अचानक आउने ठूलो बाढीको पूर्वानुमान गर्न भूकम्प मापनयन्त्र कसरी उपयोगी हुन सक्छ

    • Author, सागर बुढाथोकी
    • Role, बीबीसी हातेमालो
  • Published
  • पढ्ने समय: ५ मिनेट

भूकम्प मापन गर्ने यन्त्र "साइज्मोमिटर"मा रेकर्ड भएको तरङ्गलाई अध्ययन गरेर हिमाली क्षेत्रबाट सुरु हुने हिमपहिरो र त्यसले निम्त्याउने बाढीको पूर्वानुमान गर्न सकिने निष्कर्ष एउटा वैज्ञानिक अध्ययनले निकालेको छ।

उक्त अध्ययनका अनुसार गत भदौ १० गते बिहान नेपाली समयानुसार ८ः३७:१६ बजे स्यान्बूरीको उत्तरी भिरालो भागको लाङ्टाङ हिमशृङ्खलामा हिमचट्टान खसेर पहिरो सुरु भएको थियो।

त्यो हिमचट्टानको वेग १६५ किलोमिटर प्रतिघण्टा थियो भने त्यसबाट उत्पन्न कम्पनको तरङ्ग ५.२ म्याग्निट्यूडको भूकम्पजत्तिकै मापन भएको थियो।

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले सुरुमा हिमचट्टानको पहिरो गएको र त्यो बगेर ठूलो बाढी आएको बताए।

उनका अनुसार हिमचट्टानको पहिरोले बगाएको हिमनदीजन्य पदार्थको कुल आयतन झन्डै १० करोड घनमिटर थियो भने चट्टानको ढिक्काको लम्बाइ १.४ किलोमिटर र उचाइ ५०० मिटर थियो।

"भदौ १० गते ठूलो विनाश गराउने पहिरो सुरु हुनुभन्दा १७ मिनेटअगाडि मात्रै पनि २.५ म्याग्निट्यूडको भूकम्प बराबरको तरङ्ग रेकर्ड भएको थियो," अधिकारीले भने, "पहिरो सुरु हुनुभन्दा दुई साताअघिको अवधिमा ६० भन्दा बढी भूकम्पीय घटनाहरू रेकर्ड भएका थिए।''

उक्त घटनाको झन्डै डेढ महिनापछि बूढीगण्डकीमा अचानक बाढी आउँदा पनि कम्पन रेकर्ड गरिएको बताइएको थियो।

भूकम्प मापन गर्ने उपकरणले रेकर्ड गरेका तरङ्गहरूको विश्लेषण गरेर नै भविष्यमा भोटेकोशी-त्रिशूली बाढीजस्ता हिमाली क्षेत्रमा आउन सक्ने ठूला बाढीको पूर्वानुमान गरेर त्यसको क्षतिबाट बच्न सकिने अधिकारीले बताए।

उक्त अध्ययनका निम्ति खानी तथा भूगर्भ विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारी र शिव सुवेदीसहित सात देशका १७ जना वैज्ञानिकले सहकार्य गरेका हुन्। सो अध्ययन वैज्ञानिक जर्नल Seizmica मा प्रकाशित भएको छ।

अध्ययन कसरी गरियो?

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले देशभरि विभिन्न स्थानमा भूकम्प मापन गर्ने यन्त्रहरू जडान गरेको छ। ती यन्त्रले ठूलो बाढी तथा पहिरो जाँदा उत्पन्न हुने कम्पन पनि रेकर्ड गरेका हुन्छन्।

भूकम्पविद् अधिकारीका अनुसार त्यसअघिका सबैजसो विपद्‌मा तरङ्गहरू रेकर्ड भए पनि पहिला राम्रोसँग अध्ययन गरिएको थिएन।

तिब्बत हुँदै नेपाल भित्रिएको भोटेकोशी बाढी हिउँ र त्यहाँको चट्टानको विशाल ढिक्का खसेर उत्पन्न भएको थियो। त्यो बाढीले करिब तीन-चार सेकेन्ड प्रतिकिलोमिटरको वेगले छोटो समयमा लामो दूरी पार गर्‍यो।

त्यो बाढीको तरङ्ग नेपालमा भएका भूकम्प मापन केन्द्रमा मात्र नभएर विदेशमा झन्डै १९,००० किलोमिटर टाढासम्मका स्टेशनमा पनि रेकर्ड भएको बताइएको छ।

"साइज्मोमिटरमा रेकर्ड भएको तरङ्लाई विश्लेषण गरेर हिमपहिरोको केन्द्रविन्दु कहाँ थियो, त्यो तरङ्ग कुन समयमा उत्पन्न भएको थियो भनेर समय निकाल्यौँ," अधिकारीले भने, "त्यसकै आधारमा रसुवागढीमा बाढी पुगेको सीसीटीभी फुटेजको समय हेरेर त्यो बाढी कुन गतिमा आयो र त्यहाँ पुग्न कति समय लगायो भन्ने निकाल्यौँ।"

बाढीको गति कसरी कम हुँदै गयो भनेर पनि भूकम्प मापन केन्द्रमा रेकर्ड भएको तरङ्गको आधारमा विश्लेषण गरिएको उनको भनाइ छ।

"यसरी भूकम्प मापनयन्त्रमा रेकर्ड भएका तरङ्ग विश्लेषण गरेर भविष्यमा हिमाली क्षेत्रमा जाने हिमपहिरो र त्यसले निम्त्याउने बाढीको पूर्वानुमान गर्न सकिन्छ," अधिकारीले भने।

अरू प्रणाली भन्दा कसरी फरक?

विज्ञहरुका अनुसार परम्परागत रूपमा बाढी नाप्न प्रयोग गरिने जलमापनकेन्द्रका यन्त्रहरू नदीका नजिक राखिएका हुन्छन्।

ठूला बाढीहरू आउँदा त्यस्ता उपकरणहरू बग्छन्। भोटेकोशी बाढीले पनि बाढी नाप्न स्थापना गरिएका केन्द्र र त्यसका उपकरण बगाएको थियो।

भूकम्पविद् अधिकारीका अनुसार भूकम्प मापन गर्ने यन्त्रहरू चाहिँ नदीभन्दा निकै टाढा हुन्छन्। तर त्यहाँसम्म पुग्ने तरङ्ग एकदम छिटो रेकर्ड हुन्छ। अर्थात् बाढी आइनपुग्दै जमिनबाट फैलिने तरङ्गहरू रेकर्ड हुन्छन्।

बाढी नआइपुग्दै हिमपहिरो कुन ठाउँमा गयो भनेर त्यसको केन्द्रबिन्दु, समय र अब त्यसले कहाँ विपद् निम्त्याउन सक्छ भनेर पत्ता लगाउन सकिने उनको भनाइ छ।

"त्यसलाई पूर्वसूचना प्रणालीमा प्रयोग गरेर भविष्यमा आउने ठूला विपद्को पूर्वानुमान तथा पूर्वसूचनाका निम्ति प्रयोग गर्न सकिन्छ।''

यो प्रणाली तयार गर्न के गर्नुपर्छ

यो प्रणाली विकास गर्न हिमालय क्षेत्रमा भूकम्प मापनयन्त्र राख्न जरुरी रहेको अधिकारी बताउँछन्।

ती यन्त्रले हिमाली क्षेत्रमा आउन सक्ने हिमपहिरो तथा चट्टान खसेर उत्पन्न हुन सक्ने विपद्को सङ्केत दिन्छ, त्यस्ता विपद्को केन्द्रबिन्दु र समय पत्ता लगाएर ठूला हिमपहिरो तथा बाढीको पूर्वसूचना दिन्छ।

"नेपालले आफ्नो क्षेत्रमा यस्ता यन्त्र राख्न सक्छ तर सीमापारि चिनियाँ क्षेत्रमा पनि त्यस्ता यन्त्र राख्न जरुरी छ। त्यसैले हामीले द्विपक्षीय सम्बन्ध विस्तार गरेर यो सञ्जालको विस्तार गर्नुपर्छ,'' उनले भने।

विपद्को पूर्वसूचना लिन यसका साथसाथै अन्य प्रणालीको पनि विकास गर्नुपर्ने अधिकारीले बताए।

त्यसका लागि विपद्सम्बन्धी काम गर्ने सबै संस्थाहरूको सञ्जाल बनाएर तथ्याङ्क आदानप्रदान गर्नुपर्ने उनको भनाइ छ।

"भूकम्प मापन केन्द्रको आफ्नो प्रणाली छ, जल उत्पन्न प्रकोपको अर्कै छ। जल तथा मौसम विज्ञान विभागले पनि पूर्वसूचना तयार पार्छ। त्यसैले ती विभिन्न संस्थाका तथ्याङ्कलाई एकीकृत रूपमा प्रशोधन गर्ने बहुपक्षीय संयन्त्र विकास गर्न सक्यौँ भने यस्ता विपद्हरू समयमै थाहा पाएर ठूलो धनजनको क्षतिलाई कम गर्न सक्छौँ,'' अधिकारीले भने।

चुनौती के छ

यो प्रणाली विकास गर्न नेपाललाई चीनको र चीनलाई नेपालको तथ्याङ्क चाहिने भएकाले सञ्जाल विकास गर्नुपर्ने अधिकारी बताउँछन्।

उनका अनुसार प्राविधिक रूपमा काम गर्ने संस्थाहरुलाई स्वतन्त्र रुपमा काम गर्न दिनुका साथै, प्राविधिक जनशक्तिलाई तालिमको व्यवस्था र आवश्यक उपकरण दिलाउनुपर्छ।

"नेपाल आधुनिक उपकरणका निम्ति अहिले विदेशी सङ्घसंस्था र दातासँग निर्भर छ। उताबाट सहयोग भएन भने हाम्रो संस्थाहरूले केही पनि गर्न नसक्ने अवस्था छ।''

त्यस्तै विपद्‌मा काम गर्ने संस्थाहरूको अवस्था, तिनीहरूको क्षमता, अहिलेका उपकरण नयाँ प्रणालीमा प्रयोग तथा कार्यकुशलताबारे पनि स्पष्ट हुनुपर्ने अधिकारीले बताए।

"नेपालमा यस्ता विपद्‌मा काम गर्ने क्षमता, जनशक्ति र अनुभव नभएका संस्थाहरूले पनि वैदेशिक सहायता लिएका छन्। त्यसैले जेसम्बन्धी काम गर्ने संस्था हो त्यहीसम्बन्धी काम गर्न दिनुपर्छ। एकअर्को संस्थाको विज्ञता आदानप्रदान हुने सञ्जाल बनाएर काम गरियो भने ठूलो विपद्को पूर्वसूचना लिएर धनजनको क्षति कम गराउन सकिन्छ,'' भूकम्पविद् अधिकारीले भने।

"अन्तरदेशीय सञ्जाल बनाएर काम सुरु गर्नु अर्को मुख्य चुनौती हो।"

(यो सामग्री 'बीबीसी हातेमालो'का लागि तयार पारिएको हो।)

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।