतिक सङ्कटमा फसेका छन्," खतिवडा भन्छन्।
"[तर] नेपालको राजनीतिमा हिजो काङ्ग्रेसभित्र र कम्युनिस्टभित्र पनि झगडा भएकै हो। यो विरोधाभास र सत्तासङ्घर्ष नेपालको राजनीतिमा प्राकृतिक हो।"
रास्वपाले ठूलो राजनीतिक सफलता हासिल गरे पनि त्यसलाई संस्थागत गर्न नेताहरूले सङ्घर्ष गरिरहेको खतिवडा बताउँछन्।
"एउटा मक्किएको बोरामा धेरै सिक्का खन्याइदिनुभयो भने त्यो बोराले नधानेजस्तै रास्वपाको सरकारलाई अहिलेको जनमत धान्न कठिन भइरहेको छ," खतिवडा भन्छन्।
रवि र बालेनबीच 'मतभेद छैन'

तस्बिर स्रोत, RSS
रास्वपा नेताहरू पार्टीबाहिरबाट आशङ्का गरिएजस्तो मतभेद नेताहरूबीच नभएको दाबी गर्छन्।
पछिल्लो समय सरकारका कतिपय विषयमा प्रश्न गरिरहेका रास्वपा सांसद पुकार बम शक्ति सन्तुलनका लागि पनि आफूहरूले प्रश्न गरिरहेको बताउँछन्।
"पार्टी, सदन र सरकार फरक निकाय हुन्। हामीले पार्टी सदन र सरकारलाई एउटै लयमा राख्न सघाउने प्रयास मात्रै गरेका हौँ। फरक पृष्ठभूमिबाट आएका कारण बुझाइमा फरकपना होला तर नेतृत्वबीच मतभेद छैन," बम भन्छन्।
केन्द्रीय सदस्य मनोनयन र पदाधिकारीको नियुक्ति ढिलो हुनुको कारण पनि पार्टीभित्रको मतभेद नरहेको बमको दाबी छ। उनले विगतमा लामिछाने र शाहको समूहबीचको एकीकरणको तयारीमा सक्रिय भूमिका निर्वाह गरेको बताइएको थियो।
रास्वपाका अर्का सांसद केपी खनाल रास्वपा सांसदहरूले सदनमा जनताका विषय उठाएर सरकारको ध्यानाकर्षण गराएको कुरालाई सरकारसँग जोडेर अर्थ लगाउन नहुने बताउँछन्।
प्रधानमन्त्रीनिकट भनेर चिनिएका खनाल पदाधिकारीमा नियुक्तिमा पनि असहमति नरहेको दाबी गर्छन्।
"पार्टी समायोजनका क्रममा आआफ्नो सिद्धान्तबाट आउनुभएको विभिन्न समूहहरूबाट आउनुपर्ने नामबारे गहिरो अध्ययन र छलफल गर्नुपर्ने भएकोले ढिलो भएको जस्तो लाग्छ मलाई," उनले भने।
रास्वपा महामन्त्री आचार्य सरकार र पार्टी सञ्चालनमा रास्वपाका नेताहरू कम अनुभवी रहेका कारण शैली नमिलेको हुन सक्ने बताउँछन्।
"सरकारले राम्रो नियत राख्दाराख्दै पनि कुनै कामको परिणाम नदेखिएको हुन सक्छ वा अपेक्षित परिणाम नआएको हुन सक्छ। तर पार्टीको सरकारसँग राम्रो सामञ्जस्य छ," आचार्य भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















