अध्ययन भिसा सिफारिस प्रकरणमा 'नक्कली' अध्यापक पक्राउ, सरकारी कर्मचारीको भूमिकाबारे पनि छानबिन हुँदै

८ ज्यानुअरी २०२० मा देशनिकाला गर्न लागिएका चिनियाँ नागरिकहरूसँग नेपाल प्रहरीका अधिकारीहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ज्यानुअरी २०२० नेपालमा अवैध गतिविधि गरेको अभियोगमा पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई निष्कासन गर्ने निर्णय गरेपछि पछि उनीहरूलाई दुइटा चार्टर्ड विमानमा चीन फिर्ता पठाइएको थियो
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

नक्कली सिफारिस बनाएर विदेशी नागरिकहरूलाई विद्यार्थी भिसा दिलाएको विषयमा अनुसन्धान गरिरहेका शिक्षा मन्त्रालय र अध्यागमन विभागले २१ जनामाथि छानबिन भइरहेको बताएका छन्।

नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको वाल्मीकि विद्यापीठका नाममा पत्र बनाएर शिक्षा मन्त्रालयमा भिसा सिफारिसको पत्रका लागि पेस गरेको आरोपमा पक्राउ परेका एक जनाले आफू त्यही क्याम्पसको अध्यापक भएको बताएका थिए।

तर क्याम्पसको पत्र नक्कली भएको आशङ्कामा अनुसन्धान सुरु गरेको अध्यागमन विभागले ती अध्यापकलाई सोधेको एउटै प्रश्नले अधिकारीहरूलाई आफूहरूको आशङ्का सही भएको निष्कर्षमा पुग्न सघायो।

शिक्षा मन्त्रालयले पनि उक्त प्रकरणमा आफ्ना कर्मचारीको भूमिकाबारे छानबिन गर्ने भएको छ। त्यसका लागि एउटा समिति गठन गरिएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ।

शिक्षा मन्त्रालयबाट भिसाको सिफारिस पेस गरेका आठ जनालाई भिसा जारी गरिसकेपछि विद्यार्थी दाबी गरिएका व्यक्तिहरूबारे आशङ्का लागेपछि विभागका अधिकारीहरू वाल्मीकि क्याम्पसमा बुझ्न पुगेका थिए।

क्याम्पस प्रशासनले भिसा सिफारिसका लागि लेखिएको पत्र र विद्यार्थीहरू दुवै 'वास्तविक' नभएको उत्तर दिएपछि भिसा आवेदक र सहजीकरण गरिरहेका क्याम्पसकै अध्यापक बताउने व्यक्तिलाई बोलाएर सोधपुछ गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।

"हामीले उहाँलाई सुरुमै क्याम्पस प्रमुखको नाम सोध्यौँ। उहाँले नाम बताउन सक्नुभएन। सम्पर्क नम्बर माग्दा साथीहरूलाई फोन गरेर माग्न थाल्नुभयो," ढकालले बीबीसी न्यूज नेपालीसँग भने।

उनका अनुसार त्यसपछि विभागले ती व्यक्ति र सँगै लिएर आएका भिसा आवेदक चिनियाँ नागरिकलाई पक्राउ गरेर काठमाण्डू उपत्यका अपराध अनुसन्धान विभागलाई जिम्मा लगाएको थियो।

विभागका प्रहरी उपरीक्षक शरत थापाले उक्त प्रकरणमा अनुसन्धान भइरहेको बताएका छन्।

अध्यापक र विद्यार्थी दुवै 'नक्कली'

वाल्मिकी विद्यापीठको पुरानो भवनभित्र ऋषि वाल्मीकिको मूर्ति

तस्बिर स्रोत, nsu.edu.np

अनुसन्धानका क्रममा अधिकारीहरूले भिसा प्रकरणमा सहजीकरण गरिरहेका व्यक्ति वाल्मीकि विद्यापीठका अध्यापक समेत नरहेको पत्ता लगाएका छन्।

बीबीसीले वाल्मीकि विद्यापीठका प्राचार्य प्राध्यापक अच्युतप्रसाद लामिछानेसँग सम्पर्क गरेर प्राध्यापक र पत्रबारे सोधेको थियो।

"ती व्यक्ति यहाँ अध्यापन गर्ने मान्छे होइनन्। हाम्रो क्याम्पका सरहरूसँग भेट्दा विश्वभाषा क्याम्पसमा पढाउँछु भन्दा रहेछन्। विश्वभाषाका सरहरूलाई वाल्मीकिमा पढाउँछु भन्दा रहेछन्," लामिछानेले भने।

दुवै क्याम्पसहरू प्रदर्शनीमार्गमा ५०० मिटरभन्दा कम दूरीमा छन्।

बीबीसीले प्रहरीले पक्राउ गरेका सन्दिग्ध व्यक्ति त्रिभुवन विश्वविद्यालयअन्तर्गत संस्कृत केन्द्रीय विभागमा अहिले पनि अध्यापन गरिरहेको पत्ता लगाएको छ। विभागले आफ्नो वेबसाइटमा उनको नाम विभागीय सदस्य भनेर उल्लेख गरेको छ।

विभागका कर्मचारीहरूले उनले लामो समयदेखि आंशिक अध्यापकको रूपमा काम गरिरहेको बीबीसीलाई बताएका छन्।

वाल्मीकि विद्यापीठका अनुसार शिक्षा मन्त्रालयमा गरिएको सिफारिस पत्रमा क्याम्पको दर्ता सङ्ख्या र रसिद नम्बर दुवै हालसम्म क्याम्पसमा प्रयोग भएकाभन्दा पछाडिको रहेको देखिएको छ।

"संस्कृत साहित्यमा स्नातक अध्ययनका लागि भनेर सिफारिस गरिएको पत्र बनाइएको रहेछ। हाम्रोमा त्यो विषय नै पढाइ हुँदैन। ती विद्यार्थी पनि यहाँ भर्ना भएका होइनन्," प्राचार्य लामिछानेले भने।

वाल्मीकि विद्यापीठमा पढ्न चीनसहित विभिन्न देशबाट विद्यार्थीहरू चाहिँ आउने गरेको लामिछानेले बताए।

उनका अनुसार चीन, अमेरिका, जापान र रुससहितका देशबाट आएका २३ जनाले अहिले वाल्मीकि विद्यापीठमा अध्ययन गरिरहेका छन्।

वैशाखमा पनि १० जनाले लिएका थिए भिसा

नक्कली पत्रका आधारमा भिसा लिएको खुलेपछि शिक्षा तथा खेलकुद मन्त्रालयले थप छानबिनका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ।

दुई जना पक्राउ परेपछि उनीहरूसँगै भिसा आवेदन दिएका थप व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको अध्यागमन विभागले जनाएको छ।

विभागका अनुसार सँगै आवेदन दिएकामध्ये आठ जनाले जेठ २१ गते नै भिसा लगिसकेका छन्।

भिसा लिएकामध्ये छ जना चिनियाँ, एक जना कोरियाली र एक जना रुसी नागरिक रहेको विभागका प्रवक्ता ढकालले जानकारी दिए।

विभागका अनुसार शुक्रवार शिक्षा मन्त्रालयले यसअघि वैशाख १४ गते पनि त्यसरी नै १० जनाले भिसा सिफारिस लिएको जानकारी गराउँदै पत्र लेखेको छ।

ती व्यक्तिहरूले पनि यसअघि नै भिसा लिइसकेको देखिएको अध्यागमन विभागका अधिकारीहरूले बताएका छन्।

"भिसा जारी भइसकेका मान्छेलाई पनि हामी खोज्दै छौँ र भिसा रद्द गर्ने प्रक्रिया अघि बढिसकेको छ," विभागका प्रवक्ता ढकालले भने।

यसअघि भिसा लिएकाहरूमा पाँच जना चिनियाँ, दुई जना कोरियाली तथा अमेरिकी, ब्रिटिश र स्वीडिश एक-एक जना रहेको अध्यागमन विभागले जनाएको छ।

कर्मचारीको भूमिका छानबिन गर्न समिति

यसैबीच शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजपत्र नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न एउटा समिति गठन गरेको छ ।

शिक्षामन्त्री पोखरेलको सचिवालयले जारी गरेको विज्ञप्तिका अनुसार मन्त्रीस्तरीय निर्णयानुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो। उपसचिव गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई उक्त समितिका सदस्य छन्।

घटनासँग सम्बन्धित कर्मचारीहरूको भूमिका तथा जिम्मेवारीबारे आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश समितिले पाएको छ।

अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजपत्र प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे समेत समितिले अध्ययन गर्ने बताइएको छ।

मन्त्रालयले अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको यस घटनालाई "गम्भीर" मान्दै अनुसन्धानको निष्कर्षका आधारमा थप प्रशासनिक तथा कानुनी निर्णय लिइने जनाएको छ।

नेपालबाट 'डिपोर्ट' हुनेमा चिनियाँ धेरै

विगत पाँच वर्षमा भिसा ओभरस्टे गर्ने सयौँ विदेशी नागरिक निष्काशित . चिनियाँ नागरिकको सङ्ख्या सर्वाधिक. विगत पाँच वर्षमा भिसा ओभरस्टे गर्ने सयौँ विदेशी नागरिक निष्काशित * ११ जुन २०२६ सम्मको तथ्याङ्क.

पछिलो पाँच वर्षदेखि नेपालबाट निकालामा पर्ने विदेशी नागरिकहरूमध्ये चिनियाँको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ।

सन् २०२१ देखि सन् २०२६ को मे सम्मको अध्यागमन विभागको तथ्याङ्कमा हरेक वर्ष नेपालबाट निष्कासनमा परेका विदेशीहरूमा चिनियाँ नागरिकको सङ्ख्या सबैभन्दा धेरै छ।

सन् २०२१ मा निष्कासनमा परेका २१८ जनामध्ये ३४ जना चिनियाँ छन्, २०२२ मा ५७० मध्ये १९१ जना, २०२३ मा ४५८ मध्ये २०९ जना, २०२४ मा ५०१ मध्ये १४१ जना र २०२५ मा ५२३मध्ये १२० जना चिनियाँ नागरिकहरू निष्कासित भएका छन्।

सन् २०२६ मा हालसम्म निष्कासनमा परेका २६७ विदेशी नागरिकमध्ये चिनियाँ नागरिकहरूको सङ्ख्या सबैभन्दा धेरै २६ छ। यो वर्ष बाङ्ग्लादेशीहरू पनि चिनियाँ बराबर २६ जना नै निष्कासनमा परेका छन्।

गत वर्ष नेपालबाट निष्काशित विदेशी नागरिक कुनकुन देशका?. . .

गत साता चिनियाँ नागरिकहरूले सञ्चालन गरेको स्क्यामिङ सेन्टरमा काम गर्न आएका १५ जना जना बाङ्ग्लादेशीहरू एकैपटक निष्कासनमा परेका थिए।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार विसं २०७९ साउनदेखि गएको जेठ १८ सम्म नेपालमा पक्राउ पर्ने विदेशी नागरिकहरूको सङ्ख्या १,१२३ छ।

तीमध्ये सबैभन्दा धेरै भारतीय नागरिकहरू छन्। भारतीय नागरिकहरूको सङ्ख्या ६९८ रहेको प्रहरी प्रधान कार्यालयले बीबीसीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ।

त्यसबाहेक ४२५ जना अन्य देशका नागरिक छन्।

नेपालमा भारतीयहरूपछि पक्राउ पर्ने चिनियाँ नागरिकहरूको सङ्ख्या उल्लेख्य छ।

चिनियाँ नागरिकहरू भिसा नियम उल्लङ्घनका घटनामा सबैभन्दा धेरै पक्राउ परेको प्रहरीले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।