कर्फ्यूको विस्तारसँगै चिन्ता बढ्दै, सांसददेखि पूर्वराजाबाट एकताको आह्वान

तस्बिर स्रोत, Jugesh Babu
- Author, शरद केसी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
सुनसरीमा जिल्लाबाट सुरु भएको साम्प्रदायिक तनाव मधेश प्रदेशका केही जिल्लामा पनि देखिएपछि त्यसले चिन्ता बढाएको छ।
सुनसरीको देवानगन्जको घटनामा एक जनाको ज्यान गएपछि केही दिनयता त्यहाँ तनाव जारी थियो।
सुनसरी जिल्ला प्रहरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार उपचारको क्रममा अर्का एक जना घाइतेको बिहीवार मृत्यु भएको छ।
सुनसरीको जस्तै साम्प्रदायिक तनाव बिहीवार मधेश प्रदेशका सिराहा र धनुषा जिल्लामा पनि देखा परेको छ।
ती जिल्लाका विभिन्न स्थानीय तह र बजारमा कर्फ्यू आदेश जारी गरिएको छ।
सिराहको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिएका छन्।
यससँगै साम्प्रादायिक तनावका क्रममा गोली लागेर मृत्यु हुनेको सङ्ख्या तीन पुगिसकेको छ।
सिराहा र धनुषामा कर्फ्यू

तस्बिर स्रोत, Jugesh Babu
बुधवार सप्तरीमा प्रदर्शन भएको थियो। बिहीवार बिहानैदेखि धुनुषाको जनकपुरधाममा प्रदर्शन चर्किएपछि अवस्था तनावग्रस्त बनेको वीरगन्जस्थित हाम्री संवाददाता माधुरी महतोले जनाएकी छन्।
प्रदर्शनकारीहरूले विभिन्न स्थानमा टायर बाल्नुका साथै मुख्य सडकहरू अवरुद्ध गरेपछि बजार, व्यवसाय तथा सवारी आवागमन प्रभावित भएको छ।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएपछि सम्भावित अप्रिय घटना रोक्न जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको जनाएको छ।
सिराहाका प्रमुख जिल्ला अधिकारीले पनि कर्फ्यूको सूचना जारी गरेका छन्।
कर्फ्यू लगाइएका क्षेत्रमा कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न निषेध गरिएको छ।
स्थानीय प्रशासनले सर्वसाधारणलाई "अत्यावश्यक सेवाबाहेक घरबाहिर ननिस्कन, अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायलाई सहयोग गर्न" आग्रह गरेको छ।

बारा र पर्सालगायतका अन्य जिल्लामा पनि संवेदनशीलतालाई ख्याल गरेर सुरक्षा सतर्कता बढाइएको अधिकारीहरूले जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम साउन १४ गते बिहीवार साँझ ५:०० बजेदेखि शुक्रवार साउन १५ गते बिहान ६:०० बजेसम्म निषेधाज्ञा लागु गरिएको छ।
राष्ट्रपतिदेखि पूर्वराजासम्मको अपिल, के भने?

तनाव विस्तार हुँदै गएपछि राजनीतिक पार्टी अनि सामाजिक क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थाबाट संयमका लागि आग्रह भइरहेको छ।
घटनालाई लिएर वर्तमान र पूर्वराष्ट्रप्रमुखहरूले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले देशका केही भागमा विषम परिस्थिति देखिएकोभन्दै त्यसले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएका छन्।
परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास लिएको उल्लेख गर्दै पौडेलले अपिलमा भनेका छन्, "स्थितिलाई थप जटिल बन्न नदिई समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपिल गर्छु।"
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि "राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्वको संरक्षण तथा प्रवर्द्धन" को खाँचो औँल्याएकी छन्।
त्यसको निम्ति उनले सबैलाई "आ–आफ्नो स्थानबाट जिम्मेवार, संयमित र रचनात्मक भूमिका निर्वाह गर्न" अपिल गरेकी छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि जनजीवन अशान्त बनेको सुन्दा आफूलाई चिन्ता लागेको जनाएका छन्।
"समाजका सबै समुदायमा सामन्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना, दुर्घटना घट्नु चिन्ताको विषय हो," उनको सन्देशमा भनिएको छ, "त्यसैले जुनसुकै भूभागमा रहेबसेका जो कोही पनि हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो"

तस्बिर स्रोत, RSS
संसद्मा विपक्षी दलहरूले घटनाप्रति चिन्तासँगै सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।
उनीहरूले प्रधानमन्त्री र गृहमन्त्री मौन रहेको भन्दै संसद्मा जवाफ दिनुपर्ने माग पनि गरेका छन्।
कांग्रेस प्रमुख सचेतक वासना थापाले भनिन्, "नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो? सरकारले यसको जवाफ सदनमा दिनुपर्छ र घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ।"
नेकपाका गोपाल शर्माले उक्त घटनालाई लिएर सरकार र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाए।
"प्रधानमन्त्रीले संसद्मा आएर देशलाई जानकारी दिनुपर्थ्यो," उनले भने, "तर विडम्बना, हाम्रो प्रधानमन्त्री कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, न संसदलाई जानकारी छ, न कसैलाई जानकारी छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















