भारतमा तमिल अभिनेता विजयको राजनीतिक कार्यक्रममा कसरी भागदौड मच्चियो?

कार्यक्रममा दशौँ हजार व्यक्ति सहभागी भएका थिए
पढ्ने समय: ३ मिनेट

दक्षिणी भारतको तमिलनाडु राज्यमा एउटा राजनीतिक र्‍यालीमा भागदौड मच्चिँदा ज्यान गुमाउने मानिसहरूको सङ्ख्या ३९ पुगेको अधिकारीहरूले बताएका छन्।

तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थिलकुमारले बताएअनुसार घटनामा घाइते भएका ९५ जनाको अस्पतालमा उपचार भइरहेको छ।

तमिलनाडुका मुख्यमन्त्री एम. के. स्टालिनले मृतकका परिवारलाई १०/१० लाख भारतीय रुपैयाँ उपलब्ध गराइने घोषणा गरेका छन्।

अभिनेताबाट राजनीतिज्ञ बनेका विजयका लागि तमिलनाडुको करुर जिल्लामा आयोजित अभियानमा शनिवार दशौँ हजार मानिस सहभागी भएका थिए।

घटना कसरी भयो?

समाचार संस्था पीटीआईका अनुसार शनिवार साँझ विजयले सभालाई सम्बोधन गरिरहँदा भिड बढ्न थाल्यो र नियन्त्रणबाहिर पुग्न गयो। कतिपय मानिसहरू बेहोश भएर ढल्न थाले र हल्ला मच्चियो।

त्यसपछि विजयले भाषण रोके र प्रचारप्रसारका लागि ल्याइएका बसबाट मानिसहरूका लागि पानीको बोतल बाँड्न थालियो।

विवरणहरूमा जनाइएअनुसार घटनास्थलसम्म पुग्न एम्बुलेन्सहरूले सङ्घर्ष गर्नुपरेको थियो।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार कार्यक्रम शुरू हुन निकै ढिलो भएको थियो।

खचाखच भिडमा कतिपय मानिसहरू बेहोश भइरहेका दृश्य टेलिभिजन प्रसारणमा देखिएको थियो।

कार्यक्रममा आफ्नो परिवारका सदस्य सहभागी भएको बताउँदै अस्पतालबाहिर एक व्यक्तिले शनिवार साँझ भनेः "मेरा भाइका दुई सन्तान त्यहाँ गएका थिए। जेठो बितेर गयो, कान्छो हराइरहेको छ। बुहारी सघन उपचार कक्षमा छिन्। म के गरूँ?"

घटनाबारे छानबिनका लागि सेवानिवृत्त न्यायाधीश अरुणा जगदीशनको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरिएको छ।

राजनीतिक र्‍याली

तस्बिर स्रोत, Reuters

कसले के भने?

विजयले सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। घटनाबाट आफू गहिरो पीडामा पुगेको उनले बताएका छन्।

घटनापछि उनले लेखेका छन्, "म असह्य पीडा र दुःखमा छु जसलाई शब्दमा वर्णन गर्न सक्दिनँ।"

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले घटनाप्रति दुःख प्रकट गर्दै भनेकी छन्, "म पीडित परिवारप्रति गहिरो संवेदनमा व्यक्त गर्छु र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु।"

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुःख व्यक्त गर्दै लेखेका छन्, "मेरो संवेदना ती परिवारमा छ जसले आफ्नो परिवारका सदस्य गुमाएका छन्। यो कठिन समयमा उनीहरूलाई शक्ति मिलोस् र सबै घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभ होओस्।"

कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगेले पीडित परिवारहरूलाई सक्दो सहयोग गर्न आफ्नो पार्टीका कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

केही मान्छे बेहोश हुन थालेपछि भागदौड शुरू भयो

भारतमा घातक भागदौडका घटना बेलाबखत भइरहन्छ। यसै वर्ष सो प्रकृतिका घटना चर्चित कुम्भ मेला र एउटा क्रिकेट रङ्गशालाबाहिर पनि भएका थिए।

कुम्भ मेलामा ३७ जनाको ज्यान गएको सरकारले बताएको थियो। तर कम्तीमा ८२ जनाको मृत्यु भएको बीबीसीको अनुसन्धानबाट पुष्टि भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।