विश्वकपमा दशकौँपछि 'गोल्डन बूट'मा रोचक प्रतिस्पर्धा, कसले मार्ला बाजी

    • Author, एन्डी क्रायर
    • Role, वरिष्ठ पत्रकार, बीबीसी स्पोर्ट
  • Published
  • पढ्ने समय: ५ मिनेट

यस पटक विश्वकपको इतिहासमा दशकौँयता 'गोल्डन बूट'को प्रतिस्पर्धा रोमाञ्चक बन्ने सङ्केत देखिएको छ।

जम्मा दुई खेलबाट लिओनेल मेस्सीले पाँच गोल गरिसकेका छन्। किलिअन म्बाप्पे र अर्लिङ होलान दुवैले चार-चार गोल गरिसकेका छन्।

यस पटक विश्वकपकै इतिहासमा दोस्रो पटक तीन जना खेलाडीहरूले दुई खेलपछि चार वा सोभन्दा बढी गोल प्रहार गरेका हुन्। यसअघि सन् १९५४ मा यस्तो कीर्तिमान बनेको थियो।

विश्वका उत्कृष्ट अग्रपङ्क्तिका खेलाडीहरूले यस वर्षको विश्वकपका प्रारम्भिक घण्टाहरूमा नै अभूतपूर्व किसिमले गोल गरिरहेका छन्।

अस्ट्रियाविरुद्धको खेलमा आर्जेन्टिनाका लिओनेल मेस्सीले दुई गोल गरे र विश्वकपको इतिहासमा सर्वाधिक गोलकर्ताको कीर्तिमान रच्न पुगे।

मौसमका कारणले ढिला भएको फ्रान्स र इराकबीचको खेलमा म्बाप्पेले दुई गोल गरे। म्बाप्पेको त्यो सयौँ अन्तर्राष्ट्रिय खेल थियो।

अनि त्यसलगत्तै गोल प्रहार गर्ने पालो होलानको थियो। यसपालि पहिलो पटक विश्वकप खेलिरहेका उनले नर्वेले सेनेगललाई पराजित गरी अन्तिम ३२ मा छनोट भएको खेलमा दुई गोल गरे।

एक जनाले जे गरिरहेका छन्, अर्कोले त्योभन्दा राम्रो गर्न सक्ने अहिलेको अवस्थाले देखाइरहेको छ।

पहिलो खेलमा गोल गर्न नसकेका क्रिस्टिआनो रोनाल्डोले दोस्रो खेलमा दुई गोल गरेका छन्।

खेलकुदको सर्वाधिक ठूलो प्रतियोगितामा हामी एकपछि अर्का कीर्तिमानहरू भङ्ग भएका विशिष्ट क्षणको साक्षी बनेका छौँ।

फ्रान्सका फुटबल विश्लेषक जुलिअन लाउरेन्सले बीबीसीसँग भने, "ठूला खेलाडीहरू सधैँ बल आफूसँग राख्न चाहन्छन्।"

"मेरो अनुमानमा त्यसको आंशिक कारण उनीहरूले गोल्डन बूटका लागि मात्रै प्रतिस्पर्धा गरिरहेका छैनन्, कतिपयले लामो समययताका कीर्तिमानहरू पछ्याइरहेका छन्।"

'सूपरस्टार चम्किएको दिनमा तोडिएका कीर्तिमान'

यो प्रतियोगिता सुरु हुँदा जर्मनीका मिरोस्लभ क्लोजको नाममा १६ गोलसहित हालसम्मको सर्वाधिक गोलकर्ताको कीर्तिमान थियो।

तर आर्जेन्टिनाले खेलेका दुई खेलपछि ३८ वर्षका मेस्सीले २८ विश्वकप खेलमा १८ गोल गर्दै सो रिकर्ड तोडिदिएका छन्। उनले यो संस्करणमा आर्जेन्टिनाले हालसम्म गरेका सबै गोल आफ्नो नाममा लेखाएका छन्।

तर म्बाप्पे पनि खासै पछाडि छैनन्। उनले १६ खेलमा १६ गोल गरेर क्लोजसँग बराबरी गरेका छन् र उनी विश्वकपमा एकभन्दा बढी पटक गोल्डन बूट जित्ने दौडमा इङ्ग्ल्यान्डका ह्यारी केनसँगै प्रतिष्पर्धामा छन्। दुवैले मेस्सीको गोल सङ्ख्यालाई छायामा पार्न खोजिरहेका छन्।

लाउरेन्सले भने, "हामीले सोचिरहेका थियौँ कि यसपालि पनि यो किलिअन म्बाप्पे शो हुन सक्छ किनभने उनले हाल मेस्सीले कायम गरेको रेकर्ड अविश्वसनीय ढङ्गले पछ्याइरहेका छन्।"

म्यान्चेस्टर सिटीका गोल मशीन होलानको नजर पनि उक्त रिकर्डतर्फ हुन सक्छ भन्नेबारे हामीले कहिलेदेखि चर्चा गर्न थाल्ने होला? यसपटकको प्रतियोगिताको अन्त्यसम्म त्यो नहुन सक्छ तर यदि अहिलेकै दरमा उनले गोलहरू प्रहार गरे भने उनी पनि प्रतिस्पर्धी बन्ने छन्।

यी २५ वर्षे खेलाडी विश्वकपको आफ्ना पहिला दुई खेलमा एकभन्दा बढी गोल गर्ने छैठौँ खेलाडी हुन्। नर्वेबाट खेलेको ५२ खेलमा उनले ५९ गोल प्रहार गरिसकेका छन्।

स्कटल्यान्डका पूर्वस्ट्राइकर एली मक्कोइस्टले आईटीभीसँग भने, "प्राकृतिक फुटबल सामर्थ्यका आधारमा मेस्सी सबैभन्दा अघि छन्। सम्भवत किलिअन म्बाप्पे दोस्रोमा होलान्।"

गोल गर्न सक्ने क्षमताका आधारमा होलानजस्ता खेलाडी पाउन कठिन रहेको उल्लेख गर्दै उनले यी तीन खेलाडीबीच तुलना गर्न नसकिने जनाए।

"ह्यारी केन अलराउन्ड फुटबलरका हिसाबले होलानभन्दा पनि उत्कृष्ट छन्। तर बललाई जाली चुमाउने हिसाबमा हालान सर्वोत्कृष्ट हुन्। फिनिशिङको कुरा गर्दा उनलाई मात खुवाउन अरूलाई सजिलो छैन।"

इङ्ग्ल्यान्डका पूर्वमिड्फील्डर केरेन कार्नीले आईटीभीमा थपे, "त्यो सूपरस्टारहरूको दिन थियो। मेस्सीले सबैको ध्यान खिचे तर म्बाप्पे र होलानले पनि उत्कृष्ट प्रदर्शन गरे।"

उनीहरूलाई रोक्नै सकिन्न

फुटबलका सबैभन्दा खतरनाक अग्रपङ्क्तिका खेलाडीहरूले पहिलो दिनबाटै यो विश्वकपमा कीर्तिमान भङ्ग गर्न थालिसकेका थिए।

मेस्सीका नाममा कैयौँ कीर्तिमान बनेका छन् र उनले उत्कृष्ट खेल पस्किरहेका छन्।

तर उनीबाहेक अन्य खेलाडीहरूले पनि कीर्तिमान बनाइरहेका छन्। म्बाप्पे अब फ्रान्सका लागि सर्वाधिक गोलकर्ता बनेका छन् भने जम्मा दुई खेल खेलेका होलान नर्वेका सर्वाधिक गोलकर्ता बनिसके। केनले इङ्ग्ल्यान्डका लागि ग्यारी लिनेकरले बनाएको कीर्तिमानसँग बराबरी गरेका छन्।

अनि सन् १९५८ मा फ्रान्सका जुस्ट फोन्टेनले एउटा प्रतियोगितामा कायम गरेको १३ गोलको कीर्तिमानप्रति उनीहरू सबैको नजर छ।

अहिलेसम्म फोन्टेन, सन् १९७० मा गेर्ड मुलर र सन् १९५४ मा हङ्गेरीका सान्डोर कोचिसले मात्रै एउटा विश्वकपमा १० वा त्योभन्दा बढी गोल गरेका छन्।

यसपालि प्रतियोगिता अन्त्य हुँदासम्म उक्त सूचीमा नयाँ नामहरू थपिए भने आश्चर्य हुने छैन। यसपालि ४८ वटा टोलीले विश्वकपमा सहभागिता जनाइरहेकाले पनि बढी गोलको सम्भावना छ। वरीयतामा पछि भएका धेरै टोलीहरूका कारणले पनि विश्वका उत्कृष्ट स्ट्राइकरहरूले राम्रो नतिजा दिलाउन सफल भइरहेका छन्।

विश्वकपका विजेताहरूले पहिलाभन्दा थप एक चरण खेल्नुपर्ने भएको छ, जसले पनि गोलको सम्भावना बढाएको छ।

फ्रान्सका पूर्वडिफेन्डर गायल क्लिसीले बीबीसी स्पोर्टससँग भने, "किलिअन म्बाप्पे एउटा पुस्ताका हिस्सा हुन् जसमा नडराउने आत्मविश्वास देखिन्छ।"

"म सम्झिन्छु कि जब मैले खेल्न सुरु गरेको थिएँ, त्यस बेला तपाईँले पुरानो पुस्तालाई सम्मान दिनुपर्थ्‍यो। यो पुस्ताले पनि सम्मान गर्छ तर फरक ढङ्गले। उमेरको कुरा नगर्नुहोस्, प्रदर्शनको कुरा गर्नुहोस्।"

गोल्डन बूटको प्रतिस्पर्धाबारे म्बाप्पे भन्छन्, "मैले त्यो अहिले सोचिरहेको छैन। लिओ [मेस्सी]ले सधैँ गोल गर्छन्। उनले गरेका छन् र गरिरहेका छन्।"

"यदि मैले उनलाई हेर्न थालेँ भने मलाई लाग्छ मैले अझै धेरै गर्नुपर्छ। त्यही भएर उनले के गरिरहेका छन् मैले हेरिरहेको छैन। मैले आफ्नो टोलीलाई सहयोग गर्ने भन्नेबारे मात्रै सोचिहेको छु। म गोल गर्छु र त्यो तहको नजिक पुग्छु।"

होलानलाई समर्थन गर्दै नर्वेका व्यवस्थापक स्टोल सोल्भाकनले फ्रान्स र आर्जेन्टिनका लागि खेल्दा गोल्डन बूट जित्न सजिलो हुने बताए। उनले आफूहरूले होलानलाई थप खेल र आगामी खेलहरूमा थप अवसरहरू दिन कोसिस गर्ने बताए।

अमेरिकाका स्ट्राइकर फोलारिन बालोगनले प्रतियोगितामा आफ्नो पहिलो खेलमा दुई गोल गर्दै उत्कृष्ट सुरुवात गरेका थिए।

रमाइलो पारामा उनले भने, "मलाई लाग्छ यो [गोल्डन बूटको प्रतिस्पर्धा] झर्कोलाग्दो पनि छ। मेस्सी, म्बाप्पे र होलानलाई हेर्दा उनीहरूलाई रोक्नै सकिँदैन। उनीहरूले प्रत्येक खेलमा एक वा त्योभन्दा बढी गोल गरिरहेका छन्।"

"मेरो पनि प्रयास त्यही स्तरमा पुग्ने कोसिस गर्नु हो। आफू पनि त्यस्तै रोक्न नसकिने बन्न कोसिस गर्ने हो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।