रवि लामिछानेको भारत भ्रमण विगतका भन्दा के 'फरक'

तस्बिर स्रोत, @vijai63
- Author, शरद केसी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणमा जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूलाई प्रतिक्रिया दिएनन्। "फर्किएर बोल्ने" आश्वासन दिँदै उनी भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा दिल्ली पुगेका छन्।
उनले भाजपा अध्यक्ष नितिन नवीनका साथै सरकारमा उच्च अधिकारीहरूसँग पनि भेट्ने बताइएको छ।
भारतीय सञ्चार माध्यमहरूले स्रोतहरूलाई उद्धृत गर्दै लामिछाने र भारतीय विदेशमन्त्री एस जयशङ्करबीचको भेटवार्ता भाजपा कार्यालयमै निर्धारण भएको जनाएका छन्।
लामिछानेको भारतीय प्रधानमन्त्रीसँग बुधवार भेटघाट निश्चित भइसके पनि समय भने अझै अनिश्चित रहेको समाचारहरूमा जनाइएको छ।
भारतीय सञ्चार माध्यम आजतकका अनुसार मोदीको अनुकूल समयमा भेट हुने भएकाले नै त्यस दिन नेपाली प्रतिनिधि मण्डलको कुनै तालिका निर्धारण गरिएको छैन।
विमानस्थलबाट देखिएको 'सङ्केत'

तस्बिर स्रोत, @vijai63
पछिल्लो पटक तीन वर्षअघि तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भाजपाको निम्तोमा दिल्ली गएका थिए।
सत्ता साझेदार दलको अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेले स्वागत गरेका थिए।
लामिछानेको दल रास्वपा प्रतिनिधिसभामा दुई तिहाइ बहुमत नजिक छ।
उनी नेतृत्वको भ्रमण दललाई स्वागत गर्न चौथाईवालेलाई लिएर भाजपाका पहिलो वरियताका राष्ट्रिय महासचिव अरुण सिंह दिल्लीस्थित विमानस्थल पुगेका थिए।
के भ्रमणलाई विगतभन्दा महत्त्व दिएको सङ्केत हो? भारतस्थित नेपालका पूर्वराजदूत शङ्कर शर्माका अनुसार लामिछानेको दलको बलियो अवस्था र झन्डै दुई तिहाइ बहुमतको सरकार र पहिलो पटक अन्तर्क्रिया हुन लागेकाले पनि फरक सङ्केत दिइएको हुन सक्छ।
"त्यस्तै अहिले भाजपाको नयाँ अध्यक्ष नितिन नवीन हुनुहुन्छ, नीतिमा केही परिवर्तन भएको पनि हुन सक्छ," शर्माको विश्लेषण छ।
पहिलेका भ्रमणभन्दा 'बढी महत्त्व'

तस्बिर स्रोत, @DrSJaishankar
आम चुनावबाट रास्वपा पहिलो पार्टी बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सभापति लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) दुवैलाई टेलिफोन गरेर बधाई दिएका थिए।
प्रधानमन्त्री नियुक्त भएपछि बालेनले एक वर्षसम्म विदेश भ्रमण नगर्ने विवरणहरू आएका छन्।
जबकि उनको भारत भ्रमणको तयारीको निम्ति भारतीय विदेश सचिव विक्रम मिस्रीको वैशाख अन्त्यमा हुने भनिएको नेपाल भ्रमण स्थगित भएको बताइएको छ।

तस्बिर स्रोत, @JPNadda
प्रधानमन्त्री बालेनले मिस्रीलाई भेट्न नमानेकै कारण भ्रमण रोकिएको एक थरीको आकलन पाइन्छ। यो पृष्ठभूमिले गर्दा पहिलेका भ्रमणभन्दा लामिछानेको भ्रमणको महत्त्व बढी र फरक रहेको ठान्छन्, भारतस्थित नेपालका भूतपूर्व राजदूत नीलाम्बर आचार्य।
"यसबीचमा भ्रमणका जुन प्रयास भएका थिए- पूरा भएनन्, माथिल्लो स्तरमा कुरा नगरेर सम्बन्धहरू अगाडि बढाउन सकिँदैन," उनले दुई देशबीचको सम्बन्धमा थप न्यानोपन ल्याउने आशा गर्दै भने, "यो भ्रमणको राजनीतिक महत्त्व छ, यसले नेपाल-भारतको मित्रता र सहयोगको सन्दर्भमा योगदान पुर्याउन सक्छ।"
पुराना दलहरू निकै कमजोर अवस्थामा किनारामा पुगेका बेला रास्वपासँग भाजपाले सम्बन्ध बिस्तार गर्न खोजेको हुन सक्ने पनि कतिपयको आकलन पाइन्छ।
"राजनीतिक सम्बन्ध अरू दलहरूसँग पनि राख्नुपर्छ, तर जनताले जसलाई पत्याए पहिलो सम्बन्ध उसैसँग राख्नु त लोकतान्त्रिक परिणामको सम्मान गर्नु हो," आचार्य भन्छन्, "विगतमा कांग्रेस, नेकपा, र माओवादी पहिलो पार्टी थिए, अहिले रास्वपा आएपछि छिमेकीले पनि स्वीकार गर्नु स्वाभाविक हो।"
'नाडी छाम्ने' प्रयास र जोखिम

तस्बिर स्रोत, PMO Nepal
कतिपयले प्रधानमन्त्री बालेनको व्यवहार, शैली र प्रस्तुतिलाई लिएर सत्ताधारी दलभित्र पनि असन्तुष्टि उत्पन्न हुन थालेको बेला लामिछानेको भ्रमणको फरक अर्थ हुन सक्ने आकलन गरेको पनि पाइन्छ।
सभापति लामिछानेले यो सरकार पाँच वर्ष चल्ने बताउँदै आएका छन्। तर आपसी अविश्वास, आशङ्का र अन्योल बढ्दै जाँदा त्यसको भविष्य लामो नहुन सक्ने सम्भावना बेवास्ता नगर्न नसकिने एक थरीको विश्लेषण पाइन्छ।
पछिल्ला दशकमा चलेको परम्परागत राजनीतिभन्दा बालेनले फरक प्रस्तुति देखाएको उनीहरू ठान्छन्।
त्यसैले लामिछानेको भ्रमणमार्फत् भारतले "तत्काल भ्रमणमा जान नमानेका" भनिएका प्रधानमन्त्री बालेन र लामिछानेसँग उनको चिसो-न्यायो सम्बन्धको नाडी छाम्न प्रयास गर्ने विश्लेषण पनि गरिन्छ।
पूर्वराजदूत शङ्कर शर्माका अनुसार प्रधानमन्त्री मोदी वा विदेश सचिव जयशङ्करसँग भेटवार्ता भएमा त्यसमा अन्य अधिकारीको पनि उपस्थिति हुन्छ। त्यस्ता वार्तामा औपचारिक बाहेकका कुराकानी नहुने उनको ठम्याइ छ।
"अन्य प्राइभेट वार्ताहरूमा त्यस्ता कतिपय विषय हुन सक्छन्," उनी भन्छन्, "जस्तो भाजपा महासचिवले पनि भेट रिपोर्टिङ सरकारलाई गर्नै पर्छ।"
छिमेकी त्यसमा पनि खास गरी भारतले असहज महसुस गर्ने गरी सम्बन्धमा चिसोपन आउँदा सरकारलाई अप्ठेरो पर्न सक्ने परम्परागत विश्लेषण हुने गरेको छ। कतिपयले बलियो सरकार हुँदा त्यसलाई कमजोर पार्ने प्रयास हुने आकलन पनि गर्ने गर्छन्।
लामिछानेको भारत भ्रमणसँगै त्यो चरण सुरु हुने त होइन? पूर्वराजदूत आचार्य भने त्यस्तो षड्यन्त्रको शङ्का गर्दैनन्।
"षड्यन्त्रको निम्ति भ्रमण हुनै पर्छ भन्ने छैन, षड्यन्त्र गर्नेले त नदेखिएरै गर्न सक्छ," उनी भन्छन्, "अर्को कुरा भ्रमण कूटनीतिक मर्यादा अनुरूप नै भइरहेको छ, नेपाल सरकारले पनि समन्वय गरिरहेकै छ।"
कतिपय विश्लेषकहरूका भनाइमा प्रधानमन्त्री बालेनप्रति भारतको आशङ्का रहेछ भने पनि लामिछानेले त्यो निवारण गरिदिएमा आश्वस्त हुने वातावरण बन्न सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















