तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हान्टाभाइरस फैलिएको डच पानीजहाज
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आन्ध्र महासागरमा रहेको डच पानीजहाज 'एमभी होन्डिअस'मा यात्रा गरेर स्वदेश फर्किएका एक स्विस नागरिकलाई पनि हान्टाभाइरस सरेको पुष्टि गरेको छ।
डब्ल्यूएचओले अहिलेसम्म आठ जनामा लक्षण देखिएको र तीमध्ये तीन जनालाई सङ्क्रमण भएको पुष्टि प्रयोगशालामा गरिएको परीक्षणबाट भएको बताएको छ।
बुधवार पानीजहाजबाट उद्धार गरिएका तीन बिरामीलाई उपचारका लागि नेदरल्यान्ड्स लगिएको छ।तीमध्ये चालकदलका दुई सदस्य र एक यात्रु छन्।
आर्जेन्टिनाबाट १ एप्रिलमा केप भर्डसम्मको यात्राका लागि निस्किएको क्रूज पानीजहाजमा सङ्क्रमण फैलिएपछि तीन जनाको मृत्यु भइसकेको छ।
उक्त पानीजहाज ३ मेमा केप भर्ड पुगेको थियो। चालकदल र यात्रुहरूसहित १४६ जना सवार जहाजलाई अहिले कनेरी आइलन्ड्सतिर पठाइएको छ र केही दिनमा त्यहाँ पुग्ने ठानिएको छ।
सो पानीजहाजमा सवार यात्रुहरूका अनुसार जहाजमा यात्रुहरूले एकअर्कासँग भौतिक दूरी कायम गरेका छन्, मास्क प्रयोग गरेका छन् र उनीहरूलाई क्याबिनमै खानेकुरा उपलब्ध गराइएको छ।
विरोध
तर स्पेनको उक्त स्वायत्त क्षेत्रका नेताले एमभी होन्डिअसलाई त्यहाँ रोक्न दिने स्पेन सरकारको योजनाको विरोध गरेका छन्।
"म [उक्त जहाजलाई ] कनेरिजमा प्रवेश गर्ने अनुमति दिन सक्दिनँ," फेर्नान्दो क्लाभिखोले 'ओन्दा सेरो' रेडिओलाई दिएको अन्तर्वार्तामा भने।
"यो निर्णय कुनै प्राविधिक मापदण्डका आधारमा लिइएको छैन, न त हामीलाई पर्याप्त जानकारी नै दिइएको छ।"
क्लाभिखो अहिले ब्रसल्समा छन्। उनले उक्त विषयमा छलफल गर्न स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँग मड्रिडमा भेट गर्न चाहेको बताएका छन्।
स्पेनका स्वास्थ्यमन्त्रीले भनेका छन् उक्त पानीजहाजमा अहिले सवार व्यक्तिहरूमा सङ्क्रमण देखिएको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।