बेइजिङमा एउटा गगनचुम्बी टावरमा प्लेन ठोक्किएको घटनामा चीनको मौनता

तस्बिर स्रोत, AFP via Getty Images
- Author, केली एन्जी
- Published
- पढ्ने समय: ४ मिनेट
बेइजिङको सबैभन्दा अग्लो गगनचुम्बी भवनमा एउटा सानो विमान ठोक्किएको चार दिन बित्दा पनि उक्त घटना किन र कसरी भयो भन्ने अझै अस्पष्ट छ।
उक्त विमानमा सवार एक जना मात्र पाइलटको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।
राज्यको स्वामित्वमा रहेको समाचारपत्र बेइजिङ डेलीले ६० शब्दको आधारभूत तथ्य समेटिएका एउटा विवरण प्रकाशित गरेको छ जुन चीनले यो दुर्घटनालाई लिएर दिएको एउटा मात्रै औपचारिक जानकारी हो।
उक्त घटना चिनियाँ कम्युनिस्ट पार्टीको मुख्यालय झुङ्ननखाइबाट केही किलोमिटर पर मात्रै भएको थियो।
गत शुक्रवारको उक्त घटनापछि सो १०९-तले सीआईटीआईसी टावरको छेउमा प्वालहरू परेको थियो जसलाई बोर्ड लगाएर छोपिएको छ।
उक्त घटनाका नाटकीय फुटेजहरू इन्टरनेटमा उपलब्ध भएका छन्। कम्तीमा तीनवटा उड्ययन फर्महरूले बीबीसीसँग उनीहरूलाई साना विमानको सञ्चालन स्थगित गर्न भनिएको बताएका छन्। उनीहरूले यसबारे नबोल्न निर्देशन रहेको भन्दै विस्तारमा खुलाउन चाहेनन्।
जानकारीको अभावमा विश्वकै सर्वाधिक कडा हवाई क्षेत्र नियन्त्रण सम्बन्धी अभ्यास रहेको शहरमा उक्त विमान कसरी प्रवेश गर्न सक्यो भनेर विभिन्न अनुमानहरू भइरहेका छन्।
कडा सेन्सरसीप
चीनमा सेन्सरसीपको अभ्यास छ। दलको, दलका नेता वा सरकारको आलोचना दुर्लभै हुने गर्छ र राजनीतिक प्रभाव पर्ने वा संवेदनशील विषयबारेका कुनै पनि आलोचनात्मक छलफलबारेका सामाग्री तुरुन्तै हटाइने गरिन्छ।
तर यसपटक पहिला भन्दा अवस्था झन कडा जस्तो देखिन्छ। शुक्रवारको घटनासँग सम्बन्ध नभएका गगनचुम्बी भवनका तस्बिर र मीमहरू समेत चिनियाँ सामाजिक सञ्जालका प्लेटफर्महरूबाट हटाइएका छन्।
मदिरा राख्ने परम्परागत चिनियाँ भाँडाको जस्तो आकारमा बनेको उक्त भवन पर्यटकीय आकर्षणको केन्द्र जस्तै रहेको छ। धेरैले यसलाई शुभ सङ्केतको रूपमा हेर्ने गर्छन्। परीक्षाको नतिजादेखि रोजगारीसम्म अनि राम्रो भाग्यको कामना गर्ने युवाहरूले त्यहाँ पुगेर छोटो प्रार्थनासहितका तस्बिर अनलाइनमा राख्ने गरेको पाइन्छ।
आई अन डिजिटल चाइना न्यूजलेटरकी मान्या कोत्से बेइजिङको नेतृत्व नै 'वास्तवमा के भएको हो भनेर प्रस्ट नभएकाले' सेन्सरसीप संयन्त्र यति द्रुत र विस्तृत ढङ्गले सक्रिय भएको ठान्छिन्।
उनले भनिन्, "यो ज्यादै नै अस्वाभाविक घटना हो।" उनले यसले सरकारको क्षमतामाथि प्रश्न उठाएको र 'पार्टीको महत्त्वपूर्ण भाष्यहरू' लाई जोखिममा पारेको बताइन्।

तस्बिर स्रोत, Getty Images
उक्त घटनापछि साना विमानहरूको सञ्चालनकमा अधिकारीहरूले रोक लगाएको बताउने एभिएशन फर्महरूले थप जानकारी दिन चाहेनन्।
"हामीलाई यसबारे नबोल्न भनिएको छ। कृपया अरूलाई नै सोध्नुहोला," बेइजिङस्थित एउटा उडान तालिम इन्स्टिट्यूटकी एक महिला कर्मचारीले भनिन्।
सुरक्षा प्रणालीमा 'भूकम्प'
चेङदुस्थित अर्को फर्मले कुन निकायबाट त्यस्तो आदेश आएको हो जानकारी दिन चाहेनन् र तत्कालै फोन राखिदिए।
बेइजिङले देशका प्रमुख नेताहरू बस्ने र काम गर्ने मूल राजनीतिक केन्द्र तीआनानमेन स्क्वायर र झुङ्ननखाइको लगभग १०० वर्ग किलोमिटर क्षेत्रफलमा स्थायी रूपमा नै उडान निषेधित क्षेत्र कायम गरेको छ।
चीन विश्लेषक बील विशपले यस घटनालाई "ठूलो सुरक्षा कमजोरी"का रूपमा अर्थ्याएका छन्। उनले एक्समा लेखेका छन्, "यदि उडान अझै केही सेकेन्ड जारी रहन्थ्यो भने उक्त (घटना) झुङ्ननखाइमा हुन्थ्यो। (त्यसले) बेइजिङको सुरक्षा प्रणालीमा भूकम्प ल्याउँथ्यो।"
बेइजिङले हालै सुरक्षा चिन्ताहरू उल्लेख गर्दै ड्रोन सम्बन्धी नियमहरूमा पनि कडाइ गरेको छ। राजधानीमा ड्रोन ल्याउनु र बाहिर लैजानु अघि दर्ता गर्नुपर्ने व्यवस्था लागु गरिएको छ।
शिकागो काउन्सिल अफ ग्लोबल अफेयर्सका अनुसन्धान सम्बन्धी उपाध्यक्ष रेमोन्ड कू भन्छन्, "ड्रोनभन्दा निक्कै ठूलो विमान शहरको अधिकांश भाग पार गर्दै उडेर झुङ्ननखाइ नजिक आइपुग्नु राजनीतिक रूपमा लाजमर्दो मात्रै होइन्, ठूलो सुरक्षा लापरबाही हो।"
उनले त्यो विमान चालकको त्रुटि वा इन्जिनको 'फेलिअर' हुनसक्ने भन्दै त्यसबाहेक 'नियतवश त्यस्तो गरिएको हुनसक्ने सम्भावना' पनि रहेको खुलाए।
उक्त दुई सिटे सिङ्गल इन्जिन अरोरा एसए६०एल विमान चिनियाँ कम्पनी सनवार्ड एअरक्राफ्टले बनाएको फ्लाइटरडार २४ ले जनाएको छ। ६.९ मिटर लामो र ८.६ मिटर विङ्सको फैलावट रहेको सो विमान पर्यटन, फोटोग्राफी र मनोरञ्जनात्मक उड्ययनमा प्रयोग गरिन्छ।
चीन बाहिर भने शुक्रवारको घटनाले कतिपयलाई सन् २००१ सेप्टेम्बर ११ मा आत्मघाती हमलाकारीहरूले अमेरिकी यात्रुवाहक जेट न्यूयोर्कका दुईवटा गगनचुम्बी भवनहरूमा ठोक्काएर हजारौँको ज्यान लिएको क्षण सम्झाइदिएको छ।
एक जना प्रयोगकर्ताले रेडिटमा लेखेका छन्, "यो ठ्याक्कै त्यस्तै न्यूज एलर्ट थियो जुन ९/११ मा एउटा विमानले पहिलो टावरमा ठक्कर दिएपछि आएको थियो।"
कार्निगी चाइनाका नन रेजिडेन्ट स्कलर चोङ जा इयान शीत युद्धको अन्त्यतिर सन् १९८७ को मेमा एक जना जर्मन पाइलटले मस्कोको रेड स्क्वायरमा सानो विमान अवतरण गराएको घटनासँग त्यसलाई तुलना गरे।
"उनको उडान र अवतरणले सोभियतहरूको हवाई प्रतिरक्षा प्रणालीमा रहेका गम्भीर समस्याहरूलाई देखायो। त्यसपछि हवाई प्रतिरक्षा र सुरक्षाका लागि जिम्मेवार कैयौँ उच्च अधिकारीहरू कारबाहीमा परे।"
उनले पछिल्लो घटनालाई लिएर पनि केही वरिष्ठ अधिकारीहरू बर्खास्त हुनसक्ने टिप्पणी गरे।
"एउटा सानो प्लेनले सीआईटीआईसी टावरमा ठक्कर दिनसक्छ भने एउटा ड्रोन वा मिसाइलले पनि त्यसो गर्नसक्छ। बेइजिङको सुरक्षाको जिम्मेवारीमा रहेकाहरूलाई यो केही हदसम्म लज्जास्पद हो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















