'छोरालाई कहिले देखूँ, कहिले भेटूँ भएको छ' : सुरुङबाट उद्धार गरिएका सञ्जय साहका बुबा

सञ्जयका बुवा रामफल साह

तस्बिर स्रोत, family handout

तस्बिरको क्याप्शन, सञ्जयका बुवा रामफल साह
Published
पढ्ने समय: ३ मिनेट

त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवितै उद्धार गरिएका सप्तरीका सञ्जय साहका बुबा रामफल साहले छोराको उद्धार भएसँगै परिवारमा हर्षको माहोल छाएको बताएका छन्।

"उसलाई कहिले देखूँ कहिले भेटूँ भइरहेको छ, छातीमा आगोजस्तो बलिरहेको छ," उनले बीबीसीसँग भने। "निकै पीडा भइरहेको थियो, उसकी आमा बेहोस अवस्थामा थिइन्।"

अहिले रामफल र परिवारका अरू सदस्यसहित काठमाण्डू जान लागेका छन्।

"बिहान [साहको उद्धार भएको] खबर आउँदा हामी घरमै थियौँ। मोबाइलमा फोटो-भिडिओहरू हेर्‍यौँ। भगवान्‌को कृपा भयो।"

साहले आफ्नो भाइसहित परिवारका सदस्यहरू काठमाण्डू प्रस्थान गर्न लागेको बताए। बिहान उद्धार गरिएका शाहलाई सेनाको हेलिकप्टरले नुवाकोटको बट्टार पुर्‍याएको र त्यसपछि काठमाण्डूस्थित सैनिक अस्पताल लगिएको विवरणहरू आएका छन्।

उद्धारपछि सञ्जय साहले के भने?

सञ्जय साहको उद्धार

तस्बिर स्रोत, Nepal Army

उद्धार गरिएपछि कृत्रिम अक्सिजनको सहयोगमा राखिएका सञ्जय साहले सैनिक अधिकारीहरूले सोधेको प्रश्नको उत्तर दिएको भिडिओ अहिले सामाजिक सञ्जालमा देखा परेको छ। बीबीसीले उक्त भिडिओको प्रामाणिकता पुष्टि गरेको छैन।

तर उक्त भिडिओ उनलाई हेलिकप्टरमा राखेर काठमाण्डू पठाउनुअघि खिचे जस्तो देखिन्छ।

प्रधानमन्त्रीको सचिवालयले उनको अवस्था सामान्य रहेको जनाएको छ। तर सैनिक अस्पतालमा उनको थप परीक्षण हुने बताइएको छ।

सुरुङभित्र अरू मानिसहरू पनि छन् कि भनेर सोधिएको प्रश्नमा साह यसो भन्छन् -

"म कन्ट्रोल रूममा अपरेटरको काम गर्थेँ। अरू समयमा ५/६ जना मात्रै हुन्थे, त्यतिबेला चाहिँ ४०/४५ जना नै थिए।

कन्ट्रोल रूममा म भएपछि सबैको ज्यान बचाउने दायित्व मेरो थियो। त्यस्तो दुर्घटना भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनुपर्‍यो।

त्यस क्रममा मैले ड्याममा ठूलो दुर्घटना भएको बताएँ र सबैलाई बाहिर भाग्न लगाएँ। त्यसो गर्दा मेरो समय बित्यो र म भाग्नै पाइनँ।

हाम्रो सम्पर्कमा… साथीहरू कुरा भएकोमा… तीन चारजना मात्रै थिए नजिक छेउछाउ कुरा गर्दा हल्ला गरेर…।

[पावरहाउस भित्र पनि मानिसहरू] हुन सक्छन्। सबै भाग्न नसकेको होला। टनल लामो छ। टनेलमा भए पनि पानीको फोर्सले भित्र लगिसकेको होला।

[भदौ] १० गते १० बजे दुर्घटना भएको हो। कन्ट्रोल रुममा टाइम नोट गरेको थिएँ। भित्र हरेकृष्ण महामन्त्र जप गरेर बसेँ।"

अरूको खोजी जारी

सुरुङमा उद्धारकर्मीहरू

तस्बिर स्रोत, PM Secretariat/Handout

त्रिशूली ३एको सुरुङबाट दुई जनाको उद्धारपछि त्यहाँ फसिरहेका हुन सक्ने थप मानिसहरूलाई उद्धार गर्न टोली अझै अगाडि बढेको उद्धारस्थलनजिक रहेका नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउतले बताएका छन्।

पहिला सुरुङको माथिपट्टिबाट अक्सिजन दिइएकोमा अहिले साह र महर्जनलाई बाहिर निकालिएको ठाउँबाटै अक्सिजन पठाउने र उद्धारका लागि अघि बढ्ने काम भइरहेको जानकारी उनले बीबीसी न्यूज नेपालीलाई दिए।

उक्त सुरुङको लम्बाई १७० मिटर रहेकोमा नेपाली सेनाले शुक्रवार बिहानसम्म १०० मिटर भित्रसम्म पुग्न सकिएको जनाएको थियो।

"उहाँहरू (कबीर र सञ्जय) १७० मिटरको टनलमा केही भाग यता आउन खोज्नुभएको थियो, त्यही भएर अलि चाँडै भेटिनुभयो," उनले भने।

"बाँकीको उद्धारलाई हाम्रो टोली थप अक्सिजन पठाएर अगाडि जाने क्रममा हुनुहुन्छ। हामी प्रयासरत छौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।