'तपाईँले नेटफ्लिक्स हेर्दा त्यसले तपाईँको जासुसी गरिरहेको हुन्छ'

तस्बिर स्रोत, Getty Images
- Author, लिभ मक्महोन
- Role, प्रविधि संवाददाता
- Published
- पढ्ने समय: ३ मिनेट
नेटफ्लिक्सले प्रयोगकर्ताहरूको सहमतिबिनै उनीहरूसँग सम्बन्धित डेटा सङ्कलन गर्ने गरेको आरोप अमेरिकी राज्य अमेरिकाको टेक्ससमा लगाइएको छ।
त्यसरी सङ्कलित डेटा बालबालिका र वयस्कसहित सबै जनाको र उनीहरूलाई आकर्षित गराइराख्न "लत" बसाउने "डिजाइन" प्रयोग गरिएको दाबी नेटफ्लिक्सविरुद्ध परेको मुद्दामा गरिएको छ।
टेक्ससका महान्यायाधिवक्ता केन प्याक्स्टनले प्रसारण क्षेत्रको ठूलो कम्पनीमाथि नागरिकहरूको "जासुसी" गरेको आरोप लगाएका हुन्।
प्रयोगकर्ताहरूले उक्त मञ्चमा कसरी व्यवहार गर्छन् भन्ने विषयमा अर्बौँको सङ्ख्यामा सूचना सङ्ग्रह गर्नुका साथै त्यसबाट नेटफ्लिक्सले अर्थोपार्जन गरेको उनको भनाइ छ।
"सो मञ्चमा हुने हरेक अन्तरक्रिया प्रयोगकर्ताको बारेमा जानकारी उप गर्ने डेटाको स्रोत बन्छ," उनको कार्यालयले भनेको छ।
ती सबै दाबीहरू अस्वीकार गर्दै नेटफ्लिक्सले तिनलाई अदालतमा चुनौती दिने बताएको छ।
"जब तपाईँ नेटफ्लिक्स हेर्नुहुन्छ, नेटफ्लिक्सले तपाईँलाई हेर्छ," टेक्ससका प्रमुख अभियोजकले गत साता दायर उजुरीमा भनिएको छ।
नेटफ्लिक्स के भन्छ
नेटफ्लिक्सका एक प्रवक्ताले बीबीसीसँग भने, "टेक्सस र महान्यायाधिवक्ता प्याक्स्टनप्रति सम्मान छ तर यो मुद्दा योग्य विषय नै होइन, यो पूर्णतया तथ्यहीन र भ्रामक सूचनामा आधारित छ।"
नेटफ्लिक्सले आफ्ना सदस्यहरूको गोपनीयतालाई गम्भीरतापूर्वक लिने र जहाँ काम गर्छ त्यहाँ गोपनीयता र डेटा सुरक्षासम्बन्धी कानुनहरूको पालनाप्रति अनुबन्धित रहने गरेको उनको भनाइ छ।
प्रसारण कम्पनीले डेटा प्रशोधन गर्ने र प्रयोगकर्ताहरूसम्म विज्ञापन पुर्याउने मामिलामा आफूलाई अन्य ठूला प्रविधि कम्पनीहरूभन्दा फरक रहेको भन्दै प्रतिरक्षा गरेको छ।
कम्पनीका पूर्वप्रमुख रीड ह्याटिङ्सले सन् २०१९ र २०२० मा उक्त कम्पनीले विज्ञापन बेच्ने जस्ता कामका लागि प्रयोगकर्ताको डेटा सङ्कलन वा अर्थोपार्जनको निम्ति त्यसको व्यावसायिकीकरण नगरेको र नगर्ने भनी बताएको कुरा उजुरीमा उद्धृत गरिएको छ।
तर अभियोगपत्रमा नेटफ्लिक्सले उपभोक्ताहरूलाई साइटमा राखिरहन 'अटो-प्ले' हुने सामग्रीजस्ता लत लगाउने डिजाइनको उपयोग र प्रयोगकर्ताका गतिविधिहरू व्यापक रूपमा "सूचीकृत" गर्ने गरेको आरोप छ।
कम्पनीले अर्बौँ प्राविधिक कामहरूमध्ये प्रयोगकर्ताहरूले केमा क्लिक गर्छन् र कति लामो समय बिताउँछन् भन्ने कुराको अभिलेख राखेको उजुरीमा भनिएको छ।
त्यसमा सन् २०२२ मा नेटफ्लिक्सले "बालबालिका र परिवारहरूबाट गोप्य रूपमा निकालेको व्यापक डेटाहरूको लाभ उठाउँदै उनीहरूलाई स्क्रीनमा राखिरहनुका साथै" यसलाई व्यावसायिक 'डेटा ब्रोकर;हरूसँग साझेदारी गरेर अर्बौँ डलर राजस्व जुटाउन सहयोग गर्ने गरेको उल्लेख छ।
"सङ्क्षेपमा नेटफ्लिक्सले ठूला प्रविधि कम्पनीको निगरानीबाट जोगिनका लागि भन्दै आफ्नो प्रोग्र्यामिङको सदस्यता बेच्यो - मासिक भुक्तानी गर्नुहोस्, ट्र्याकिङबाट जोगिनुहोस् भन्दै," मुद्दामा भनिएको छ।
"टेक्ससवासीले कुरा पत्याए। नेटफ्लिक्सले त्यसको उल्लङ्घन गर्यो - जेबाट जोगिन ग्राहकहरूले पैसा तिरेका थिए त्यसैलाई डेटा सङ्कलन प्रणाली बनाएर।"
डिजाइनको परीक्षण
महान्यायाधिवक्ता प्याक्स्टनको कार्यालयले नेट्फ्लिक्सले टेक्सस राज्यको कानुनको उल्लङ्घन गरेको आफूलाई लागेको जनाएको छ।
'टेक्सस डिसेप्टिभ ट्रेड प्रयाक्टिसेस एक्ट' नामक कानुनले "व्यापार र वाणिज्यको क्रममा झुट, धोका वा भ्रामक काम र अभ्यासहरू" निषेध गरेको छ।
त्यस्ता गतिविधिमा संलग्न हुनेहरूविरुद्ध महान्यायाधिवक्ताले जरिबानासहितका दण्ड माग गर्न सक्छन्।
यो विषयमा अदालतले नेटफ्लिक्सलाई "टेक्ससवासीबाट गलत रूपमा सङ्कलन गरिएका डेटाहरू मेटाउन आदेश देओस्" भन्ने महान्यायाधिवक्ता कार्यालयले चाहेको छ।
त्यसै गरी लक्षित विज्ञापनका लागि डेटा प्रशोधन रोक्न र बालबालिकाको प्रोफाइलमा पूर्वनिर्धारित अटो-प्ले रोक्न माग गरिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।






















