वित्तीय अपराध रोक्न अब ब्याङ्कहरूले चौबिसै घण्टा समर्पित व्यवस्था गर्नु पर्ने

नेपाल राष्ट्र ब्याङ्क

तस्बिर स्रोत, NRB

    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

वित्तीय अपराधसँग सम्बन्धित हुन पुग्ने ब्याङ्क खाता रोक्का राख्न सातै दिन चौबिसै घण्टा कार्य गर्ने व्यवस्था मिलाउन नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई बुधवार परिपत्र गरेको छ।

कुनै अनधिकृत लिङ्क थिच्दा अचानक आफ्नो मोबाइल ब्याङ्किङ् खाता ह्याक हुने र पैसा रित्तिने गुनासो बढिरहेको नेपाल प्रहरीको साइबर ब्यूरोले बताउँदै आएको छ।

त्यस्ता पीडितको खाताबाट उछिट्याइएको रकम एकपछि अर्को गर्दै थुप्रै खातामा सार्दै लगिने गरेको पनि देखिन्छ।

पीडितले आफ्नो खाता तत्काल रोक्का गर्न कहाँ कसलाई भन्ने जस्ता विषयमा रहेका अन्योल हटाउँदै द्रुत सम्बोधनका निम्ति पछिल्लो परिपत्र कारगर हुने राष्ट्र ब्याङ्कका प्रवक्ताले बताएका छन्।

के छ परिपत्रमा?

बुधवार जारी गरिएको परिपत्रमा राष्ट्र ब्याङ्कले वित्तीय अपराध रोक्न ताजा निर्देशन दिएको हो।

"इजाजतप्राप्त संस्थाले वित्तीय अपराध न्यूनीकरणका लागि आवश्यक समन्वय गर्न कुनै कसुरको अनुसन्धान गर्ने वा कानुन कार्यान्वयन गर्ने अधिकारीको मौखिक/लिखित अनुरोधमा वित्तीय अपराधसँग सम्बन्धित ब्याङ्क खाता अल्पकालीन अवधिका लागि रोक्का राख्न २४/७ कार्य गर्ने गरी आवश्यक व्यवस्था मिलाउनु पर्ने छ," निर्देशनमा भनिएको छ।

साथै त्यस्ता कार्यका लागि खास सम्पर्क नम्बर आफ्नो वेबसाइटमा राख्नुपर्ने पनि भनिएको छ।

"कुनै कसुरको अनुसन्धान गर्ने वा कानुन कार्यान्वयन गर्ने अधिकारीले इजाजतपत्रप्राप्त संस्थासँग विवरण माग गरेमा सोझै यथाशीघ्र उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्ने छ।"

केन्द्रीय ब्याङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार यी निर्देशन विषयहरूको "द्रुत सम्बोधन"का निम्ति गरिएका हुन्।

"प्रहरी वा अख्तियार वा त्यस्तै अनुसन्धान गर्ने तथा कानुन कार्यान्वयन गर्ने निकायहरूले कुनै खाता रोक्का गर्न वा विवरण माग्न सक्छन्। त्यसका निम्ति चौबिसै घण्टा तयारी अवस्था मिलाउन भनिएको हो," उनले बताएका छन्।

अनलाइन स्क्यामका घटना बढिरहेका छन्

तस्बिर स्रोत, Getty Images

विद्यमान व्यवस्थामा सम्बन्धित खातावालाले आफ्नो खातामा शङ्कास्पद गतिविधि भएको वा ह्याक भएको जस्तो लागेमा मौखिक नै जानकारी दिए पनि ४८ घण्टासम्म खाता रोक्का गर्न मिल्थ्यो। मौखिक जानकारी दिँदा खातासँग जोडिएको मोबाइल नम्बरबाट फोन गरिएको हुनु पर्छ।

नयाँ निर्देशनले चाहिँ अनुसन्धान अधिकारीहरूलाई तत्काल विवरण दिलाउन तथा रोक्का गराउन सहज हुने उनले बताए।

'सन्तोषजनक तर अझै अपुग'

राष्ट्र ब्याङ्कको पछिल्लो निर्देशन आफूहरूका निम्ति निकै सहयोगी हुन सक्ने साइबर ब्यूरोका प्रवक्ताले बताएका छन्।

"त्यसरी ब्याङ्क तथा वित्तीय संस्थाहरूको फोकल पर्सनको चौबिसै घण्टा उठ्ने सम्पर्क नम्बर ब्यूरोसँग भएमा धेरै नै उपयोगी हुन्छ," ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले बताए।

यी व्यवस्था प्रगतिशील भए पनि पर्याप्त अझै नभएको राष्ट्र ब्याङ्कका प्रवक्ताले बताएका छन्।

"साबिकको व्यवस्था भन्दा पक्कै पनि यो राम्रो छ। तर जुन रफ्तारमा डिजिटल कारोबारको विस्तार र विकास भइरहेको छ त्यसमा देखिएका सबै खाले जटिलता सम्बोधन गर्न अझै अपुग छ। त्यसका लागि हामी डिजिटली नै सम्बोधन हुने गरी काम गरिरहेका छौँ," उनले भने।

कसैले कुनै खाताबाट अनधिकृत पहुँच पुर्‍याएर झिकेको रकम निमेषभरमा अर्को ५० वटा खातामा पुर्‍याउन सक्ने हुनाले यति व्यवस्थाले मात्र नपुग्ने उनले सुनाए।

"उदाहरणका लागि कसैको खाताबाट ५ लाख रुपैयाँ झिकेर ५० वटा खाता तथा वालेटमा बाँडेर लगियो भने कतिवटा खातालाई रोक्का गर्ने भन्ने जस्ता जटिल अवस्था आउन सक्छन्। त्यसैले अझै अपुग हुन्छ भनेको हो।"

'अहिले पनि छ २४/७ खटन'

राष्ट्र ब्याङ्कको पछिल्लो निर्देशनका कारण ब्याङ्क तथा वित्तीय संस्थाहरूले थप मानव स्रोतको व्यवस्थापन गर्नु पर्ने सम्भावना देखिन्छ।

तर अहिले नै पनि ब्याङ्कहरूले चौबिसै घण्टा सूचना प्रविधिका तथा कार्डसम्बन्धी कर्मचारी खटाउने गरेको पूर्व ब्याङ्कर रत्नराज बज्राचार्यले बताए।

"अहिले पनि ब्याङ्कहरूले त्यसरी कर्मचारी राखेकै छन्। कसैको कारोबारमा कुनै समस्या आइपरे रातबिरात पनि सुनुवाइ हुने गरेकै छ," उनले भने।

हाल नेपालीहरू विश्वभरि छरिएका अनि यहाँबाट कार्ड बोकेर जाने गरेको हुँदा उनीहरूको कारोबारमा समस्या आइपरे जतिखेर पनि सम्पर्क हुन सक्ने स्थिति रहेको उनले बताए।

"अब डिजिटल कारोबारको थप निगरानीका निम्ति राष्ट्र ब्याङ्कले भनेको होला। यसमा आम जनमानसमा पनि चेतना बढाउनु पर्ने म देख्छु," बज्राचार्यले भने।

विभिन्न किसिमका अनलाइन ठगी, स्क्याम तथा ह्याक गरेर बर्सेनि करोडौँ रुपैयाँ ठगी हुने गरेको जानकारहरू बताउँछन्। यो वर्षमात्रै लगभग ६,४०० त्यस्ता उजुरी परेको साइबर ब्यूरोका प्रवक्ता गिरीले बताएका छन्।

त्यसरी ठगिएको रकम फिर्ता पाउने प्रक्रिया जटिल छ। एउटा खाताबाट खिँचेर रकमलाई बाँडेर विभिन्न खातामा पठाइने सम्म गरिन्छ जसले गर्दा तत्काल सम्बोधन हुन गाह्रो हुने जानकारहरूले बताएका छन्।

आम मानिसलाई सुरक्षित डिजिटल कारोबारबारे निरन्तर सुसूचित गराइराख्न उनीहरूले सुझाव दिएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।