तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एफबीआईका पूर्वप्रमुखविरुद्ध डोनल्ड ट्रम्पलाई 'ज्यान मार्ने धम्की' दिएको अभियोग
संयुक्त राज्य अमेरिकामा सङ्घीय जाँच ब्यूरो एफबीआईका भूतपूर्व निर्देशक जेम्स कोमीविरुद्ध राष्ट्रपति डोनल्ड ट्रम्पलाई "ज्यान मार्ने धम्की" दिएको अभियोग लगाइएको छ।
कोमीले सिपीहरूबाट बनाइएका अङ्कहरूको आकृतिसहितको तस्बिर गत वर्ष इन्स्टाग्राममा पोस्ट गरेका थिए। अभियोजनकर्ताहरूले त्यो तस्बिर ट्रम्पको हत्या गर्न आह्वान गरिएको साङ्केतिक सन्देश भएको दाबी गरेका छन्।
कोमीले एउटा विज्ञप्तिमा आफू निर्दोष भएको तर्क गर्दै आफू नडराउने जनाएका छन्।
सरकारी अभियोजनकर्ताहरूले कोमीविरुद्ध दोस्रो पटक मुद्दा दायर गरेका हुन्। सेप्टेम्बर २०२० मा कोमीले कङ्ग्रेसमा दिएको बयानमा झुटो बोलेको र संसदीय प्रक्रिया अवरुद्ध गरेको भन्दै गत वर्ष उनीविरुद्ध मुद्दा परेको थियो।
ट्रम्पले आफ्ना राजनीतिक विरोधीहरूबारे कडा अनुसन्धान गर्न निर्देशन दिएको केही दिनपछि नै कोमीविरुद्ध अभियोग दर्ता भएको थियो।
अदालतमा उपस्थित हुँदै कोमीले आफू निर्दोष भएको दाबी गरेका थिए। पछि अदालतले उक्त मुद्दा दायर गर्ने सरकारी अभियोजनकर्ता अयोग्य भएको भन्दै मुद्दा खारेज गरिदिएको थियो। यद्यपि अदालतले कोमीविरुद्ध फेरि मुद्दा चल्न सक्ने ढोका भने खुला राखेको थियो।
अहिले लगाइएको अभियोग के हो
कोमीले सामाजिक सञ्जालमा इन्स्टाग्राममा पोस्ट गरेको तर पछि मेटेको तस्बिरका आधारमा उनीविरुद्ध अभियोग लगाइएको हो।
उक्त तस्बिरमा सिपीबाट "८६ ४७" बनाइएको थियो। अमेरिकामा बोलीचालीको भाषामा 'एटीसिक्स' को अर्थ 'हटाउनु' वा 'च्युत गर्नु' भन्ने हुन्छ।
कमीले आफूलाई तस्बिरमा भएका सङ्ख्याको कूट अर्थ थाहा नभएको अडान लिँदै आएका छन्। तर ट्रम्प र उनको प्रशासनका अन्य अधिकारीहरूले त्यो अमेरिकाका ४७औँ राष्ट्रपतिलाई दिइएको धम्की भएको दाबी गर्दै आएका छन्।
आफूविरुद्धको अभियोगबारे प्रतिक्रिया जनाउँदै कोमीले भने, "म अझै पनि निर्दोष छु। म अझै डराएको छैन र म अझै पनि स्वतन्त्र सङ्घीय न्यायपालिकामा विश्वास गर्छु।"
अभियोजनबारे घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा एफबीआईका निर्देशक कश्यप पटेलले कोमी उक्त निकायका पूर्वप्रमुख भएको र उनी त्यस्तो पोस्टबाट आकर्षित हुने ध्यान र त्यसबाट निम्तिने परिणामबारे पूर्ण जानकार रहेको तर्क गरेका छन्।
"जेम्स कोमीले राष्ट्रपति ट्रम्पको ज्यानप्रति जोखिम उत्पन्न गर्ने सन्देशलाई लज्जास्पद तरिकाले प्रोत्साहन गरे र संसारभरि देखिने गरी इन्स्टाग्राममा पोस्ट गरे," पटेलले भने।
राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा कोमीलाई बर्खास्त गरिएको थियो। सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेप भएको भन्ने विषयमा उनले अनुसन्धान थालेपछि उक्त निर्णय लिइएको थियो।
त्यसयता राष्ट्रपति ट्रम्पले बारम्बार उनीविरुद्ध मुद्दा हाल्नुपर्ने माग गर्दै आएका छन्। ट्रम्प प्रशासनले मङ्गलवार लगाएको अभियोग कोमीविरुद्ध मुद्दा चलाउने दोस्रो प्रयास हो।
"उनीहरू पुन: फर्किएका छन्। यस पटक नोर्थ क्यारोलाइनाको समुद्री तटमा सिपीहरूको तस्बिरका कारण। यो अन्तिम पनि हुने छैन तर यसबाट म फेरिएको छैन," कोमीले एउटा विज्ञप्तिमा भनेका छन्।
राष्ट्रपतिलाई धम्की दिएको र राज्यको सीमाभन्दा परसम्म त्यो धम्की प्रसारण गरेको आरोप उनीमाथि लगाइएको छ। प्रत्येक अभियोगका लागि अधिकतम १० वर्ष सजाय हुने प्रावधान छ।
ती फौजदारी अभियोगहरू ईस्टर्न डिस्ट्रिक्ट अफ नोर्थ क्यारलाइनामा दर्ता भएका हुन्। त्यही क्षेत्रमा सिपीको तस्बिर खिचिएको विवरण सार्वजनिक भएको थियो।
कसले के भने
अमेरिकाका कार्यवाहक महान्यायाधिवक्ता टड ब्लान्चले राष्ट्रपतिलाई धम्क्याउनु देशको कानुनको गम्भीर उल्लङ्घन भएको बताएका छन्।
गत वर्ष उक्त तस्बिर पोस्ट भएपछि अमेरिकी गुप्तचर निकायहरूले कोमीसँग सोधपुछ गरेका थिए।
पछि स्पष्टीकरण दिँदै उनले "राजनीतिक सन्देश" भएको हुन सक्ने भएकाले आफूले इन्स्टाग्राम पोस्ट हटाएको जनाए।
"कतिपय मानिसहरू ती अङ्कलाई हिंसासँग जोडेर हेर्छन् भन्ने मलाई थाहा थिएन। यो कुरा मेरो मस्तिष्कमै आएको थिएन। तर म कुनै पनि प्रकारको हिंसाको विरोधी भएकाले मैले त्यो पोस्ट हटाएँ।"
लामो समयदेखि कोमीको आलोचना गर्दै आएका ट्रम्पले उक्त पोस्टबारे प्रतिक्रिया जनाउँदै "त्यसको अर्थ बच्चालाई पनि थाहा हुने" टिप्पणी गरेका थिए।
कतिपय कानुनविद्हरूले पर्याप्त आधारबिना अभियोग लगाइएको जस्तो देखिएको भन्दै अमेरिकी न्याय मन्त्रालयले ट्रम्पका राजनीतिक प्रतिद्वन्द्वी ठानिएका व्यक्तिहरूलाई निसाना बनाउन खोजेको आशङ्का व्यक्त गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।