एन्डी बर्नम यूकेका नयाँ प्रधानमन्त्री

Published
पढ्ने समय: २ मिनेट

यूकेमा एन्डी बर्नम नयाँ प्रधानमन्त्री बनेका छन्। गत शुक्रवार लेवर पार्टीको नेता बनेका ५६ वर्षीय बर्नम आफ्नै दलका सर किअर स्टार्मरलाई विस्थापित गर्दै सोमवार ब्रिटेनको ५९औँ प्रधानमन्त्री बनेका हुन्।

बकिङ्गम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेका जनाएको छ। दरबारको विज्ञप्तिमा राजाको उक्त आह्वान बर्नमले स्वीकार गरेको जनाइएको छ।

एन्डी बर्नम यूकेमा पाँच वर्षभित्रै प्रधानमन्त्री बन्ने चौथो व्यक्ति हुन्।

यसअघि जुन २२ मा सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका स्टार्मरले सोमवार राजा चार्ल्सलाई बकिङ्गम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए।

त्यसअघि डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै दुई वर्षअघिभन्दा देश "बलियो" बनेको बताएका थिए। उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ हुने बताए।

सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा अर्थतन्त्र बलियो भएको, सार्वजनिक सेवाहरूमा सुधार आएको, बालबालिकाहरू गरिबीबाट मुक्त भएका, आप्रवासन घटेको र देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा "निकै बढेको" बताए।

यूकेमा कसरी प्रधानमन्त्री चयन हुन्छ?

लेबर पार्टी यूकेको तल्लो सदन 'हाउस अफ कमन्स'मा बहुमतप्राप्त दल हो। उक्त दलको नेताका रूपमा बर्नम प्रधानमन्त्री नियुक्त भएका हुन्।

प्रधानमन्त्री बनेपछि उनले संसदीय निर्वाचनको घोषणा गर्न सक्छन्। तर अहिलेम्म उनले ताजा चुनावको विकल्प रोज्ने सङ्केत देखाएका छैनन्।

यूकेमा सन् २०२९ को अगस्ट १५ मा आवधिक निर्वाचन हुने छ।

बर्नमले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गरेका छन्।

उनी विगतमा सन् २०१० र सन् २०१५ मा गरेर दुई पटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा विफल भएका थिए।

ग्रेटर म्यान्चेस्टरका पूर्वनगरप्रमुख बर्नम गत जुन महिनामा मात्रै उपनिर्वाचन जितेर सांसद बनेका हुन्।

प्रधानमन्त्री बर्नमले के भने?

बकिङ्गम दरबारबाट निस्किएर डाउनिङ स्ट्रीटमा बोलेका बर्नमले आफू दश वर्षमा देशको सातौँ प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै अब "एउटा समीक्षा र नयाँ सङ्कल्पको समय" भएको बताए।

उनले ब्रिटेनले विश्वलाई उसले स्थायित्व प्राप्त गर्न सक्ने कुरा देखाउनु आवश्यक रहेको बताए।

उनले आफ्नो चुनौती भनेको नयाँ राजनीतिक र आर्थिक मोडल निर्माण गर्नु र देशको हरेक क्षेत्रलाई ऊर्जावान् बनाउनु रहेको बताए।

"म तपाईँहरूलाई सुन्छु। हामीले पर्याप्त रूपमा राम्रो गरेका छैनौँ र हामी अझ राम्रो हुन आवश्यक छ। हामी हुने छौँ," उनले भने।

"हामी यस क्षणलाई ब्रिटेनका लागि सर्किट ब्रेकर बनाउने छौँ र त्यहाँ नयाँ राजनीतिक मोडल हुने छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।