दिल्लीमा प्रधानमन्त्री बालेनसँग विदेशमन्त्री एस जयशङ्करको शिष्टाचार भेट, भ्रमणबाट बालेनले के सन्देश देलान्?

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली, दिल्ली
  • Published
  • पढ्ने समय: ४ मिनेट

भारतको राजकीय भ्रमणमा आज अपराह्न दिल्ली पुगेका प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश मन्त्री एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री बसेको होटलमा भएको भेट करिब २५ मिनेट चलेको थियो।

भेटमा दुवै देशका उच्च अधिकारीहरू पनि सहभागी थिए।

"नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेष गरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ,"भेटवार्ताबारे प्रधानमन्त्री बालेनको सचिवालयले भनेको छ, "उहाँहरूले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गर्नुभएको छ।"

भारतीय विदेश मन्त्रालयले भ्रमणले नेपाल र भारतबीचको "चिरस्थायी र बहुआयामिक साझेदारीलाई सुदृढ बनाउने अवसर प्रदान" गर्ने बताएको छ।

दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिँदा प्रधानमन्त्री बालेनलाई भारतका आपूर्ति तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए।

भ्रमण किन महत्त्वपूर्ण?

प्रधानमन्त्री बालेनको महत्त्वपूर्ण राजनीतिक भेटघाट सोमवार हुने तालिका छन्।

उनीसँग अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत गएका छन्।

राष्ट्रपति भवनमा गएर गार्ड अफ अनर ग्रहण गर्नेदेखि भारतका प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ताका कार्यक्रमहरू छन्।

हैदराबाद हाउसमा बिहान ११ बजेबाट नेपाल र भारतका प्रधानमन्त्रीबीचको भेटवार्ता सुरु हुने र उक्त औपचारिक छलफल सकिएपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा केही समझदारी पत्रहरूमा हस्ताक्षर गरिने भनिएको छ। त्यसमा अयोध्याबाट जनकपुरसम्म सञ्चालन हुने घोषणा गरिएको रेल सेवाको उद्‌घाटनको कार्यक्रम पनि पर्छ।

प्रधानमन्त्री बालेन त्यहाँबाट भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँगको भेटवार्ताका लागि राष्ट्रपति भवन पुग्नेछन्।

नेपाल चीन सीमामा अवस्थित भोटेकोशी नदीमा गत अगस्टमा आएको विनाशकारी बाढीपछि नेपालले जलवायु सङ्कटसँग जुझ्न र विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग खोज्दै आएको छ।

त्यही भएर सत्ता सम्हालेपछि कुन देश पहिले भ्रमण गर्ने कुरालाई खासै ध्यान नदिई प्रधानमन्त्री बालेन राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्यूयोर्क पुगेका थिए।

सोमवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको औपचारिक भेटवार्तापछि भारतले नेपालका बाढी प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका लागि सहयोग घोषणा गर्ने ठानिएको छ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालले बाढीपछिको पुनर्निर्माण, सडक पूर्वाधार र ऊर्जासहितका परियोजनाका लागि २ अर्ब डलर भन्दा बढीको ऋण एवं अनुदान सहयोग खोजेका खबरहरू ‌आएका छन्।

भ्रमणको पूर्व सन्ध्यामा नेपालका परराष्ट्र सचिवले दुई पक्षीय साझेदारीहरूलाई थप गति प्रदान गर्नुका साथै नागरिकले प्रत्यक्ष महसुस गर्न सक्ने ठोस लाभ प्राप्त हुने अपेक्षा गरिएको बताएका थिए।

भारतले चाहिँ सम्पर्क सञ्जाल, व्यापार र वाणिज्य, जलस्रोत र ऊर्जसम्मका विषयमा छलफल गरिने उल्लेख गरेको छ।

नेपाल भारत हवाई सम्पर्क सञ्जाल विस्तारदेखी नेपालले माग गर्दै आएको हवाई रुटका विषयहरूमा पनि सहमति खोज्ने प्रयास दुवै पक्षहरूले गरिरहेका छन्।

विज्ञहरू के भन्छन्?

नेपाल-भारत प्रबुद्ध समूहमा भारततर्फका नेतृत्वकर्ता भारतीय जनता पार्टीका नेता भगत सिंह कोश्यारी नेपालका युवा प्रधानमन्त्रीलाई भारतले उपयुक्त व्यवहार गर्ने भन्दै प्रधानमन्त्री बालेनको भ्रमण सफल हुने आफूले ठानेको बताउँछन्।

उनले भने, "नेपालबाट आएका ए, बी, सी जो कोही हुन् भारतले सकारात्मक व्यवहार गर्छ। हाम्रा परम्परा, सभ्यताहरू एउटै छन्। को प्रधानमन्त्री छ वा को मुख्यमन्त्री छ भन्ने कुराले खासै अर्थ राख्दैन।"

सही सल्लाहकार र साथीहरू भएमा बालेन सफल नेता हुने उनको टिप्पणी छ।

"भारतमा प्रधानमन्त्री मोदीको निश्चित गुणहरू छ। पाको नेता भएका नाताले म भन्न सक्छु, युवा पुस्ताहरू आउनुपर्छ। युवा भए पनि बालेन शाहले काठमाण्डूको मेअरको अनुभव हासिल गरेका छन्। मेअरका रूपमा प्रशासन चलाएको अनुभव छ तर देश चलाउने प्रधानमन्त्रीले मात्रै होइन। उनका सल्लाहकार, क्याबिनेट सदस्यको सबैको भूमिका हुन्छ।"

तपाईँ भारतले बालेन सरकारसँग कस्तो सम्बन्ध राख्नुपर्छ भन्ने ठान्नु हुन्छ?

"भारतले कस्तो गर्नुपर्छ म भन्दिन। हाम्रा वरिष्ठ नेताहरू अनुभवी र परिपक्व छन्। म भन्दा धेरै उनीहरूलाई थाहा छ। हामी नेपालसँग ज्यादै नजिक छौँ र हाम्रो धेरै पुरानो सम्बन्ध हो त्यही भएर म अझ नजिक महसुस गर्छु," कोश्यारीको जबाफ छ।

उनी नेपाल भारत सम्बन्धबारे आफू सदैव आशावादी रहेको बताउँछन्। "दुई देशबीच विकाशका लागि प्रचुर सम्भावना छ। मलाई लाग्छ, भारतले अहिले नै धेरै योगदान गरिरहेको छ। म अपेक्षा गर्छु की नेपालको समृद्धिका लागि भारतले अझ सघाउनेछ।"

भारतबाट के सिक्ने, के लिने?

भूराजनीति र कूटनीतिक मामिलाका जानकार भास्कर कोइराला कहिलेकाहीँ यस्ता भ्रमणबाट दुई देशका सम्बन्धमा ठोस उपलब्धिहरू आउन वर्षौँ लाग्ने बताउँछन्।

उनले भने, "नेपालले भारतबाट धेरै सिक्न पनि सक्छ र सहयोगहरू पनि लिन सक्छ। पैसा मात्र होइन विज्ञता र प्राविधिक ज्ञानको पनि कुरा गरेको हुँ। सुरुङ मार्गहरू निर्माणदेखि विकास र पूर्वाधारका धेरै क्षेत्र छन्।"

जेन जी, अल्फा र पाका पुस्ता सबैले विकास चाहने उल्लेख गरेका उनले पूर्वाधारसहितका क्षेत्रमा दुई देशले मिलेर काम गर्नुपर्ने बताए।

प्रधानमन्त्री वालेन्द्र शाहको यो भ्रमणमा दुई देशबीच राजनीतिक र रणनीतिक पक्षहरूमा भने अन्तरक्रिया हुने सम्भावना आफूले कम देखेको उनी सुनाउँछन्।

"यस्ता खालका राजकीय भ्रमणमा तपाईँले पूर्ण मेन्यू पस्कनुपर्छ। अन्तरक्रियाहरू गरिनुपर्छ। भ्रमणअघि जुन तयारीहरू भयो त्यसमा पनि राजनीतिक र रणनीतिक सवालहरूमा छलफल गर्न सीमित सम्भावना छ भन्ने शायद ठहर गरिएको हुनसक्छ।"

गहिरो राजनीतिक विमर्शको अभावमा 'व्यावसायिक' र 'नाफा केन्द्रित' अन्तरक्रियाहरू हुने बताएका कोइरालाले नयाँ सरकार भारतले विगतमा काम गरिरहेको राजनीतिक शक्ति नरहेको सन्दर्भ पनि उल्लेख गरे।

अहिले पनि परम्परागत राजनीतिक शक्तिहरू पनि आफूसँग नचिढिउन् भन्ने सोचेर भारतले आफ्ना कतिपय नीतिहरू लिइरहेको हुनसक्ने उनी ठान्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।