विश्वकप इतिहासका ११ विवादास्पद घटना

Published

युरुग्वेका लुइस सुआरेजले खेलका क्रममा इटलीका जोर्जीयो किएलीनीलाई टोकेपछि उनलाई फिफाले गरेको नौ खेलको प्रतिबन्ध हाल ठूलो चर्चा र विवादको विषय बनीरहेको छ।

यसै सन्दर्भमा बीबीसी स्पोर्टले विश्वकप फुटबलको इतिहासमा भएका विभिन्न ११ वटा विवादास्पद घटनाहरुलाई फेरि एकपटक सम्झना गरेको छ।

जिदान
तस्बिरको क्याप्शन, फ्रान्सका कप्तान जिनेदिन जिदानले इटलीका माटेराज्जीलाई आवेशमा आएर टाउकोले हानेका थिए

१। जीनेदिन जिदानले मार्को माटेराज्जीलाई टाउकोले हानेको, २००६: बर्लीनमा भएको सन् २००६ को विश्वकपको फाइनल खेलमा फ्रान्सका कप्तान जिनेदिन जिदानले इटलीका मार्को माटेराज्जीको छातीमा टाउकोले हानेका थिए।

खेलको फोर्थ अफिसियलले उक्त घटनाका बारे रेफ्री होरेसियो एलिजोन्डोलाई जानकारी गराएपछि जिदानलाई खेलबाट बाहिर पठाइएको थियो।

त्यसबेला माटेराज्जीले जिदानको बहिनीका बारे अपशब्द प्रयोग गरेपछि उनले आवेशमा आएर प्रहार गरेको बताइएको थियो।

२। ब्राजीलका कार्लोसले फ्रान्सका ब्रुनो बेलोनलाई गरेका फाउल, १९८६: फ्रान्सका स्ट्राइकर ब्रुनो बेलोनलाई ब्राजीलका गोलरक्षक कार्लोसले सन् १९८६रु को क्वाटर फाइनल खेलका क्रममा फाउल गरेका थिए।

तर रेफ्रीले त्यसप्रति कुनै फ्री किक दिएननन्।

बीबीसीका सह कमेन्टेटर जीमी हिलले त्यस घटनालाई “एकदमै ठूलो गल्ती” भनेका थिए।

राट्टीन
तस्बिरको क्याप्शन, रातो कार्ड देखाइएकोमा रिसाएका अर्जेन्टीनाका राट्टीनले मैदान छाडेर जान अस्वीकार गर्दा ठूलो विवाद भएको थियो

३। अर्जेन्टीनाका एन्टोनीयो राट्टीनलाई रातो कार्ड, १९६६: संयुक्त अधिराज्यको चर्चीत वेम्बली रंगशालामा इंगल्याण्ड विरुद्धको क्वाटर फाइनल खेलमा रेफ्री रुडोल्फ क्रेइटलेइनले अर्जेन्टीनाका कप्तान एन्टोनीयो राट्टीनलाई रातो कार्ड देखाएका थिए।

त्यसबाट उनी यति धेरै रिसाए की उनले मैदान छाडेर बाहिर जान अस्वीकार गरे।

यो विवाद सल्टाउन निकै समय लाग्यो र उनी बाहिरीनु अघि खेलमा लामो ढिलाइ भएको थियो।

ब्याट्टीस्टन
तस्बिरको क्याप्शन, फ्रान्सका ब्याट्टीशन जर्मनीका गोल रक्षकको फाउलबाट बेहोस नै हुन पुगेका थिए

४। फ्रान्सका प्याट्रिक ब्याट्टीश्टन बेहोस, १९८२:

पश्चिम जर्मनीका गोलरक्षक हाराल्ड शूमाकरले फ्रान्सका प्याट्रीक ब्याट्टीश्टनलाई स्पेनको सेभिलमा भएको सेमीफाइनल खेलका बेला फाउल गरेका थिए।

ति फ्रान्सेली डिफेन्डर त्यसपछि बेहोस नै भए। उनलाई खेल मैदानमा नै अक्सिजन दिनु परेको थियो।

तर रेफ्री चार्ल्स कोभरले जर्मनीको पक्षमा गोल किकको निर्णय गरिदिए।

५। नेदरल्याण्ड्सका फ्र्यांक राइकार्डले रुडी भोलरलाई थुकेको, १९९०: सन् १९९० मा अन्तिम १६ टोली बीचको प्रतिस्पर्धात्मक भिडन्तका क्रममा चर्को विवाद गरेपछि नेदरल्याण्डसका मिडफिल्डर फ्र्यान्क राइकार्ड र पश्चिम जर्मनीका रुडी भोलर दुवै जनालाई रातो कार्ड देखाएर मैदान बाहिर पठाइएको थियो। त्यसपछि फ्र्यांक राइकार्डले जर्मनीका भोलरलाई थुकेका थिए।

म्याराडोना
तस्बिरको क्याप्शन, अर्जेन्टीनाका म्याराडोनाले इंगल्याण्डका विरुद्ध हातैले हानेर गोल गरिदिएका थिए

६। “ईश्वरको हात” १९८६: अर्जेन्टीनाको डिएगो म्याराडोनाले इंगल्याण्डसंगको खेलमा, गोलपोष्ट निर उफ्रीएर बल नियन्त्रणमा लिने प्रयास गर्दा हातैले हानेर गोल गरिदिएका थिए। सन् १९८६ मा मेक्सिको सिटीमा भएको क्वाटर फाइनल खेलमा इंगल्याण्डका गोलरक्षक पीटर शिल्टन विरुद्ध गरेको त्यस्तो गोललाई खेल अधिकारीहरुले देखेनन् र हातले हानेर गरेको गोललाई सदर गरिदिए। पछि पत्रकारहरुसंग कुरा गर्दै म्याराडोनाले आफूलाई “ईश्वरको हात”को सहयोग प्राप्त भएको बताएका थिए।

७। लुइस सुआरेजको ह्याण्डबल, २०१० सन् २०१० को क्वाटर फाइनल खेलमा, अतिरिक्त समयका बेला घानाले गरेको गोल प्रहारलाई युरुग्वेका लुइस सुआरेजले गोललाइनमा हातैले छेकेर गोल हुन दिएनन् र जीतबाट बञ्चित गरिदिए।

उनलाई रातो कार्ड देखाइयो र घानाले पेनाल्टी प्रहारको अवसर पायो।

सुआरेजको ह्याण्ड बल
तस्बिरको क्याप्शन, युरुग्वेका सुआरेजले घानाले प्रहार गरेको बल हातैले छेकेर गोल हुनबाट रोकेका थिए

तर घानाका आसामोआ जीआनले पेनाल्टीलाई गोलमा बदल्न सकेनन्।

परिणामत: खेल बराबरी हुन गई पेनाल्टी शुटआउटबाट निर्णय गर्नुपर्ने चरणमा पुग्यो, जुन क्रममा युरुग्वेले ४-२ को अग्रता लिएर खेल जित्यो।

८। “न्युरेम्बर्गको लडाईं” २००६: सन् २००६ मा जर्मनीमा भएको विश्वकप प्रतियोगीतामा, पोर्चुगलले नेदरल्याण्ड्सलाई पराजीत गरेको खेल निकै हिंसात्मक हुन पुगेको थियो।

उक्त खेलमा चारजना खेलाडीलाई रातो कार्ड देखाउनु परेको थियो भने १६ वटा पहेंलो कार्ड देखाइएको थियो।

हालसम्म एउटै विश्वकप खेलमा त्यति धेरै पटक रातो र पहेंलो कार्डको प्रयोग भएको छैन।

खेलमा आक्रोशको मात्रा यति धेरै देखिएको थियो की त्यसलाई “ न्युरेमबर्गको लडाई” नै भनियो।

नाइजेल डी योंग
तस्बिरको क्याप्शन, नेदरल्याण्ड्सका डी योंगले स्पेनका जाबी अलोन्सोको छातीमा किक हानेका भएपनि पहेंको कार्ड मात्रै पाए

९। नाइजेल डी योंगको “कराते किक” २०१०: सन् २०१० को फाइनल खेलका बेला नेदरल्याण्ड्सका नाइजेल डी योंगले स्पेनका जाबी अलोन्सोको छातीमा लाग्ने गरी किक हानेका थिए।

तर रेफ्री हावर्ड वेबले उनलाई पहेंलो कार्ड मात्रै देखाए।

तर त्यो खेलको ट्याकल यति नराम्रो थियो की खेल कमेन्टेटर गाए मोब्रेले त्यसलाई “कराते किक” भनेका थिए।

१०। रिभाल्डोको चोट, २००२: सन् २००२ को विश्वकपमा टर्कीका डिफेन्डर हाकान अनसलले हानेको बल खुट्टामा लागेपछि ब्राजीलका रिभाल्डोले टाउकोमा चोट लागेको नक्कल गरेका र मैदानमा पल्टेका थिए।

रेफ्रीले त्यसपछि अनसललाई रातो कार्ड देखाएर खेलबाट बाहिर पठाइदिए।

टेलिभिजनको दृश्यमा भने रिभाल्डाले चोट लागेको नक्कली अभिनय गरेको स्पष्टै देखिएको थियो।

११। “स्यान्टीयागोको भिडन्त” १९६२: सन् १९६२ को विश्वकपमा चिलीसंगको खेलमा भएको हिंसात्मक घटनाका कारण इटलीका दुईजना खेलाडीलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाइएको थियो।

उक्त खेललाई पछि “स्यान्टीयागोको भिडन्त” भनिएको थियो।