आफ्ना सैनिकमाथि आक्रमणको प्रयास भएसँगै अमेरिकाले थाल्यो इरानमाथि 'शक्तिशाली' हमला

तस्बिर स्रोत, Reuters
अमेरिकी सेनाले मध्यपूर्वमा रहेका आफ्ना सैनिकहरूमाथि अचानक भएको आक्रमण प्रयासको प्रत्यूत्तरमा इरानमाथि आक्रमण सुरु गरेको जनाएको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समा यसलाई इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डाहरू तथा होर्मुज जलमार्गमा अमेरिकी जहाजहरूलाई लक्षित गरी गरेको आक्रमणको जबाफस्वरूपको "शक्तिशाली प्रतिक्रिया" भनेको छ।
यो पछिल्लो सैन्य तनाव एक दिनअघि अमेरिका र साउदी अरबले संयुक्त रूपमा सार्वजनिक रूपमा घोषणा गरेर इराकमा रहेका इरान समर्थित समूहहरूलाई लक्षित गरी गरेको पहिलो संयुक्त आक्रमणपछि थप चर्किएको हो।
फेब्रुअरीमा अमेरिका र इजरेलले इरानमाथि सैन्य आक्रमण सुरु गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो युद्ध केही सातामै सकिने बताएका थिए। तर अहिले पाँच महिना बितिसक्दा पनि युद्ध अन्त्य हुने कुनै सङ्केत देखिएको छैन।
यस साता केही दिन तुलनात्मक रूपमा शान्त रहेको द्वन्द्व फेरि चर्किएको हो।
केही दिनसम्म दुवै पक्षले आक्रमण रोकेका थिए। त्यसबेला कूटनीतिक समाधान खोज्ने उद्देश्यले वार्ता पुनः सुरु भएको ठानिएको थियो। ट्रम्पले तिनलाई "निकै सौहार्दपूर्ण कुराकानी" भनिरहँदा तेहरानले भने कुनै पनि वार्ता नभएको बताएको थियो।
बुधवार आक्रमणको घोषणा हुनुभन्दा केही समय अघि ट्रम्पले अमेरिकी सैनिकमाथि भएको आक्रमणको प्रयासको बदलामा कडा जबाफ दिने चेतावनी दिएका थिए। "हामी उनीहरूमाथि निकै कडा प्रहार गर्ने छौँ, किनकि अब प्रहार गर्ने पालो हाम्रो हो," ह्वाइट हाउसमा सञ्चारकर्मीमाझ उनको भनाइ थियो।
इरानको इस्लामिक रिभोल्यूशनरी गार्ड कोर (आईआरजीसी) ले आफूले अमेरिकी सेनाको जोर्डनस्थित एउटा हवाई अड्डा र कमान्ड सेन्टरमाथि हमला गरेको जनाएको छ। उसले त्यसलाई "अमेरिकी सेनाको आक्रामक व्यवहारको जबाफ" भनेको छ।
त्यस्तै उसले आफ्ना नौसेनाले होर्मुजमा तीनवटा तेल ट्याङ्करमाथि पनि आक्रमण गरेको जनाएको छ। ती जहाजहरूले "चेतावनीहरूलाई बेवास्ता गरेका" आईआरजीसीको भनाइ छ।
यो साताको सुरुमा द्वन्द्वमा तीन दिनको विराम देखिएको थियो। त्यसअघि अमेरिकाले लगातार १३ रातसम्म बमबारी गरेको थियो र त्यस क्रममा उसले इरानका हातहतियार र सैन्य स्थलहरूलाई लक्षित गरेको जनाएको थियो। उक्त आक्रमणमा कैयौँ मानिस मारिएका विवरण आएका थिए।
सेन्टकमले जनाएअनुसार "आईसीआरसीद्वारा निर्देशित ३० भन्दा बढी ड्रोन आक्रमणको कडा जबाफस्वरूप" मङ्गलवार अमेरिका र साउदी अरबको संयुक्त हमलाका क्रममा पूर्वी इराकका "कैयौँ आतङ्कवादी सामग्री तथा हतियार भण्डारण स्थलहरू"लाई निशाना बनाइएको छ।
इरान समर्थित शिया मिलिसियाहरूको प्रभाव रहेको इराकको अर्धसैनिक सङ्गठन 'पपुलर मोबिलाइजेशन फोर्सेस' (पीएमएफ) ले उक्त हमलामा आफ्ना कम्तीमा २० सदस्य मारिएका जनाएको छ।
आफूलाई प्रमुख सुन्नी मुस्लिम शक्ति मान्ने साउदी अरब र सबैभन्दा ठूलो शिया मुस्लिम देश इरानबीच दशकौँदेखि क्षेत्रीय प्रभुत्वका लागि सङ्घर्ष चल्दै आएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















