बाढीग्रस्त क्षेत्रमा सामूहिक खेती कति होला उपयोगी

    • Author, प्रतीक्षा खनाल
    • Role, बीबीसी हातेमालो
  • Published
  • पढ्ने समय: ४ मिनेट

ठूलो प्राकृतिक विपद् भएपछि तत्कालका लागि खाद्य असुरक्षा टार्न सामूहिक खेती प्रभावकारी हुने विज्ञहरू बताउँछन्।

त्यस्तो प्रयास विपद् व्यवस्थापन, खाद्यसुरक्षा र ग्रामीण अर्थतन्त्रलाई पुनरुत्थान गर्ने एउटा प्रभावकारी र भरपर्दो माध्यम हुन सक्ने उनीहरूको भनाइ छ।

गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीका कारण कृषि प्रणालीमै असर परेको सन्दर्भमा एक्लाएक्लै खेती गर्नुभन्दा समुदाय मिलेर सामूहिक रूपमा खेती गर्दा जोखिम कम भई उत्पादन समेत बढाउन सकिने बागमती प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक नारायणकुमार श्रेष्ठले बताए।

उनका अनुसार बाढीका कारण क्षति पुगेका खेतीयोग्य जमिन तत्कालै पुरानै अवस्थामा फर्काउन कठिन हुने भएकाले थोरै जग्गा भएका ठाउँमा ससाना चक्ला बनाएर सामूहिक खेती गर्न सकिन्छ।

त्यसका लागि स्थानीय तहले समन्वय गर्नुपर्ने उनको सुझाव छ।

'उपयोगी विकल्प'

लेदो, बालुवा र ढुङ्गा थुप्रिएको जमिनलाई बिराएर पुन: खेतीयोग्य बनाउन समय लाग्ने भएकाले तत्कालका लागि त्यहाँका समुदायलाई सामूहिक खेती उपयोगी विकल्प हुन सक्ने कृषि अधिकारीहरूको ठम्याइ छ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विपद्पछिको प्रारम्भिक अध्ययन प्रतिवेदनका नुसार भोटेकोशी-त्रिशूली बाढीका कारण जग्गाजमिनमा धेरै ठूलो क्षति भएको छ।

भदौ १० गतेको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा नदी आसपासका खेतीयोग्य ५०८ हेक्टर जमिनमा क्षति पुगेको अध्ययनले देखाएको छ। त्यसको अनुमानित मूल्य करिब ३५ अर्ब ४४ करोड रुपैयाँ छ।

बाढीले तहसनहस पारेको भूमिलाई पुन: खेतीयोग्य बनाउन कम्तीमा छ महिनादेखि तीन वर्षसम्म लाग्न सक्ने कृषि मन्त्रालयको अनुमान छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत कृषि विभागका उपमहानिर्देशक विनोदकुमार भट्टराईले बाढीपछि प्रारम्भिक राहतको चरण सकिने क्रममा रहेकाले अब कृषि कर्ममा फर्कन चाहने प्रभावित क्षेत्रका बासिन्दालाई सहजीकरण गर्नुपर्ने बताए।

"नाफाघाटाको बोझ सिङ्गो व्यक्तिले मात्र बोक्न नपर्ने र विपद्‌मा खाद्यान्न जुटाउन सहज हुने भएकाले सामूहिक खेतीलाई प्रोत्साहन गर्नुपर्छ," उनले भने।

कसरी गर्न सकिन्छ सामूहिक खेती

बागमती प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक श्रेष्ठका अनुसार ससाना जग्गालाई चक्लाबन्दी गरेर सामूहिक खेती गर्न सकिन्छ।

त्यसका लागि इच्छुक व्यक्तिहरु मिलेर समूह बनाई स्थानीय तहसँग सम्पर्क गर्नुपर्ने उनले बताए।

श्रेष्ठले भने, "५० र १०० मिटरको वरिपरि रहेका जमिनलाई चक्लाबन्दी गरेर सामूहिक खेती गर्न सकिन्छ। स्थानीय तहमा रहेको कृषि शाखामा सुरुमा सम्पर्क गर्नुपर्छ, प्रदेशले पनि बनाउँछ र प्रदेशका जिल्लास्थित कार्यालयले यस कार्यमा सघाउन सक्छन्।"

प्रभावित व्यक्तिहरूले समूह बनाएर स्थानीय पालिकामा दर्ता गरे सामूहिक खेती गर्न अझ सहज हुने उनको भनाइ छ।

त्यस्ता स्थानमा छोटो समयमा उत्पादन हुने बालीहरू लगाउन सकिने राष्ट्रिय योजना आयोगको राष्ट्रिय खाद्य तथा पोषण सुरक्षा समन्वय समितिको विज्ञ सदस्य डा यमुना घले बताउँछिन्।

कतिपय परिवारको जमिन बाँकी रहे पनि खेती गर्न सक्ने जनशक्ति नरहेको र कतिपयको जमिन नै बगेको अवस्थामा सामूहिक खेती सबैलाई समेट्ने प्रभावकारी विकल्प हुन सक्ने उनको भनाइ छ।

सरकारले सहयोग कसरी गर्छ

कृषि विभागका उपमहानिर्देशक भट्टराईका अनुसार सामूहिक खेती गर्न चाहने कृषकहरूलाई सरकारले आवश्यक बीउबिजन उपलब्ध गराउन सक्छ।

प्रभावित क्षेत्रको वितरण प्रणाली नै बिग्रिएको अवस्थामा त्यसलाई फर्काउन सरकारले मद्दत गर्ने उनको भनाइ छ।

बागमती प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक श्रेष्ठले सरकारले मल र बीउ उपलब्ध गराउनुका साथै कुनै खेती गर्नुअघि माटो खेतीयोग्य भए नभएको जाँच गर्न पनि सहयोग गर्ने बताए।

उनले भने, "खेती गर्नुअघि स्थानीय तहका प्राविधिकले माटो जाँच गर्न मद्दत गर्छन्, माटोको नमुना सङ्कलन गरी माटो परीक्षण प्रयोगशालामा जाँच हुन्छ अनि माटो 'स्वस्थ' भएको प्रमाणपत्र दिइन्छ।"

प्रभावित स्थानलाई प्राथमिकता दिई ती स्थानमा साना सिँचाइ कार्यक्रम पनि लैजान सकिने श्रेष्ठको भनाइ छ।

बाढीले क्षतिग्रस्त जमिनमा बगर खेती एउटा विकल्प हुने श्रेष्ठ बताउँछन्।

उनका अनुसार बाढीले बगर बनाएका स्थानमा सिमी, घिरौँला, करेला र काँक्राजस्ता मौसमी लहरे तरकारीहरू अनि खरबुजा र तरबुजाजस्ता फलफूल लगाउन सकिन्छ।

साथै बिरुवाको नर्सरी पनि सञ्चालन गर्न सकिने उनी बताउँछन्।

बाढीले क्षति नपुगेको तर थोरै बचेको जग्गामा चक्लाबन्दी गरेर पनि सामूहिक खेती गर्न सकिने अनि तिनमा स्थानीय बासिन्दाले रोजगारीको समेत अवसर पाउने कृषि विभागका उपमहानिर्देशक विनोदकुमार भट्टराई बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।