जर्मन चान्सलरसँग ट्रम्पको विवादबीच जर्मनीबाट आफ्ना ५,००० सैनिक फिर्ता गर्दै अमेरिका

तस्बिर स्रोत, Getty Images
- Author, म्याक्स माट्श
- पढ्ने समय: ४ मिनेट
इरानसँगको युद्धबारे राष्ट्रपति डोनल्ड ट्रम्प र जर्मन चान्सलर फ्रिडरिख मेर्ट्सबीचको विवादका माझ अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट ५,००० सैनिक फिर्ता गर्ने योजना बनाएको छ।
यो निर्णय ट्रम्पले मेर्ट्सको आलोचना गरेको एक दिनपछि आएको हो। उनले इरानी वार्ताकारहरूबाट अमेरिका "अपमानित" भएको बताएका थिए।
बिहीवार सामाजिक सञ्जालमा गरेका पोस्टहरूमा ट्रम्पले लेखेअनुसार मेर्ट्सले "अत्यन्त खराब काम गरिरहेका" थिए र उनीसँग आप्रवासन तथा ऊर्जा लगायत "सबै प्रकारका समस्याहरू" थिए। ट्रम्पले इटाली र स्पेनबाट पनि अमेरिकी सैनिक फिर्ता गर्ने कुरा गरेका छन्।
जर्मनीमा अमेरिकाको ठूलो सैन्य उपस्थिति छ। त्यहाँ गत डिसेम्बरसम्म देशभरका विभिन्न आधारमा ३६,००० भन्दा बढी सैनिक तैनाथ थिए।
एउटा वक्तव्यमा पेन्टागनका प्रवक्ता सीन पर्नेलले उक्त आदेश रक्षामन्त्री पीट हेग्सेथबाट आएको बताएका छन्।
"युरोपमा सैन्य तैनाथीको गहन समीक्षापछि यो निर्णय गरिएको हो र त्यहाँको अवस्था र आवश्यकतालाई ध्यानमा राखेर (निर्णय) लिइएको हो," उनले भने।
"हामीले आउँदो ६ देखि १२ महिनाभित्र फिर्ता प्रक्रिया पूरा हुने ठानेका छौँ।"
ट्रम्पले लामो समयदेखि नेटो गठबन्धनको आलोचना गर्दै आएका छन्। खासगरी होर्मुज स्ट्रेट खुलाउने कारबाहीमा भाग लिन अस्वीकार गरेपछि उनी सहयोगीहरूसँग असन्तुष्ट भएका हुन्।
इटाली र स्पेनबाट समेत अमेरिकी सैनिक फिर्ता हुन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पको जबाफ थियो, "सायद गर्छु, किन नगर्ने?"
"इटालीले हामीलाई कुनै सहयोग गरेको छैन र स्पेन त झन् खराब रहेको छ," इरानसँगको युद्धमा उनीहरूको प्रतिक्रियाको आलोचना गर्दै ट्रम्पले थपे।
"सबै मामिलामा उनीहरूले भने, 'म यसमा संलग्न हुन चाहन्नँ।'"
यसै हप्ताको सुरुमा विश्वविद्यालयका विद्यार्थीहरूसँग मेर्ट्सले "अमेरिकीहरूसँग स्पष्ट रूपमा कुनै रणनीति नभएको" र उनीहरूले "कस्तो रणनीतिक निकास रोज्नेछन्" भन्ने आफूले देख्न नसकेको बताएका थिए।
"इरानीहरू स्पष्ट रूपमा वार्तामा निकै सिपालु छन् वा भनौँ वार्ता नगर्नमै सिपालु छन्। अमेरिकीहरूलाई इस्लामाबादसम्म यात्रा गराउँछन् र कुनै परिणाम बिना फर्काइदिन्छन्।"
साथै उनले "सम्पूर्ण राष्ट्र" इरानी नेतृत्वद्वारा "अपमानित" भइरहेको पनि थपेका थिए।
प्रतिक्रियामा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा लेख्दै मेर्टसले "इरानसँग परमाणु हतियार हुनु ठीक ठानेका" र "आफूले के भनिरहेको छु भन्ने हेक्कै नपाएका" बताए।
"जर्मनीले आर्थिक रूपमा र अन्य हिसाबले पनि यति कमजोर प्रदर्शन गरिरहेको छ कि कुनै आश्चर्य मान्नु पर्दैन," उनको पोस्टमा भनिएको छ।
बीबीसीले यसबारे प्रतिक्रिया लिन वासिङ्टनस्थित जर्मन दूतावासमा सम्पर्क गरेको छ।
युरोपमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य तैनाथी जर्मनीमै छ। त्यस्तै करिब १२,००० सैनिक इटालीमा र थप १०,००० सैनिक यूकेमा छन्।
ट्रम्पले यसअघि पनि जर्मनीमा अमेरिकी सैन्य उपस्थिति घटाउने प्रस्ताव गरेका थिए तर त्यो हालसम्म कार्यान्वयनमा आएको थिएन।
अन्यत्रका हकमा जापानमा मात्रै अमेरिकाको सैन्य उपस्थिति योभन्दा ठूलो छ।
सन् २०२० मा जर्मनीबाट १२,००० अमेरिकी सैनिकलाई युरोपका अन्य नेटो राष्ट्रहरूमा वा अमेरिकामै स्थानान्तरण गर्ने प्रस्ताव कङ्ग्रेसले रोकिदिएको थियो र पछि राष्ट्रपति जो बाइडनले त्यसलाई उल्ट्याएका थिए।

तस्बिर स्रोत, Getty Images
त्यतिखेर ट्रम्पले जर्मनीमाथि "जिम्मेवारी पूरा गर्न चुकेको" आरोप लगाएका थिए किनकी उसको सैन्य खर्च नेटोको लक्ष्य (कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत) भन्दा निकै कम थियो।
तर मेर्टस् सरकार आएपछि उक्त अवस्थामा उल्लेखनीय परिवर्तन आएको छ।
जर्मनीले सन् २०२७ मा १०५.८ बिलिअन युरो खर्च गर्ने र आगामी वर्ष रक्षा खर्च जीडीपीको ३.१ प्रतिशत पुग्ने ठानिएको छ।
युरोपबाट ध्यान मोडेर इन्डो-प्यासिफिक क्षेत्रमा केन्द्रित हुने ट्रम्पको योजना अनुसार गत वर्ष अमेरिकाले रोमानियामा आफ्नो सैन्य उपस्थिति घटाउने निर्णय गरेको थियो।
केही रिपब्लिकन सांसदहरूले नै उक्त निर्णयको आलोचना गरेका थिए भने रुससँग चिन्तित पूर्वी युरोपका अन्य देशहरूले पनि त्यसप्रति असन्तुष्टि जनाएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।























