इङ्ग्ल्यान्डलाई हराएपछि 'फोल्क्ल्यान्ड ब्यानर' देखाएकाले आर्जेन्टिना कारबाहीमा पर्न सक्ने

इङ्ग्ल्यान्डलाई पराजित गरेपछि विवादास्पद ब्यानर देखाउँदै आर्जेन्टिना खेलाडीहरू

तस्बिर स्रोत, Getty Images

    • Author, अद्वैध राजन
    • Role, बीबीसी स्पोर्ट
  • Published
  • पढ्ने समय: ४ मिनेट

विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई हराएपछि हर्षोल्लास गर्ने क्रममा आर्जेन्टिनाका खेलाडीहरूले फोल्क्ल्यान्ड टापुमा आफ्नो देशको स्वामित्व रहेको दाबी गर्दै एउटा ब्यानर देखाएकाले विवाद उत्पन्न भएको छ।

उक्त कार्यका लागि फिफाले आर्जेन्टिनालाई अनुशासनको कारबाही गर्न सक्ने सम्भावना बढेको छ।आर्जेन्टिना यो विश्वकपमा उपाधि रक्षा गर्ने प्रयासमा छ।

संयुक्त राज्य अमेरिकाको एट्ल्यान्टामा आयोजित खेलमा इङ्ग्ल्यान्डलाई २-१ ले पराजित गर्दै आर्जेन्टिना फाइनलमा पुगेको छ। अब नेपाली समयानुसार आइतवार मध्यरातपछि आर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग खेल्ने छ।

नेपाली समयानुसार बुधवार मध्यरातपछि भएको खेलमा आर्जेन्टिनाले ९० मिनेटपछि दोस्रो गोल गर्दै रोमाञ्चक विजय हात पारेको हो।

खेल सकिएको जनाउ दिने सिट्ठी बजिसकेपछि आर्जेन्टिनाका खेलाडीहरूले "लास माल्भिनास सोन आर्जेन्टिनास" लेखिएको ब्यानर बोकेर उत्सव मनाएका थिए। त्यसको अर्थ "फोल्क्ल्यान्ड टापुहरू आर्जेन्टिनाका हुन्" भन्ने हुन्छ।

फोल्क्ल्यान्ड विवाद किन

फोल्क्ल्यान्डको प्रसङ्ग उल्लिखित ब्यानर देखाउँदै आर्जेन्टिनाका समर्थकहरू

तस्बिर स्रोत, Reuters

फोक्ल्यान्ड द्वीप दक्षिणपश्चिम अट्ल्यान्टिक महासागरमा अवस्थित छ। उक्त क्षेत्रमा ब्रिटेन र आर्जेन्टिना दुवैले आफ्नो स्वामित्व दाबी गरेकाले विवाद कायम छ।

आर्जेन्टिनाको पूर्वी तटबाट ३०० माइल टाढा रहेका ती टापुहरूका लागि सन् १९८२ को एप्रिलदेखि जुनसम्म दुई देशबीच युद्ध भएको थियो।

चौहत्तर दिनसम्म चलेको लडाइँमा ६५५ आर्जेन्टिनी र २५५ ब्रिटिश सैनिकको मृत्यु भएको थियो। त्यस क्रममा उक्त टापुका तीन बासिन्दाले पनि ज्यान गुमाएका थिए।

सन् २०१४ मा स्लोभिनियाविरुद्ध आयोजित मैत्रीपूर्ण खेल सुरु हुनुअघि खेलाडीहरूले सोही सन्देशसहितको ब्यानर देखाएपछि फिफाले आर्जेन्टिनाको फुटबल सङ्घलाई २०,००० पाउन्ड जरिबाना तिराएको थियो।

फुटबलको सर्वोच्च निकाय फिफाले त्यतिबेला ब्यानर देखाउने कार्यबाट राजनीतिक गतिविधि र टोलीको खराब आचरणसम्बन्धी नियमहरू उल्लङ्घन भएको जनाएको थियो।

ब्रिटेनविरुद्ध आक्रोश

आफूले दिएको पासमा मार्टिनेजले गोल गरेर खेलको नतिजा आर्जेन्टिनाको पक्षमा जाने सुनिश्चित भएपछि रमाउँदै लिओनेल मेस्सी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, लिओनेल मेस्सीले दिएको पासमा मार्टिनेजले गोल गरेर आर्जेन्टिनालाई जिताएका हुन्

बुधवारको जितपछि आर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियार्वेलले सामाजिक सञ्जाल 'एक्स'मा आर्जेन्टिनी सैनिकजस्ता मानिसहरू देखिने एउटा भिडिओ पोस्ट गर्दै "यो केवल अर्को सामान्य खेल थिएन" लेखेकी छन्।

"फोल्क्ल्यान्ड टापुहरू आर्जेन्टिनाका हुन्। उनीहरूले रङ्गशालामा ती (ब्यानरहरू) लैजान प्रतिबन्ध लगाए तर हामीले तिनलाई आफ्नो रगत र मुटुमा बोकेका छौँ भन्ने कुरा बिर्सिए।"

त्यसअघि भियार्वेलले बुधवारको सेमिफाइनल खेल "आक्रमणकारीहरूलाई उनीहरूको सही ठाउँ देखाउने" अवसर भएको टिप्पणी गरेकी थिइन्।

फुटबल र राजनीति

आर्जेन्टिनाका प्रबन्धक लिओनेल स्कालोनी

तस्बिर स्रोत, PA

क्वार्टरफाइनलमा इजिप्टविरुद्ध ३-२ ले विजयी भएपछि पनि आर्जेन्टिनाका खेलाडीहरूले फोल्क्ल्यान्डको प्रसङ्ग र आर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोना र वर्तमान कप्तान लिओनेल मेस्सीको सन्दर्भ समेटिएका गीतहरू गाएका थिए।

तर सेमिफाइन खेलअघि राष्ट्रिय टोलीका प्रबन्धक लिओनेल स्कालोनीले आफू फुटबल र राजनीतिलाई "मिसाउने पक्षमा नभएको" जनाएका थिए।

"वास्तविकता के हो भने यो फुटबल खेल हो। विशेष गरी धेरै वर्ष पहिला भएका घटनाहरूप्रति सम्मान गर्न पनि म यी कुरालाई मिसाउन सक्दिनँ," स्कालोनीले भनेका थिए।

"त्यो हाम्रो इतिहासको एउटा अत्यन्तै दुःखद कालखण्ड थियो। त्यसमा हामीले गर्न सक्ने खासै केही छैन, वास्तविकता यही हो।"

"विश्वका अन्य स्थानहरूमा पनि घटनाहरू भइरहेका छन्। हामी युद्धको आलोचना गर्छौँ। पक्कै पनि हामी ती मानिसहरूलाई सम्झन्छौँ। तर यो फुटबल खेल हो , हामी यी दुई कुराहरूमा अलमलिनु हुँदैन।"

ब्रिटेन र आर्जेन्टिनाबीचको ऐतिहासिक तनावका कारण खेल आयोजनास्थलमा सुरक्षाको कडा व्यवस्था थियो।

उक्त खेलमा एन्जो फेर्नान्डेज र र लौटारो मार्टिनेजले गरेका दुई गोलका कारण आर्जेन्टिनासँग इङ्ग्ल्यान्ड पराजित हुन पुग्यो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।