१० जिल्लामा फैलिएको बर्ड फ्लूबारे थाहा पाउनुपर्ने कुरा

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

पशु सेवा विभागले काठमाण्डू उपत्यकाका तीन वटासहित १० जिल्लामा बर्ड फ्लू सङ्क्रमण फैलिएका कारण करिब पाँच लाख घरपालुवा पक्षी नष्ट गरिएको जनाएको छ।

सात वटामध्ये चार प्रदेशमा बर्ड फ्लू देखा परेपछि अधिकारीहरूले खास गरी कुखुरा पालन र पक्षीजन्य उत्पादनको ओसारप्रसारमा विशेष सावधानी अपनाउन भनेका छन्।

बर्ड फ्लू भित्र्याउने सबै प्रकारका इन्फ्लूएन्जा भाइरसहरू रोगजनक हुँदैनन्। तीन प्रजातिका इन्फ्लूएन्जामध्ये नेपालमा दुई प्रकारलाई मात्रै बर्ड फ्लूको परिभाषाअन्तर्गत राखिएको छ।

नेपालमा अहिले 'उच्च प्याथोजेनिक' अर्थात् रोग फैलाउन सक्ने क्षमता उच्च भएको H5N1 भाइरसका कारण बर्ड फ्लू फैलिएको हो।

पशुसेवा विभागका वरिष्ठ पशुचिकित्सक डा नवराज श्रेष्ठका अनुसार H5N1 र H7N1 लाई मात्रै नेपालमा बर्ड फ्लूको परिभाषाअन्तर्गत राखिएको छ। तर रोग लगाउने क्षमता क्षीण भएको H9N1 भाइरसविरुद्ध नेपालमा खोप उपलब्ध भएकाले त्यसलाई बर्ड फ्लू नभनिएको उनले बताए।

रोग लगाउने क्षमता उच्च भएकाले सबैभन्दा धेरै सावधानी अपनाउनुपर्ने जानकारहरू बताउँछन्।

"H9N1 मा पक्षीहरू पनि मर्दैनन्, मान्छेहरूलाई पनि सर्ने सम्भावना कम हुन्छ," राष्ट्रिय कृषि अनुसन्धान परिषद्‌का वैज्ञानिक शिशिर भण्डारी भन्छन्।

कम रोगजनक उक्त प्रजातिका लागि नेपालमा खोप पनि उपलब्ध छ। तर उच्च रोगजनकका लागि भारतमा खोप उपलब्ध भए पनि नेपालमा खोपको अनुमति दिइएको छैन।

खोप सुरु नगरीकनै नियन्त्रण गर्न प्राथमिकता दिइएको अधिकारीहरूले बताएका छन्।

मानिसमा सर्ने जोखिम कति?

तीन दशकअघि पहिलो पटक मानिसमा देखिएको H5N1 सङ्क्रमण कुखुराको मासु राम्रोसँग पकाएर खाँदा सर्ने जोखिम कम हुने वरिष्ठ पशुचिकित्सक डा श्रेष्ठ बताउँछन्।

नेपालमा सन् २०१९ मा एक युवकको बर्ड फ्लूका कारण मृत्यु भएको पुष्टि भएको थियो। ती युवकले कुखुरा ओसार्ने गाडी चलाउने गरेको अधिकारीहरूले बताएका थिए।

"मान्छेलाई सङ्क्रमण भए मृत्यु हुने सम्भावना ४८ देखि ५० प्रतिशत हुने अध्ययनहरूले देखाएका छन्," श्रेष्ठ भन्छन्।

"सबैभन्दा जोखिममा फार्ममा काम गर्ने व्यक्ति हुन्छन्। उहाँहरूले कम्तीमा मास्क, पन्जा र बूट अनिवार्य लगाउने र बाहिर निस्किएपछि अनिवार्य हातखुट्टा धुनुभएको छ भने पनि जोखिम निकै कम हुन्छ।"

कहाँकहाँ फैलिएको छ

पशुसेवा विभागका अनुसार हालसम्म सबैभन्दा धेरै सुनसरीमा बर्ड फ्लू देखिएको छ। कोशी प्रदेशका अन्य दुई जिल्ला मोरङ र झापामा पनि बर्ड फ्लू देखिएको छ।

त्यसबाहेक काठमाण्डू, भक्तपुर र ललितपुरसहित बागमती प्रदेशको चितवनमा पनि बर्ड फ्लू पुष्टि भएको छ।

मधेशका बारा र महोत्तरी अनि लुम्बिनीको नवलपरासी पश्चिममा बर्ड फ्लू देखिएको छ।

विभागका अनुसार १० जिल्लाका ७२ वटा भन्दा धेरै कृषि फार्ममा हालसम्म करिब पाँच लाख पक्षी नष्ट गरिएको छ।

काठमाण्डू उपत्यकामा अधिकांश सङ्क्रमण ब्रोइलर कुखुराभन्दा स्थानीय जातका र लेअर्स कुखुरामा देखिएको विभागले जनाएको छ। यसको कारण अण्डाका क्रेटहरूको पुनर्प्रयोग र अव्यवस्थित पक्षीपालन रहेको विभागका चिकित्सक श्रेष्ठ बताउँछन्।

बर्ड फ्लू फैलिनुसँग भारतीय चुनावको सम्बन्ध?

नेपालमा सन् २००९ मा पहिलो पटक काकडभिट्टामा बर्ड फ्लू देखिनुअघि भारतमा यसको सङ्क्रमण देखिएको थियो। यो पटक पनि पटनामा बर्ड फ्लू देखिएको केही समयपछि मोरङमा बर्ड फ्लू देखा पर्‍यो।

नेपालका अधिकारीहरू फागुन २१ को निर्वाचनअघि भारतबाट कुखुरा र अन्डाको आयात बढ्दा बर्ड फ्लू भित्रिएको आशङ्का भए पनि त्यसलाई आधिकारिक रूपमा पुष्टि गर्ने प्रमाण नभएको बताउँछन्।

भारतबाट औपचारिक बाटोबाट ल्याइएका कुखुरा र अन्डाबाट नेपालमा बर्ड फ्लू भित्रिने सम्भावना कम हुने पशुपक्षीको क्षेत्रमा अध्ययन गरिरहेका वैज्ञानिक भण्डारी बताउँछन्।

"बसाइँसराइ गर्ने चराचुरुङगी र घरपालुवा पक्षी दुवैबाट बर्ड फ्लू आउँछ," भण्डारी भन्छन्।

"हाम्रो देशमा बर्ड फ्लू नभएको अवस्थामा बाहिरबाट आउने पक्षी र पक्षीजन्य उत्पादन आउँदा पनि बर्ड फ्लू भित्रिन सक्छ। औपचारिक बाटोबाट आउँदा क्वारन्टीनका कारण त्यो आउने सम्भावना कम हुन्छ। तर हाम्रो त भारतसँग खुला सीमा रहेकाले अनौपचारिक बाटोबाट पनि पक्षीहरू आउँछन्।"

यो याममा किन देखियो

अहिलेको मौसम जुनसुकै किसिमका पनि सङ्क्रमणहरू सहजै फैलिनका लागि अनुकूल हुने गरेकै अनुसन्धाता भण्डारी बताउँछन्।

"यतिबेला कुनै पनि भाइरस र ब्याक्टेरिया फैलिनका लागि तापक्रम र आर्द्रता उपयुक्त हुन्छ र जैविक सुरक्षा पनि कमजोर हुन्छ," उनी भन्छन्।

अध्ययनहरूले बर्ड फ्लूको भाइरसका लागि चारदेखि १० डिग्री सेल्सिअससम्मको तापक्रममा बढी अनुकूल हुने देखाए पनि अहिले प्रचण्ड गर्मी हुँदा पनि भाइरस रहिरहनुले अधिकारीहरूलाई आश्चर्य बनाएको छ।

"असार लाग्न लाग्दासम्म पनि बर्ड फ्लू देका परिरहनुले यो विषाणुले गर्मी सहन सक्ने क्षमता विकास गरेको पनि हुन सक्छ। यसका लागि अध्ययन भएको चाहिँ छैन तर हामीले त्यो महसुस गरेका छौँ," उनले भने।

के बर्ड फ्लू प्रकोप नै बनेर फैलिएको हो

नेपालमा लगातार दुई वर्ष फागुन र चैत आसपासबाट बर्ड फ्लू देखा परिरहेको छ। दुवै वर्ष कोशी प्रदेशका भारतीय सीमावर्ती जिल्लाहरूमा बर्ड फ्लू देखा परेको पशुसेवा विभागको तथ्याङ्कमा देखिन्छ।

२०८१ साल फागुन ५ गते सुनसरीमा र २०८२ चैत ४ गते मोरङका दुई स्थानमा बर्ड फ्लू देखिएको थियो।

यो वर्ष चैतबाट सुरु भएको बर्ड फ्लू जेठ अन्तिम सातासम्म पनि नियन्त्रणमा आएको छैन। यद्यपि अहिले भाइरस प्रकोपको स्तरमा नदेखिएको अनुसन्धानकर्मी भण्डारी बताउँछन्।

पशुसेवा विभागले पनि प्रकोपकै रूपमा नभए पनि चिन्ताजनक स्तरमा फैलिएको बताएको छ।

"पछिल्लो समय काडमाण्डू उपत्यकाका तीन जिल्लामा धेरै देखिएको छ," विभागका चिकित्सक श्रेष्ठ भन्छन्।

केके कुरामा सावधानी अपनाउने

नेपालमा बर्ड फ्लू फैलिनुमा एउटा क्वारन्टीनको नियम उल्लङ्घन र अर्को कुखुरा र हाँसजस्ता पक्षीहरू पालन गरिएका स्थानमा कमजोर जैविक सुरक्षा र सरसफाइ रहेको जानकारहरू बताउँछन्।

नेपालमा यो पटक केही ठूला फार्मबाहेक प्रायजसो साना फार्महरूमा बढी देखिएको छ।

"एउटै गाडीबाट कुखुरा पनि चल्ला पनि अण्डा पनि अनि दाना पनि ओसार्ने। त्यही गाडी यो फार्ममा पनि अर्को फार्ममा पनि पुगेको छ। अण्डा बेचेर खाली भएको क्रेटमा फेरि ल्याएर अण्डा हाल्ने जस्ता हेलचेक्र्याइँले बढी फैलिएको छ," भण्डारी भन्छन्।

बर्ड फ्लू देखिएका कैयौँ कुखुरा पालन केन्द्रहरूको अनुगमन गरिसकेका पशुचिकित्सक डा श्रेष्ठ भन्छन्, "कुखुरापालनका लागि योग्य नै नदेखिएका फार्महरूमा पालन गरिरहनुभएको छ। त्यसमा जैविक सुरक्षा अर्थात् घेराबारा, प्रवेश गर्नुअघि नि:सङ्क्रमण गर्ने व्यवस्थापन पनि देखेनौँ।"

उनका अनुसार पक्षीपालन गर्न थप सावधानी अपनाउनुपर्छ र बस्तीबाट निश्चित दूरीमा मात्रै संरचना बनाइनुपर्छ।

"अहिले कागबाट यो धेरै फैलिएको देखिन्छ। सङ्क्रमण भएका सबै फार्ममा काग देखिएका छन् र कागहरू मरिरहेका कारण पनि यसको स्रोत काग हुन सक्छ," उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।